कथा : जार बोका
कथाकार : देबकी के. सी.
“ए लठेब्रो ! तेरो स्वास्नी तारा त पोइला पो गइछे, होइन ?” स्वर्गकी अप्सरा जस्ती स्वास्नी यस्तो लठेब्रोसित के खाएर टिकोस् ! बिहे गरेको यतिका वर्ष हुँदासम्म बालबच्चा पनि थिएनन् । “नामर्द हो कि क्या हो यो अलक सिंह त ?” भनेर गाउँलेहरूले जिस्काउँदा अलक सिंह बेस्सरी रिसाउँथ्यो । नबुझिने गरी के-के भन्दै गाली गर्थ्यो । त्यो देखेर गाउँलेहरू झनै हाँसो गर्थे । हुन त अलक सिंहको भाषिक अशुद्धता थियो । बोली लठेब्रो थियो । अनुहार पनि खासै राम्रो थिएन । तर उसकी स्वास्नी तारा असाध्यै राम्री थिई ।
तारा पोइला हिँडेपछि अलक सिंह निकै छटपटिएको थियो । ऊ मनको छटपटी मेट्न र मन बहलाउन गाउँको अलि माथि डाँडामा रहेको ठूलो भगवतीको मन्दिरमा आउँथ्यो । भगवतीको मन्दिर निकै प्रख्यात थियो । देश–विदेशबाट तीर्थयात्री र पर्यटकहरू भगवतीको मन्दिर दर्शन गर्न र हेर्न आउँथे । त्यहाँ भगवतीको नाउँमा थुप्रै बोकाहरू गलामा घण्टी बाँधेर चढाइएका थिए । त्यहाँ चढाइएका बोकाहरू छाडा भएर होला निकै फुर्तिला र चलाख थिए । साँढे जस्ता बलवान् देखिन्थे । छिप्पिएर अगाडि आउनै नहुने गरी डुङडुङ गनाउने भएका थिए । त्यहाँ आउने पर्यटक र तीर्थयात्रीहरूलाई पाए झम्टेर खाउँलाझैँ गर्थे ।
बिचरा ! अलि उमेर छिप्पिएका वृद्धवृद्धा र बालबालिकाको त ती छाडा भगवतीका बोकाहरूले सात्तो लिन्थे । “यी भगवतीलाई चढाइएका बोकाहरू के विधि छिल्लिएका ? कति साँढे पल्टिएका ? शक्तिशालीझैँ गरी मार्न खोज्छन्” भन्दै कतिपयले त ती बोकाहरूलाई गाली गर्थे । कतिपय तीर्थयात्रीहरूले चाहिँ “भगवतीलाई चढाइएका बोकाहरूलाई गाली गर्न हुन्न, भगवती रिसाउँछिन्, पाप लाग्छ” भन्थे ।
सबैले ‘लठेब्रो’ भनेर गिज्याउने अलक सिंह मन भुलाउन प्रायजसो त्यही भगवतीको मन्दिरमा पुग्थ्यो । त्यहाँ उसलाई एउटा निकै छिप्पिएको कालो बोकाले हान्न खोज्यो । ऊ त्यहाँ छाडिएका बोकाहरूमध्ये हेर्दै निकै शक्तिशाली देखिन्थ्यो । अगाडि आउनै नहुने गरी डुङडुङ गनाउँथ्यो । त्यसले अलक सिंहलाई मात्र होइन, त्यहाँ उपस्थित तीर्थयात्रीहरूको पनि सात्तो लियो । सबैले उसलाई लखेट्न खोजे । लखेट्ने क्रममा उसले अलक सिंहलाई नराम्रोसित सिङले हानेर लडाइदियो । अलक सिंह मन्दिरमै लड्यो । उसलाई त्यो बोकासित निकै रिस उठ्यो । त्यो छिप्पिएको गनाउने बोकाले निकै हसिलो मुहार लगाउँदै अलक सिंहतिर हेरेर ‘हुतुतुतु’ गरेर हाँस्यो । अनि टुक्रुक्क बसेर आफ्नो गोडा अलिकति फटाएर उसले आफ्नो लिङ्ग अलक सिंहलाई देखायो ।
अलक सिंहलाई त्यो भगवतीलाई चढाइएको बोकासित निकै रिस उठ्यो । यो समाजले आफूलाई ‘नामर्द’ भनेर गिज्याएझैँ उसले आफ्नो लिङ्ग देखाएर आफूलाई गिज्याएको महसुस गर्यो अलक सिंहले । आफ्नो लिङ्ग देखाउँदै ‘हुतुतु’ गरेर हाँस्ने त्यो बोकाको अनुहारमा अलक सिंहले आफ्नो जारलाई देख्यो । आफ्नो स्वास्नी लाने जारले आफैँलाई हुत्तिहारा र नामर्द भनेर गिज्याएझैँ लाग्यो उसलाई त्यो बोका देखेर । हुने भए उसलाई तत्काल त्यहीँ दुई टुक्रा पारेर छिनाइदिऊँ जस्तो लाग्यो । अलक सिंह बिस्तारै उठेर त्यो बोकालाई बेस्सरी गाली गर्यो । कुटौँलाझैँ गरेर झम्टियो । अलक सिंहको गाली र झम्टाइले त्यो बोका एक रत्ति पनि डराएन । उल्टै हाँसेर गिज्यायो ।
अलक सिंहलाई त्यो बोकासित उठेको रिस शान्त भएकै थिएन । उसले बोकालाई रिसाउँदै भन्यो, “तँलाई जार ! तेरो यत्रो घमण्ड र तागत मलाई मार्न खोज्ने ? तैँले मेरो शक्ति देखेकै छैनस् । तँलाई म नपुंसक बनाउँछु” भन्दै लठेब्रो पारामा गाली गर्यो । अलक सिंहले लठेब्रो पारामा भुतभुताउँदै बोकालाई गाली गरेको देखेर कतिपय तीर्थयात्री र पर्यटकहरू हाँस्न थाले । कतिपयले भने अलक सिंहलाई नै गाली गर्न थाले ।
तर अलक सिंहको रिस भने एक रत्ति पनि मरेको थिएन । ऊ फतफताउँदै घरतिर लाग्यो । घरमा पुगेपछि पनि उसले त्यो बोकालाई सम्झेर एक्लै गाली गर्दै भन्यो, “तेरो अनुहार त साँच्चै मेरो जारसित मेल खान्छ । तँ आफ्नो छिल्लिएको बडेमानको लिङ्ग मलाई देखाएर मलाई नपुंसक भन्न खोजेको होला ? म तँसित बदला नलिई कहाँ पो छाडौँला र ?”
