नारायण नाथ योगीका पाँच लघुकथा
१. लघुकथा : द्वन्द्व
माधवको अगाडि एउटा अजङ्गको पहाड उभिएको थियो— निर्णयको पहाड । उसको एउटा हातमा सहरको प्रतिष्ठित कम्पनीको ‘नियुक्ति-पत्र’ थियो, जसले विलासिता र सामाजिक प्रतिष्ठाको सुनौलो सपना बाँडिरहेको थियो । अर्को हातमा भने उसको पुरानो बाँसुरी थियो, जसमा गाउँको माटोको सुगन्ध, आमाको ममता र सङ्गीतप्रतिको अगाध निष्ठा जीवित थियो ।
यो केवल दुई मार्गको छनौट मात्र थिएन, बरु ‘मस्तिष्क’ र ‘हृदय’ बीचको भीषण महासङ्ग्राम थियो । मस्तिष्कले तर्क गर्थ्यो, “व्यावहारिक बन माधव ! यो अवसरले तिम्रो अभाव मेट्नेछ, समाजले तिमीलाई सफल मान्नेछ ।” तर, हृदयको कुनै कुनामा एउटा मधुर स्वर गुञ्जिरहेको थियो, “के तिमी आफ्नो आत्मालाई फाइलका चाङभित्र कैद गर्न सक्छौ ?”
त्यति नै बेला उसको नजर झ्याल बाहिरको एउटा चरामा पर्यो, जो आँधीसँग जुध्दै आफ्नो गुँड जोगाउन सङ्घर्ष गरिरहेको थियो । हावाले उसलाई पटक-पटक पछारिरहेको थियो, तर ऊ थाकेको थिएन । उसको अस्तित्वको सार्थकता नै त्यो सङ्घर्ष र स्वतन्त्र आकाशमा थियो, न कि कुनै सुरक्षित पिँजडामा ।
माधवले महसुस गर्यो कि जीवनको वास्तविक द्वन्द्व ‘सुरक्षा’ र ‘आफ्नोपन’ बीचको टकराव हो । सुरक्षाले शरीर त पाल्छ, तर आफ्नोपन बिनाको जीवन केवल एक यान्त्रिक अस्तित्व मात्र हो ।
उसले लामो सास फेर्यो । नियुक्ति-पत्रको चमक उसलाई अब फिक्का लाग्न थाल्यो । उसले त्यो कागजलाई मेचमा राख्यो र बाँसुरी ओठमा टाँस्यो । जब पहिलो स्वर निस्कियो, माधवले बुझ्यो—द्वन्द्व समाप्त भइसकेको थियो । उसले ‘सफल’ हुनुभन्दा ‘सार्थक’ हुनुको कठिन तर प्रिय मार्ग रोजिसकेको थियो ।
२. लघुकथा : पोस्टमार्टम
चिसो स्टिलको टेबलमा मेरो शरीर मुडाजस्तै लम्पसार थियो । मट्टितेल र फर्मालिनको गन्धबीच म पहिलोपटक आफैँलाई एउटा ‘वस्तु’ को नजरले हेर्दै थिएँ । डाक्टर सुवेदीले पन्जा तान्दै सहयोगीलाई भने, “रामबहादुर, यसको टाउको अलि उठाऊ, काम धेरै छ ।” हिजोसम्म नाम र ओहोदा भएको म, आज छिटो सक्नुपर्ने एउटा ‘केस’ मात्र भएँ ।
डाक्टरले मेरो छातीमा पहिलो चिरो लगाए । रामबहादुरले सोधे, “सर, भर्खरको केटो रहेछ, के भएर मरेछ ?” डाक्टरले भित्री अङ्ग नियाल्दै भने, “बाहिरबाट त सग्लो देखिन्छ, तर भित्र कतै गहिरो चोट हुनुपर्छ । मान्छे बाहिर जति सग्लो देखिन्छ, भित्र त्यति नै टुटिसकेको हुन्छ ।”
म सोच्न थालेँ— डाक्टर साब, तपाईंको चक्कुले के मेरो त्यो ‘पीडा’ फेला पार्न सक्छ, जसले मलाई रातभरि सुत्न दिँदैनथ्यो ?
