प्रेमको अपरिमेय पाठशाला : ‘प्रेमालय’ को दार्शनिक–मनोवैज्ञानिक पक्ष
समीक्षक : तोमनाथ उप्रेती
१. विषय प्रवेश
अश्विनी कोइराला जो भावनात्मक गहिराइ र दार्शनिक सोचलाई कथा र उपन्यासमा समेट्ने क्षमताले परिचित छन् । उनको लेखनमा मानव मनोविज्ञान, सामाजिक यथार्थ र आध्यात्मिक अनुभवको विस्तृत चित्रण पाइन्छ । ‘प्रेमालय’ जस्ता कृतिहरूले प्रेम, स्वतन्त्रता, ईर्ष्या र मानवीय सम्बन्धको जटिलतालाई उल्याउँछन् । उनले भाषा सरल राख्दै पनि गहन अर्थ व्यक्त गर्ने कला देखाएका छन् । उनी नेपाली साहित्यमा संवेदनशीलता र दार्शनिकताको प्रतीक हुन् ।
प्रेम शब्द सानो छ, तर यसको अर्थ अनन्त छ । मानिसले हजारौँ वर्षदेखि प्रेमबारे बोलिरहेको छ । लेखिरहेको छ । गाइरहेको छ । रोइरहेको छ । तर अझै पनि एउटा सरल प्रश्नको स्पष्ट उत्तर दिन सकेको छैन— प्रेम के हो ? के प्रेम दुई हृदयबीचको आकर्षण मात्र हो वा त्यो कुनै गहिरो आध्यात्मिक ऊर्जा हो ? के प्रेममा यौन आवश्यक छ वा प्रेम यौनभन्दा परको अनुभूति हो ? के प्रेम प्राप्तिमा सीमित छ वा त्यागमा पनि उत्तिकै जीवित रहन्छ ? यी प्रश्नहरू सामान्य देखिन्छन् । तर यिनको गहिराइ असाधारण छ । यी जिज्ञासा मात्र होइनन् मानव अस्तित्वका मौन कम्पन हुन् । यिनले मानिसलाई बाहिर होइन, भित्रतिर फर्काउँछन् । आफ्नै चेतनाको तहमा झार्छन् ।
कोइरालाको उपन्यास ‘प्रेमालय’ यिनै जटिल प्रश्नहरूको उत्तर खोज्ने एक यात्रा हो । यो उत्तर दिन हतार गर्दैन । यसले पाठकलाई सोच्न बाध्य पार्छ । उसलाई आफ्नै अनुभूति, आफ्नै विगत र आफ्नै सम्बन्धहरूसँग सामना गराउँछ ।
यस कृतिलाई प्रेमकथा भन्नु यसको गहिराइलाई सानो बनाउनु हो । यो दर्शन हो । यो मनोविज्ञान हो । यो समाजको प्रतिबिम्ब हो । ‘प्रेमालय’ वास्तवमा एउटा प्रयोगशाला हो जहाँ प्रेमलाई अनुभूत गरिन्छ । परीक्षण गरिन्छ र कहिलेकाहीँ भत्काएर पुनः निर्माण पनि गरिन्छ ।
२. कृतिको स्वरूप :
२९५ पृष्ठमा फैलिएको यो उपन्यास आकारमा सानो देखिए पनि यसको विचारक्षेत्र अत्यन्त विशाल छ । १४ खण्डमा विभाजित यसको संरचना सन्तुलित र सुव्यवस्थित छ । प्रत्येक खण्ड एक नयाँ प्रश्नको उद्घाटन हो । प्रत्येक खण्डले पाठकलाई फरक कोणबाट प्रेमलाई हेर्न बाध्य पार्छ ।
लेखकको सबैभन्दा ठूलो विशेषता जटिल विचारलाई सरल शब्दमा प्रस्तुत गर्ने क्षमता हो । उनले गहिरा दार्शनिक अवधारणालाई बोझिलो बनाएका छैनन् बरु सहज रूपमा प्रवाह दिएका छन् । काव्यात्मकता र दार्शनिकता दुवैको सुन्दर सन्तुलन यस कृतिमा पाइन्छ । कतिपय स्थानमा विज्ञानका दृष्टान्तहरू प्रयोग गरेर प्रेमलाई व्याख्या गर्ने प्रयास गरिएको छ जसले कृतिलाई थप रोचक, तर्कसङ्गत र बौद्धिक बनाएको छ ।
