कवि : कला ढकाल
पैतालाले कयौँ पटक
चट्टान टेकेर रगत फालेको छ,
बडे-बडे पहाड खाली खुट्टाले
उक्लेको छ, कयौँ भिरपहरा
पार गरेको छ ।
अनगिन्ती सपनाहरू थाती राखेर
पाइला सार्दै उकाली चढेको छ ।
सपना त कति भत्किए कति,
अनगिन्ती छन् ।
खाली खुट्टाले
जीवनको भारी बोकेर
उकालो चढियो ।
अनि छ नि—
कहिल्यै पुग्न नसकिने
अक्करको भिर,
त्यो पनि खाली खुट्टै
हिँडेर पार गर्नु छ,
नितान्त एक्लै ।
यात्रामा भेटिन्छन् कयौँ यात्री,
तर ती त छिर्के लगाउने मात्र हुन् ।
हो भन्या ! साँच्चै,
ती छिर्के लगाउन माहिर हुन्छन् ।
हरेक दिन काँडामा
पाइला सार्दै,
रगताम्य अघि बढेको छु
मजबुत खुट्टा बनाउन ।
जुत्ताले टेकेर होइन—
अनुभवले, सङ्घर्षले टेकेर,
छाला फुटे पनि, घाउ दुखे पनि,
कुर्कुच्चा चिरा-चिरा परे पनि
आफैँ उभिन सक्नुपर्छ ।
हो, आफ्ना खुट्टामा
आफैँ उभिन सक्नुपर्छ,
जीवनको बाटोमा
अडिग भएर—
उभिने खुट्टा आफ्नै हुनुपर्छ !!
कविको ठेगाना : झापा