जब डाक्टरले मेरो मुटु जोखे, रामबहादुरले भने, “मुटु त ठूलो रहेछ है ?” डाक्टरले चिसो स्वरमा जवाफ दिए, “यो त मासुको डल्लो मात्र हो रामबहादुर, भावना त केवल मस्तिष्कको रसायन हो ।”
कति निर्मम विश्लेषण ! जसलाई मैले प्रेमको मन्दिर ठानेँ, त्यो विज्ञानका लागि पुर्जा मात्र भयो ।
अन्त्यमा, मेरो शरीर सिलाउँदै डाक्टरले लामो सास फेरे, “मान्छे शरीर सजाउन कति मेहनत गर्छ, तर अन्त्यमा यो एउटा खोल मात्र त हो ।” मेरो रहस्य र अधुरा सपना अब यो सिलाइएको छालाभित्र सधैँका लागि बन्द भए । जिउँदो छँदा मलाई लाग्थ्यो म शरीर हुँ, तर आज थाहा भयो— म त केवल एउटा क्षणिक अनुभव मात्र रहेछु । कोठाको बत्ती निभ्यो, र म आफ्नो ‘शून्य’ अस्तित्वसँग शान्त भएर मुस्कुराएँ ।
३. लघुकथा : अस्तित्वको मसी
सहरको एउटा कुनामा एउटा पुरानो पुस्तकालय थियो, जहाँ समय आफैँ सुस्ताएको जस्तो लाग्थ्यो । त्यहाँका भित्तामा हजारौँ पुस्तकहरू थिए, तर तीमध्ये एउटा कुनामा एउटा भाँचिएको कलम अलपत्र अवस्थामा थन्किएको थियो ।
त्यो कलम हिजोसम्म एउटा प्रखर दार्शनिकको हातमा थियो । तर, जब उसले दरबारको अन्यायका विरुद्ध एउटा क्रान्तिकारी वाक्य लेख्न सुरु गर्यो, सत्ताका सिपाहीहरूले त्यसलाई खोसेर भुइँमा पछारिदिए र दुई टुक्रा पारिदिए । सिपाहीहरू हाँस्दै हिँडे— “अब यसले केही लेख्ने छैन ।”
रातको निस्तब्ध शान्तिमा पुस्तकालयको एउटा महँगो र चम्किलो ‘फाउन्टेन पेन’ले त्यो भाँचिएको कलमलाई गिज्याउँदै भन्यो, “हेर तिम्रो हविगत ! जो शक्तिसँग जुध्न खोज्छ, उसका अन्त्य यसरी नै हुन्छ । अब तिमी न लेख्न सक्छौ, न त कसैले तिमीलाई सजाएर नै राख्नेछ । तिम्रो विश्वास ढलेको दिन नै तिम्रो मृत्यु भइसक्यो ।”
भाँचिएको कलम शान्त थियो । उसले बिस्तारै भन्यो, “मित्र, तिमीलाई लाग्छ म सकिएँ ? तिमी चम्किलो छौ किनकि तिमीले सधैँ सत्ताको प्रशंसा मात्र लेख्यौ । तिम्रो मसीले कहिल्यै कसैको आँसु पुछेन, न त कहिल्यै सत्य बोल्ने साहस नै गर्यौ । तिमी जीवित त छौ, तर तिम्रो आत्मा कैद छ ।”
त्यही बेला, एउटा सानो बालक पुस्तकालयभित्र लुक्दै छिर्यो । उसले भित्तामा एउटा नारा लेख्नु थियो, तर उससँग केही थिएन । उसले भुइँमा देखेको त्यही भाँचिएको कलमको तिखो टुक्रा उठायो । कलमको निब भाँचिएको थियो, मसी सकिएको थियो, तर बालकले आफ्नो औँला अलिकति चिरेर त्यसैको रगतमा त्यो भाँचिएको टुक्रा डुबायो ।
त्यो भाँचिएको कलमको बाँकी रहेको तिखो भागले भित्तामा ठूला अक्षरमा लेख्यो— “विचार कहिल्यै मर्दैन ।”
भोलिपल्ट बिहान, त्यो बालक र कलम दुवै त्यहाँ थिएनन् । तर, भित्तामा लेखिएको त्यो रक्तिम अक्षरले सिङ्गो सहरलाई जुरुक्क उठाएको थियो । चम्किलो कलम अझै पनि टेबलको एउटा कुनामा सुस्तरी सुतिरहेको थियो, तर त्यो भाँचिएको कलम इतिहासको हरेक पानामा जीवित भइसकेको थियो ।
४. लघुकथा : आर्यघाटको साक्षी
आर्यघाटको त्यो एउटै ढुङ्गामा बसेर उसले हजारौँ पटक ‘राम नाम सत्य’ सुनेको थियो । तर उसलाई लाग्थ्यो— यहाँ राम नाम होइन, केवल खरानी मात्र सत्य हो ।
त्यो दिन पनि एउटा लास जलिरहेको थियो । दागबत्ती दिने छोरो चिताको छेउमा बसेर सुक्सुकाइरहेको थियो । तर उसको आँखा आगोको लप्कामा भन्दा पनि मृतकको हातमा रहेको एउटा सुनको औँठीमा अड्किएको थियो, जुन आधा जलिसकेको थियो ।
“लोभको पनि सीमा हुन्छ,” छेउमा बसेको अर्को मलामीले कानेखुसी गर्यो, “बाबु मर्दा पनि सुनकै माया !”