यो उपन्यास अनुभूति गराउने माध्यम हो । यहाँ शब्दहरू अनुभूत गरिन्छन् । पाठक कथासँग मात्र जोडिँदैन आफ्नै भित्री संसारसँग पनि जोडिन्छ । यही विशेषताले ‘प्रेमालय’ लाई साधारण उपन्यासभन्दा माथि उठाएर एक गहन साहित्यिक अनुभव बनाएको छ ।
३. कथावस्तु :
कथाको केन्द्रमा तीन पात्र छन्— सहज, गुराँस र ऋषभ । यी तीन पात्रहरूले प्रेमका तीन फरक आयामहरूलाई प्रतिनिधित्व गर्छन्, जसले उपन्यासलाई कथात्मक मात्र होइन, दार्शनिक बनाउँछ । सहज संवेदनशील छ । ऊ प्रेममा डुब्न जानछ । तर ऊ प्रेमको वास्तविक अर्थ बुझ्न सक्दैन । उसको प्रेम स्वामित्वमा केन्द्रित छ । ऊ प्रेमलाई आफ्नो बनाउन चाहन्छ । यही चाहनाले उसको प्रेमलाई सीमित बनाउँछ ।
गुराँस स्वतन्त्र छिन् । उनी प्रेमलाई बाँध्न चाहन्नन् । उनी प्रेमलाई प्रवाहजस्तो देख्छिन् जहाँ कुनै रोकावट हुँदैन । जहाँ स्वतन्त्रता नै मूल मूल्य हुन्छ । तर यही स्वतन्त्रता कहिलेकाहीँ अस्थिरता पनि बन्छ ।
ऋषभ सर बौद्धिक छन् । उनी प्रेमलाई अध्ययन गर्छन् । उनी प्रेमलाई अनुभूतिभन्दा बढी विश्लेषणको विषय बनाउँछन् । उनी प्रेमलाई बुझ्न चाहन्छन्, तर त्यसलाई नियन्त्रण गर्न सक्दैनन् ।
यी तीन पात्रहरू तीन दृष्टिकोण हुन्— भावनात्मक, स्वतन्त्र र बौद्धिक । गुराँस यी दुई पुरुषबीच उभिन्छिन्— एक भावनात्मक प्रेम र अर्को बौद्धिक तथा शारीरिक प्रेमबीच । यो त्रिकोण सम्बन्धको द्वन्द्व होइन । यो चेतनाको द्वन्द्व हो । अन्ततः यो सम्बन्ध त्रासदीमा परिणत हुन्छ । सहजले ऋषभको हत्या गर्छ । त्यसपछि ऊ आफैँ पनि मृत्यु रोज्छ । गुराँस, जसले दुई प्रकारका प्रेम अनुभव गरेकी हुन्छिन्, अन्ततः एक्लोपनमा बाँच्छिन् । कथा समाप्त हुन्छ, तर यसले उठाएका प्रश्नहरू पाठकको मनमा अझ गहिरो रूपमा जीवित रहन्छन् ।
४. प्रेमालय : एउटा वैकल्पिक शिक्षा प्रणाली
उपन्यासको सबैभन्दा रोचक पक्ष यसको अवधारणा हो— प्रेमालय । यो एउटा विद्यालयको कल्पना होइन, यो मानव चेतनाको एउटा आध्यात्मिक क्षेत्र हो, जहाँ ज्ञान बाह्य वस्तु होइन, भित्री अनुभूति बन्छ । यहाँ विज्ञान, गणित वा व्यवस्थापनका सूत्रहरू पढाइँदैनन् । यहाँ अनुभूति, आकर्षण, विश्वास, धोका, ईर्ष्या र सम्बन्ध पढाइन्छ । यी विषयहरू कागजमा सीमित हुँदैनन्, ती हृदयमा घटित हुन्छन् ।
प्रेमलाई विषय बनाइएको छ । प्रेमलाई पाठ्यक्रम बनाइएको छ । तर यो पाठ्यक्रम पुस्तकमा सीमित छैन । यो जीवनमा अभ्यास गर्नुपर्ने साधना हो । प्रेमालय यस अर्थमा एउटा गुरुकुलजस्तो देखिन्छ, जहाँ आत्मा नै विद्यार्थी हो र अनुभूति नै गुरु ।
यो अवधारणा साहसी मात्र होइन आध्यात्मिक पनि छ । किनभने हाम्रो समाजले बाह्य ज्ञानलाई प्राथमिकता दिएको छ, तर भित्री चेतनालाई उपेक्षा गरेको छ । हामी विद्यालय जानछौँ । भाषा, विज्ञान, तर्क धेरै कुरा सिक्छौँ । तर हामी प्रेम गर्न सिक्दैनौँ । हामी सम्बन्धको सार बुझ्दैनौँ ।