भोलिपल्ट अलक सिंह बजारतिर लाग्यो । बजारमा गएर उसले तेजाब किन्यो । जब रात पर्यो, ऊ बिस्तारै डाँडामा रहेको भगवतीको मन्दिर पुग्यो । त्यहाँ रातभर मन्दिरवरपर नै गनाउने बोकाहरू बस्छन् भन्ने अलक सिंहलाई थाहा थियो । जब ऊ मन्दिर प्रवेश गर्यो, त्यो बोकाको गन्धले नाक नै दुर्गन्धित भएको महसुस गर्यो उसले । टाढैबाट उसको नाकमा ठोक्किन आएको बोकाको गन्धले उसलाई त्यो छिल्लिएको बोका त्यहीँ छ भनेर पत्ता लगाउन गाह्रो भएन ।
अलक सिंह मन्दिरको पेटीमा पुग्यो । त्यहाँ आफ्नो जार ठानेको बोका सुतिरहेको थियो । उसले त्यो बोकाको अनुहार, शरीर र त्यो बडेमानको लिङ्गमा तेजाब हालिदियो । त्यो बोका छटपटायो । चिच्यायो । अरू बोकाहरू पनि भागमभाग गर्न थाले । तेजाबको असरले त्यो शक्तिशाली बोकाको शरीरमा घाउ नै घाउ भयो । ऊ क्षणभरमै घिनलाग्दो देखियो । उसको त्यो अवस्था देखेर अलक सिंह खुसी भयो । “मेरो जार कुरुप भयो । नपुंसक भयो । मलाई उत्तेजित हुँदै लिङ्ग देखाउँथिस्, आज तेरो लिङ्ग पनि घाइते भयो । तँलाई जार ! ठिक्क भयो” भन्दै अलक सिंह बेजोडले हाँस्न लाग्यो । उसलाई देखेर सबै बोकाहरू डराएर परपर भागे ।
भोलिपल्ट भगवतीको मन्दिर आउने सबैले त्यो कालो बोकाको बिजोग देखे । त्यहाँ त्यो बोकाको अवस्था देखेर ठूलै बहस चल्यो । “यो भगवतीलाई चढाइएको कालो बोकालाई कसले तेजाब हाल्यो ? त्यसलाई त खोजेर पुलिसकहाँ लैजानुपर्छ । यो त भगवती देवीको बोका हो । यसलाई कसले यस्तो गर्यो ? अब अनिष्ट हुन्छ । के दशा आइपर्ने हो अब लौन !” भन्दै हल्ला चल्न थाल्यो । त्यो हल्ला अलक सिंहको कानसम्म पनि आइपुग्यो ।
तर ती हल्लाले अलक सिंह अलिकति पनि डराएन । ऊ त “मैले स्वास्नी भगाउने जार काट्न नसके पनि यो मेरो जारको अवतार परेको भगवतीको नाउँको कालो बोकालाई कुरुप पारेँ, नपुंसक पारेँ” भन्दै अलक सिंह खुसीले गदगद भयो । जसलाई उसले जार भनेर बदला लिन खोज्यो, त्यो मन्दिरमा चढाइएको एउटा जनावर मात्रै थियो, जो आजीवन आफ्नो स्वतन्त्रताको उपभोग मात्र गर्न खोज्थ्यो । आफ्नो जारको रिस र मन्दिरमा उसले लडाइदिएको निहुँ पारेर बदला लिन अलक सिंहले त्यो निर्दोष जनावरमाथि अत्याचार गर्यो र आफ्नो जारसितको रिस मेट्यो ।
तर, उसको यो पाशविक कार्य धेरै दिन लुक्न सकेन । मन्दिरमा जडान गरिएको सीसीटीभी फुटेज र स्थानीयहरूको शंकाका आधारमा प्रहरीले अलक सिंहलाई पक्राउ गर्यो । जब प्रहरीले उसलाई हत्कडी लगाएर गाउँबाट लैजाँदै थियो, तब तिनै गाउँलेहरू जो हिजो उसलाई ‘लठेब्रो’ र ‘नामर्द’ भन्दै जिस्क्याउँथे मात्र, आज उसलाई ‘जघन्य अपराधी’ भन्दै ढुङ्गा हान्न र थुक्न तम्सिए ।
प्रहरीको गाडीभित्र बसेको अलक सिंहले बाहिरका मानिसहरूलाई देख्यो । ऊ रोएन, बरु एउटा डरलाग्दो हाँसो हाँस्यो । उसले सोचेको थियो— ‘आज मलाई अपराधी देख्ने यो समाजले कहिल्यै सोध्यो कि म किन यस्तो भएँ ? मेरो अपमानले मलाई रित्याइरहँदा यो समाज कहाँ थियो ?’
–०००–


