कवि : सरस्वती पुडासैनी
सपनाको कुनै सीमा हुँदैन,
सपना त स्वतन्त्र हुन्छ ।
न हैसियतले रोक्न सक्छ,
न परिस्थितिले थाम्न सक्छ ।
सपना फुल्छ
हिमालका चिसा टाकुरामा,
र बास बस्छ
कसैको अँध्यारो जीवनमा ।
मेरो सपना—
कहिले सङ्घर्षको आवाज बनेर आउँछ,
कहिले आँसुमै लुकेर,
कहिले शब्दविहीन पीडाको रूप लिएर ।
सपना !
तिम्रो र मेरो भागदौडको कथा हो जीवन,
जहाँ तिमी निरन्तर दौडिरहन्छौ,
र म चुपचाप तिमीलाई पछ्याइरहन्छु ।
सपना !
केवल तिमीलाई देखेर होइन—
लडेर,
भत्किएर,
अनि फेरि उठेर ।
तिमीलाई चुम्नु छ,
तिमीसँगै रमाउनु छ,
अनि बाँच्नु छ मेरो जीवन ।
अनि बाँच्नु छ मेरो जीवन ।