लेखकले यही शून्यतालाई उजागर गरेका छन् । हामी शिक्षित छौँ तर भावनात्मक रूपमा अशिक्षित छौँ । हाम्रो ज्ञानले हामीलाई सफल बनाउँछ, तर हाम्रो अवचेतनले हामीलाई अस्थिर बनाउँछ भन्ने उनले देखाएका छन् । प्रेमालय यसै कारण एक आह्वान हो आफूलाई चिन्ने, आफ्ना भावनालाई बुझ्ने र अन्ततः प्रेमलाई केवल सम्बन्ध होइन, आत्मबोधको मार्गका रूपमा स्वीकार गर्ने ।
५. प्रेमको दर्शन :
प्रेमलाई शब्दमा बाँध्न सकिँदैन । यो उपन्यासले यही सत्यलाई बारम्बार स्मरण गराउँछ कि प्रेम कुनै परिभाषामा सीमित हुने वस्तु होइन, बरु अनुभूतिमा विस्तार हुने चेतना हो । शब्दहरू प्रेमलाई समेट्न खोज्छन्, तर प्रेम सधैँ शब्दभन्दा ठूलो रहन्छ ।
प्रेम न त भावना हो, न त केवल शारीरिक आकर्षण । भावना क्षणिक हुन सक्छ, आकर्षण परिवर्तनशील हुन सक्छ, तर प्रेम ती दुवैभन्दा परको एक सूक्ष्म ऊर्जा हो । एक अदृश्य प्रवाह, जसले मानिसलाई भित्रबाट स्पर्श गर्छ । यो मन, शरीर र आत्माबीचको अदृश्य सेतु हो, जहाँ तर्क हराउँछ र अनुभूति बोल्न थाल्छ ।
प्रेम पाउनुमा मात्र छैन । गुमाउनुमा पनि छैन । प्रेम आफैँमा यात्रा हो । एक यस्तो यात्रा, जसको कुनै निश्चित गन्तव्य छैन । कहिलेकाहीँ यो यात्रामा मिलन हुन्छ । कहिलेकाहीँ वियोग । तर दुवै अवस्थाले प्रेमलाई समाप्त गर्दैनन्; बरु त्यसलाई अझ गहिरो बनाउँछन् ।
लेखकले प्रेमलाई कुनै निश्चित परिभाषामा सीमित गरेका छैनन् । उनले यसलाई खुला आकाशझैँ छोडेका छन्, जहाँ हरेक पाठकले आफ्नो अनुभवअनुसार अर्थ खोज्न सक्छ । यही खुलापनले ‘प्रेमालय’ लाई विशेष बनाउँछ । यो उत्तर दिने कृति होइन । प्रश्न जगाउने कृति हो । निर्देशन गर्ने होइन । आत्मबोधतर्फ डोऱ्याउने एक मौन आमन्त्रण हो ।
६. प्रेम र यौन : संवेदनशील बहस
उपन्यासले एउटा महत्त्वपूर्ण र संवेदनशील प्रश्न उठाउँछ— के प्रेममा यौन आवश्यक छ ? यो प्रश्न सरल देखिए पनि यसको उत्तर बहुआयामिक छ । लेखकले यसलाई एकै कोणबाट हेरेका छैनन्; बरु जीवन, समाज र चेतनाको विविध तहबाट विश्लेषण गरेका छन् ।
यौन जीवनको प्राकृतिक आवश्यकता हो । यो शरीरको भाषा हो । जैविक सत्य हो । तर प्रेमको सम्पूर्णता भने होइन । प्रेम शरीरको मिलनमा सीमित हुँदैन । यो मनको स्पर्श र आत्माको संवाद पनि हो । जहाँ यौन समाप्त हुन्छ, त्यहाँ पनि प्रेमको सम्भावना जीवित रहन सक्छ ।
हाम्रो समाजमा यौनलाई अझै पनि लुकाएर राखिन्छ । यसलाई अश्लीलताको दृष्टिले हेर्ने प्रवृत्ति छ । मानिस खुला रूपमा यसबारे कुरा गर्न डराउँछ । तर विडम्बना के छ भने यही समाजले प्रेमलाई शारीरिक आकर्षणमा सीमित गरेर बुझ्ने गर्छ ।
