चलचित्र समीक्षा :
प्रेम, वासना, सांसारिकता, साधना र तृष्णाको द्वन्द्वमा झुलेको बौद्ध दर्शन
समीक्षक : असल चरित्र
इटालियन निर्देशक पान नलिन (Pan Nalin) द्वारा निर्देशित तिब्बती चलचित्र “संसार” (Samsara, 2001) ले पूर्वीय र पाश्चात्य आध्यात्मिक तथा सांसारिक द्वन्द्वलाई दर्शाउने गहिरो प्रयास गरेको छ । यो चलचित्र एक तिब्बती बौद्ध भिक्षुको कथामा आधारित छ, जसले निर्वाण (Nirvana/मोक्ष) र संसार (Samsara/भौतिक जीवन) बीचको सङ्घर्ष अनुभव गर्छ । संस्कृत शब्द “संसार” (Samsara) को अर्थ हो— “जन्म, मृत्यु र पुनर्जन्मको चक्र ।” चलचित्रमा यो चक्र नायक टासीको भित्री यात्राको प्रतिनिधित्व हो । तिनको जीवन साधना र तृष्णाको द्वन्द्वमा झुलेको हुन्छ ।
कथावस्तु:
यस चलचित्रका मुख्य पात्र टासी बाल्यकालमै गुम्बा (Monastery) मा प्रवेश गर्छन् । धेरै वर्ष ध्यान गरेर जब उनी बाहिरी संसारमा फर्किन्छन्, तिनको भित्रैभित्रै द्वन्द्व सुरु हुन्छ— के साँचो मोक्ष प्राप्ति संसारबाट टाढा भएर मात्र सम्भव छ ? यो प्रश्न गहिरो छ । चलचित्रले आत्मा र शरीर, बोध र वासना, सन्न्यास र गृहस्थ, साथै जीवनको सारलाई निकै गम्भीर स्तरमा प्रस्तुत गर्दछ ।
१. टासीको आत्मसङ्घर्ष:
टासी चलचित्रका मूल पात्र हुन्, जो ध्यानबाट फर्किएपछि जीवनको अर्थ खोज्न सङ्घर्ष गर्छन् । ध्यानमा लामो समय (तीन वर्ष, तीन महिना, तीन हप्ता, तीन दिन, तीन घण्टा, तीन सेकेन्ड) बिताएर फर्किएका उनले अपेक्षाकृत “बोध” (Enlightenment) प्राप्त गरिसकेको हुनुपर्ने हो, तर उनीभित्र उब्जिएको वासना र जिज्ञासाले उनलाई नै आश्चर्यचकित पार्छ ।
“यदि ध्यानले शान्ति दिन्छ भने, मलाई वासना किन आकर्षक लागिरहेको छ ?”
यो प्रश्नले बौद्ध दर्शनकै केन्द्रमा पुर्याउँछ— वासना (तृष्णा) नै दुःखको मूल कारण हो, तर जब भिक्षु स्वयं वासनामा फस्छ, तब ध्यानले मात्र आत्मज्ञान सम्भव छ कि छैन भन्ने प्रश्न उठ्छ ।
२. प्रेम र वासनाको द्वन्द्व:
चलचित्रमा टासी र पेमाबीचको सम्बन्ध शारीरिक आकर्षणबाट सुरु हुन्छ तर त्यो प्रेम र जिम्मेवारीमा परिणत हुन्छ । यहाँ प्रेम र वासना एकअर्कामा मिल्ने कि टकराउने भन्ने विषय पनि उठ्छ । पेमासँगको सम्बन्धले टासीलाई मानव भावनाको गहिराइ महसुस गराउँछ । तर पछि तिनै पेमाले टासीको बेपर्वाहपनप्रति गहिरो वेदना र असन्तुष्टि प्रकट गर्छिन् ।
पेमा भन्छिन् : “तिमी गुम्बामा गएकै राम्रो । तिमी न त भिक्षु भयौ, न पति ।”
धार्मिक मार्ग छोडेर गृहस्थ जीवन रोज्नु गाह्रो छैन, तर त्यसको उत्तरदायित्व बोक्न तयार हुनुपर्छ भन्ने कुरा पेमाले टासीलाई सम्झाउँदै भन्छिन् ।
३. बौद्ध जीवनशैली र बोध:
टासीको प्रारम्भिक जीवन बौद्ध अनुशासनमा बितेको भए पनि जब उनी सांसारिकतातिर लम्किन्छन्, तब ती अनुशासनहरू ढल्न थाल्छन् । उनी नैतिकताबाट च्युत भएर वैवाहिक जीवनमा बेइमानी गर्छन् । साँच्चिकै बोध पाउन धर्मशास्त्र मात्र होइन, जीवनका असङ्ख्य अनुभवहरू पनि आवश्यक पर्छन् भन्ने कुरा चलचित्रले सङ्केत गरेको छ । “के बोध केवल ध्यानमै भेटिन्छ, वा जीवन भोगमार्फत ?”
प्रश्न अनुत्तरित छ ।
४. पुनरागमन: मोक्ष वा पराजय?
चलचित्रको अन्त्यमा टासी फेरि गुम्बातिर फर्किन्छन् । तर, उनीभित्र प्रश्न उठ्छ— “म मोक्षका लागि फर्किएँ, वा संसारसँग पराजित भएर ?”
चलचित्रले स्पष्ट जवाफ दिँदैन । बरु दर्शकलाई आफैँ निर्णय गर्न छोडिन्छ: त्याग आत्म-साक्षात्कारको बाटो हो कि पलायनको ?
निष्कर्षमा, चलचित्रले धर्म, प्रेम, मोह, जिम्मेवारी र मोक्षबीचको सम्बन्ध बुझ्न बाध्य पार्छ । टासीको कथा वास्तवमा हरेक मानवको कथा हो— जसले जीवनका विभिन्न रङहरू अनुभूत गरेपछि मात्र जीवनको सार पत्ता लगाउन थाल्छ ।
–०००–
हलेसी तुवाचुङ नगरपालिका, खोटाङ