साक्षी मुस्कुरायो । उसले देख्यो— मलामीहरू मृत्युको गफ गरिरहेका थिएनन्, बरु बजारको महँगी र आउँदो चुनावको दाउपेच लडाइरहेका थिए । कसैलाई अफिस पुग्ने हतारो थियो, कसैलाई ‘सेल्फी’ खिचेर फेसबुकमा शोक जताउनु थियो ।
अचानक, चिताबाट एउटा पड्किएको आवाज आयो । सबै तर्सिएर पछि हटे । जलिरहेको खप्परबाट निस्केको त्यो आवाज यस्तो लाग्थ्यो, मानौँ मृत शरीरले ती जीवित मानिसहरूको तमासा हेरेर ठूलो स्वरले अट्टहास गरेको होस् ।
साक्षीले नदीको किनारमा एउटा सानो बालक देख्यो, जो जलिरहेको चिताबाट केही पर बागमतीको धमिलो पानीमा सिक्का खोजिरहेको थियो । उसको लागि कसैको मृत्यु ‘शोक’ थिएन, बरु दुई छाक टार्ने ‘अवसर’ थियो ।
शव जलिसक्यो । छोराले त्यो आधा जलेको सुनको औँठी खरानीबाट झिक्यो र खल्तीमा हाल्यो । मलामीहरू जुत्ता लगाएर हतार-हतार बाहिरिए ।
केही बेरमा त्यहाँ शून्यता छायो । साक्षीले देख्यो— अघि भर्खर जलिरहेको मान्छेको खरानीमाथि एउटा भोको कुकुर आएर तातो खोज्दै सुत्यो ।
साक्षी आफ्नो ठाउँबाट उठ्यो र भन्यो, “यहाँ को जीवित छ, को मृत ? छुट्याउनै गाह्रो !”
उसले बागमतीमा थुक्क थुक्यो र अँध्यारोतिर लाग्यो । ऊसँग न कुनै दर्शन थियो, न कुनै सन्देश । थियो त केवल एउटा चिसो रित्तोपन ।
५. लघुकथा : प्रतिविम्बको विसर्जन
नगरको प्रसिद्ध मूर्तिकार आज निकै बेचैन थियो । उसले वर्षौँ लगाएर एउटा यस्तो मूर्ति तयार पारेको थियो, जुन दुरुस्तै ऊ जस्तै देखिन्थ्यो । नसा-नसाको उभार, आँखाको गहिराइ र ओठको त्यो हल्का मुस्कान— सबै दुरुस्त ।
साँझको धमिलो प्रकाशमा मूर्तिकारले आफ्नै निर्मित मूर्तिको अगाडि उभिएर भन्यो, “मैले तिमीलाई पूर्ण बनाएँ । तिमी मेरो कलाको पराकाष्ठा हौ । अब संसारले मलाई होइन, तिमीलाई हेरेर मेरो बौद्धिकताको मापन गर्नेछ ।”
अचानक, पत्थरको त्यो मूर्तिबाट एउटा गम्भीर आवाज आयो, “तर के तिमीले मलाई पूर्ण बनाउँदा आफूलाई रिक्त पारेको आभास गरेका छौ ?”