उपन्यासले यही विरोधाभासलाई उजागर गरेको छ । यौनलाई अस्वीकार गर्नु पनि गलत हो र प्रेमलाई यौनमा सीमित गर्नु पनि अधुरो बुझाइ हो । साँचो प्रेम त्यहाँ हुन्छ, जहाँ शरीर, मन र आत्माबीचको सन्तुलन कायम हुन्छ । यस दृष्टिले ‘प्रेमालय’ हाम्रो सामाजिक सोच, नैतिकता र चेतनाको पुनर्विचार गर्न प्रेरित गर्ने गहिरो विमर्श हो ।
७. सामाजिक यथार्थ : बन्द मानसिकताको आलोचना
‘प्रेमालय’ हाम्रो समाजको ऐना हो । एक ऐना जसमा हामी आफैँलाई स्पष्ट देख्न सक्छौँ । हामी प्रेमबारे धेरै कुरा गर्छौँ । गीत, कविता, कथा, संवाद सबैमा प्रेमको चर्चा हुन्छ । तर वास्तविकतामा हामी प्रेमको सार बुझ्दैनौँ ।
हामी यौनलाई लुकाउँछौँ । यसलाई अश्लील ठान्छौँ । तर त्यसै ऊर्जा, इच्छा र जीवनको प्राकृतिक पक्षमा हामी निर्भर रहन्छौँ । यस विरोधाभासले हाम्रो समाजको दुविधा प्रकट गर्छ जहाँ यौन निन्द्य छ, तर आवश्यक पनि ।
हामी विवाहलाई प्रेम ठान्छौँ । संस्कार, कानुनी बन्धन, सामाजिक मान्यता यी सबैलाई प्रेमको सट्टामा राख्छौँ । तर प्रेम सामाजिक संरचना वा नियममा सीमित छैन । प्रेम मन, चेतना र आत्माको अन्तरक्रिया हो ।
‘प्रेमालय’ ले यही मानसिकताको सीमिततालाई उजागर गरेको छ । हामी शिक्षित छौँ, तर भावनात्मक रूपमा अशिक्षित छौँ । हामी बाह्य रूपमा सभ्य देखिन्छौँ, तर भित्री अनुभूति र संवेदनामा अप्ठ्यारोमा छौँ भन्ने भाव लेखकले देखाएका छन् ।
८. पौराणिक सन्दर्भ : मिथकको पुनर्पाठ
लेखकले पौराणिक कथाहरूलाई नयाँ दृष्टिकोणबाट पुनः व्याख्या गरेका छन् । उनी रामायणलाई राम र सीताको आदर्श प्रेमकथा मात्र नभएर रावणको प्रेमकथा पनि मान्छन् । यसले स्थापित परम्परागत दृष्टिकोणलाई चुनौती दिन्छ ।
यो दृष्टिकोण विवादास्पद हुन सक्छ । किनभने हाम्रो समाजमा रामायणलाई नैतिक र आदर्शको प्रतीकका रूपमा हेरिन्छ । प्रत्येक पात्रको प्रेम अनुभूति, स्वभाव र नियति फरक हुन्छ र त्यसको मूल्याङ्कन विजय वा हारको आधारमा हुनु गलत हुन्छ भन्ने लेखकले देखाएका छन् ।
यसले पाठकलाई कथा पढ्नु मात्र होइन, सोच्न र विश्लेषण गर्न प्रेरित गर्छ । यसले प्रेमको बहुआयामिकता र जटिलतालाई उजागर गर्छ । राम, सीता, रावण यी पात्रहरूको प्रेम रोमान्स होइन; यो चेतना, इच्छाशक्ति र सामाजिक तथा व्यक्तिगत प्रतिबन्धसँगको द्वन्द्व पनि हो । लेखकको यस दृष्टिकोणले पाठकलाई पौराणिक कथामा मात्र होइन, आफ्नै जीवन र समाजमा पनि प्रेमको विविध आयामलाई बुझ्ने अवसर दिन्छ । यसले प्रेमलाई पारम्परिक परिभाषाभन्दा परिपूर्ण, गहिरो र चुनौतीपूर्ण बनाउँछ ।
९. मनोविज्ञान र प्रकृतिवाद :
कोइरालाले देखाएका छन् कि मानिसको भित्री जीवनमा एउटा आदिम प्रवृत्ति लुकेको हुन्छ । यस भित्री संसारमा ईर्ष्या, स्वामित्व र हिंसा प्रेमसँगै उत्पन्न हुन सक्छन् ।
सहजको हिंसा केवल घटनाको परिणाम होइन । यो मानव मनको गहिरो, अवचेतन पक्षको अभिव्यक्ति हो । जब प्रेम स्वामित्वमा परिणत हुन्छ, जब इच्छा र आत्मसन्तोषको द्वन्द्व उत्पन्न हुन्छ, तब यो हिंसा जन्मिन्छ ।
हाम्रो बाहिरी सभ्यता र भित्री प्रवृत्ति सधैँ समान हुँदैनन् । हामी शान्त र सभ्य देखिन्छौँ, तर भित्री भावनाले कहिलेकाहीँ असंयमित प्रतिक्रिया जन्माउँछ । सहजको क्रिया केवल व्यक्तिगत त्रासदी होइन; यो चेतनाको, भावनाको र सामाजिक संरचनाको द्वन्द्वको प्रतीक हो । यसले पाठकलाई सोच्न बाध्य पार्छ । प्रेम केवल सुन्दर भावना मात्र होइन यसमा गहिरो मानव मनोविज्ञान र अस्तित्ववादका पक्षहरू पनि समाहित छन् ।
१०. भाषा र शैली : सरलताभित्रको सौन्दर्य
लेखकले अनावश्यक जटिलता प्रयोग गरेका छैनन् । उनले सरल शब्दहरूमा गहिरो भाव व्यक्त गरेका छन् । शब्दहरू महसुस गराउने, अनुभूति जगाउने माध्यम बनेका छन् । प्रत्येक वाक्यले पाठकको मनमा एक ध्वनि जस्तै प्रतिध्वनि छोड्छ ।
साधारण शब्दावलीमा दार्शनिकता छ । मनोवैज्ञानिक विश्लेषण छ । जीवनका गहन प्रश्नहरू यहाँ सरल तर अर्थपूर्ण शैलीमा प्रस्तुत छन् । यसले पाठकलाई सोच्न बाध्य पार्छ । शब्दहरूको प्रवाहले भावनात्मक र बौद्धिक यात्रामा लग्छ ।
सजिलो भाषा प्रयोग गरिए पनि कथाको गहिराइ कम भएको छैन । साना वाक्यहरूले कथा मात्रै अघि बढाउँदैनन्; ती पाठकको चेतनामा खुराक दिने पुल जस्तो काम गर्छन् । लेखकले शब्दहरूको चयनमा स्पष्टता राखेका छन् । कतिपय वाक्य छोटा, कतिपय विचारपूर्ण र घुलमिल छन् ।
११. शीर्षकको अर्थ : प्रेमको घर कि कारागार ?
‘प्रेमालय’ प्रतीक हो । यो प्रेमको घर हो जहाँ हृदय खुल्छ, भावना उजागर हुन्छ र अनुभवको पाठ सिकाइन्छ । तर कहिलेकाहीँ यही प्रेमको घर कारागार पनि बन्न सक्छ । जहाँ स्वतन्त्रताको अभावले, स्वामित्वको जालले, ईर्ष्याको बाधाले प्रेमलाई रोक्छ ।
यो स्थल प्रेमको शिक्षालय हो जहाँ सिकाइन्छ विश्वास, समझदारी, त्याग र संवेदनशीलता । तर यही प्रेमले कहिलेकाहीँ बन्धन पनि बनाउँछ । मनको नियन्त्रण, चाहनाको अधिनायकता र भावनाको जालमा फसाउँछ ।
प्रेम अनुभूति मात्र होइन यो अनुभव र जिम्मेवारीको समष्टि हो । यहाँ पाठ शब्दमा होइन, हृदय र आत्मामा हुन्छ । प्रेम सिकिन्छ, अभ्यास गरिन्छ, तर सिकाइले कहिलेकाहीँ स्वतन्त्रताको मूल्य र भावनाको जटिलतालाई उजागर पनि गर्छ ।
१२. वियोगान्त : अन्त्यको मौन करुणा
उपन्यासको अन्त्य अत्यन्त पीडादायी छ । मृत्यु छ । एक्लोपन छ । हरेक पात्रले आफ्नो जीवनको अन्तिम सीमा छोएको छ । तर यही अन्त्यले पाठकमा एउटा गहिरो प्रश्न जन्माउँछ— के प्रेम समाप्त भयो ?