मूर्तिकार झस्कियो । उसले भन्यो, “यो त मेरो कल्पनाको प्रतिध्वनि मात्र हो । मूर्ति बोल्दैन ।”
मूर्तिले फेरि भन्यो, “म बोल्दै छु किनकि तिमीले मलाई आफ्नो ‘अहं’ सुम्पियौ । तिमीले मलाई बनाउन आफ्नो जीवनका सारा भोगाइ र दर्शन खर्च गर्यौ । अब भन त स्रष्टा, यदि म र तिमी उस्तै छौँ भने, यो संसारका लागि ‘सत्य’ कुन हो ? तिमी— जो बिस्तारै चाउरिँदै र मर्दै जानेछौ, या म— जो तिम्रो चेतना बोकेर युगौँसम्म स्थिर रहनेछु ?”
मूर्तिकार अवाक भयो । उसले तर्क गर्यो, “म सत्य हुँ, किनकि मसँग ‘अनुभूति’ छ । तिमी त केवल मेरो अनुभूतिको जड नक्कल हौ ।”
मूर्तिले व्यङ्ग्यपूर्ण शैलीमा जवाफ दियो, “यदि अनुभूतिको अभिव्यक्ति नै कला हो भने, अभिव्यक्ति भइसकेपछि अनुभूतिको अस्तित्व सकिन्छ । तिम्रो दर्शन अब मेरो पत्थरको छातीभित्र कैद छ । मानिसहरूले मेरो मौनतामा जुन अर्थ खोज्नेछन्, त्यो तिम्रो जीवन्त शब्दभन्दा बढी प्रभावशाली हुनेछ ।”
त्यो रात मूर्तिकारले एउटा कठोर निर्णय गर्यो । उसले छिना-हथौडा उठायो र मूर्तिको अनुहार विरूप पार्न प्रहार गर्यो । तर अचम्म ! जति पटक उसले त्यो पत्थरको मूर्तिमा चोट पुर्याउँथ्यो, त्यति नै पीडा उसको आफ्नै मुटुमा झल्किन्थ्यो । पत्थरको प्रत्येक टुक्रासँगै उसको आफ्नै अस्तित्वका पत्रहरू उप्किरहेका थिए ।
अन्ततः, उसले छिना-हथौडा भुइँमा फालिदियो । उसले न केही लेख्यो, न त केही बोल्यो । केवल एउटा यस्तो शून्यतामा हरायो जहाँ स्रष्टा र सिर्जनाको सीमा रेखा मेटिइसकेको थियो ।
भोलिपल्ट बिहान, नगरवासीहरूले कोठामा दुईवटा आकृति देखे । एउटा ढुङ्गाको थियो, जसको भावभङ्गीमा जीवन्त करुणा झल्कन्थ्यो; र अर्को मानिसको थियो, जो मौनताको यस्तो पराकाष्ठामा पुगेको थियो जहाँ शब्द र शिल्पको कुनै प्रयोजन बाँकी थिएन । त्यहाँ अब प्रश्न गर्ने ‘स्रष्टा’ थिएन, न त उत्तर दिने ‘मूर्ति’— बाँकी थियो त केवल एउटा अव्यक्त, निशब्द सत्य ।
लेखकीय नोट: कला केवल बाह्य जगतको अनुकरण होइन, बरु यो स्रष्टाको आफ्नै अस्तित्वको अन्वेषण हो । जब एउटा कलाकारले आफ्नो सम्पूर्ण चेतना र बौद्धिकता कुनै कृतिमा अर्पण गर्छ, तब त्यहाँ एउटा यस्तो विन्दु आउँछ जहाँ ‘बनाउने’ र ‘बनिने’ बीचको द्वैत मेटिन्छ । यो लघुकथा (प्रतिविम्बको विसर्जन) त्यही आध्यात्मिक र बौद्धिक शून्यताको खोजी हो, जहाँ शब्दहरू सकिन्छन् र केवल एउटा अव्यक्त भाव बाँकी रहन्छ ।
–०००–
इटहरी, सुनसरी
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