शायद होइन । प्रेम जीवित शारीरिक सम्बन्धमा सीमित हुँदैन । यो स्मृतिमा बाँकी रहन्छ । पीडामा झल्किन्छ र अनुभूतिमा अविरल प्रवाहित हुन्छ । सहज, गुराँस र ऋषभको कथा समाप्त भए पनि, प्रेमको ऊर्जा अझै पाठकको मनमा रहन्छ । यो प्रेमले पाठकलाई भावनात्मक र दार्शनिक यात्रामा लगेर जीवनको अर्थ, सम्बन्धको मूल्य, र भावनाको गहिराइ बुझ्न बाध्य पार्छ ।
प्रेम कुनै निश्चित समाप्ति विन्दुमा टुङ्गिँदैन । मृत्युले मात्र शारीरिक उपस्थिति अन्त्य गर्न सक्छ । प्रेमको अनुभूति, सम्बन्धको गहिराइ र स्मृतिको स्पर्श अझै बाँकी रहन्छ । यही बाँकी प्रेमले पाठकलाई जीवन, सम्बन्ध र चेतनाको अनन्त यात्रा बुझ्न प्रेरित गर्छ ।
१३. समालोचना : शक्ति र सीमाहरू
यस उपन्यासको सबैभन्दा ठूलो शक्ति यसको दार्शनिक गहिराइ हो । लेखकले प्रेमलाई कथा होइन, जीवन र चेतनाको प्रश्नको रूपमा प्रस्तुत गरेका छन् । पाठक केवल पात्रको व्यवहार हेर्ने मात्र हुँदैन; ऊ आफ्नै अनुभूति, इच्छाशक्ति र मनोवैज्ञानिक तहसँग पनि सामना गर्दछ ।
तर केही ठाउँमा विचारप्रधानता बढी देखिन्छ । कथाको प्रवाह कहिलेकाहीँ विचार र दर्शनको भारले ढाकिएको अनुभूति दिन्छ । यसले केही पाठकलाई कथा प्रवाहबाट केही दूरीमा राख्न सक्छ । तथापि, यिनै दर्शनात्मक खण्डहरूले उपन्यासलाई अर्थपूर्ण बनाउँछन् ।
‘प्रेमालय’ प्रभावशाली छ । यसले पाठकलाई प्रेम, सम्बन्ध, स्वतन्त्रता, ईर्ष्या, विश्वास र मानव मनोविज्ञानको जटिलतामा डुबाउँछ । कथाको त्रासदीपूर्ण अन्त्य, पात्रहरूको द्वन्द्व र प्रेमको अपरिभाषित स्वरूपले उपन्यासलाई केवल पठनीय मात्र नभई अनुभव गर्न योग्य बनाएको छ ।
१४. निष्कर्ष :
‘प्रेमालय’ एक अनुभवको यात्रा हो, जहाँ प्रेमलाई पढाइँदैन, महसुस गराइन्छ । प्रेम सिक्न सकिन्छ तर बुझ्न सजिलो छैन । प्रेम सुन्दर छ, तर कहिलेकाहीँ खतरनाक पनि हुन्छ । प्रेम स्वतन्त्र छ, तर यसले कहिलेकाहीँ बाँध्ने शक्ति पनि बोकेको हुन्छ ।
उपन्यासको कथामा सहज, गुराँस र ऋषभले प्रेमका तीन भिन्न आयामलाई चित्रित गर्छन्— संवेदनशीलता, स्वतन्त्रता र बौद्धिक प्रयोग । त्रिकोणभित्रको द्वन्द्व सम्बन्धको द्वन्द्व होइन; यो चेतनाको द्वन्द्व हो । अन्ततः त्रासदीले समाप्त भए पनि प्रश्नहरू अझै बाँकी रहन्छन्— के प्रेम पाउनुमा छ, कि त्यागमा ?
प्रेम न भावना हो, न शारीरिक आकर्षण । यो ऊर्जा हो, प्रवाह हो, यात्रा हो । यौन आवश्यक हुन सक्छ, तर प्रेमको पूर्णता होइन । सामाजिक प्रतिबन्ध, लुकावट र विवाहलाई प्रेम मान्ने मानसिकता उपन्यासले चुनौती दिन्छ । प्रेम आफैँमा प्रश्न हो । यो पाठ्यक्रम होइन, चेतनाको साधना हो ।


