नेपाली आख्यान, समालोचना र नाट्य विधामा सुपरिचित नन्दलाल आचार्यको जन्म उदयपुरको ठोक्सिला, जहडामा वि.सं. २०३० असार २८ गते भएको हो । स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरी शिक्षण पेसामा संलग्न रहँदा पनि उहाँले साहित्यमा आफ्नो एक विशिष्ट पहिचान बनाउनुभएको छ । साहित्यलाई जीवनधर्म मान्ने आचार्यले आफ्नो कलमलाई ‘लौरो’, मनलाई उपन्यास र संवेदनालाई ‘शल्यक्रिया’को विषय बनाउँदै सिर्जनात्मक यात्रालाई निरन्तरता दिनुभएको छ ।उहाँका प्रकाशित कृतिहरूले उहाँको बहुआयामिक साहित्यिक व्यक्तित्वलाई उजागर गर्छन् । ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (नाट्यकृति), ‘गरूराहा’ (उपन्यास), ‘एकहाते जीवन’ (निबन्धसङ्ग्रह), ‘पुण्य कार्कीको कथाकारिता’ (समालोचनासङ्ग्रह), ‘लौरो’ (लघुकथासङ्ग्रह) र ‘शल्यक्रिया’ (कथासङ्ग्रह) जस्ता कृतिहरूले उहाँलाई बहुविधामा कलम चलाउने स्रष्टाको रूपमा स्थापित गरेका छन् । संवेदनशील दृष्टिकोणका साथ सामाजिक विषयवस्तुको कलात्मक उठान गर्नु उहाँको लेखनको प्रमुख विशेषता हो ।
नेपाली साहित्यमा, विशेषगरी लघुकथा विधामा, ‘उत्तरकथा’ लेखनको प्रयोग थालनी गर्ने श्रेय आचार्यलाई नै जान्छ । विश्व साहित्यमा प्रचलित यस परम्परालाई नेपाली माटोमा मलजल गर्दै उहाँले एक नौलो आन्दोलनको प्रारम्भ गर्नुभएको छ ।
यसै प्रयोगलाई निरन्तरता दिँदै उहाँले हाम्रो कथाघरको “लघुकथामा एक प्रयोग” स्तम्भ सञ्चालन गर्दै आउनुभएको छ । यस स्तम्भमा उहाँले प्रत्येक पटक तीन स्रष्टाका लघुकथा छनोट गरी तिनको विश्लेषणात्मक समीक्षा गर्नुका साथै तिनै कथामा आधारित उत्तरकथाहरू पनि सिर्जना गर्नुहुन्छ । यसरी उहाँले समीक्षा र सिर्जनालाई एकैसाथ अगाडि बढाउँदै नेपाली लघुकथामा एउटा नवीन र महत्वपूर्ण आयाम थप्नुभएको छ ।
प्रस्तुत छ “लघुकथामा एक प्रयोग”को
नयाँ ३७ औँ श्रृङ्खला
१. लघुकथा : नौलो बिस्कुन
✒ लक्ष्मी रिजाल
कक्षाकोठाको ढोका आज आफैँ खुल्यो । भित्र गुरुबा हुनुहुन्थ्यो, तर उहाँको ओठमा ताल्चा झुन्डिएको जस्तै शान्त हुनुहुन्थ्यो । मार्कर र डस्टर सेतोपाटीनजिक थन्किएका थिए । केही नबोली उहाँले एउटा चम्किलो बाकस र रङ्गीचङ्गी किताबहरू भुइँमा फिँजाउनुभयो । सबै नानीहरू अलमलमा परे । न त ‘क’ भन्नुभयो, न त ‘ख’ । बाहिर चराहरू चिरबिराए जस्तै भित्र सन्नाटाले गीत गाइरहेको थियो ।
एक्कासि, साना हातहरू आफैँ जुर्मुराए । कसैले बाकस छोयो, कसैले पाना पल्टायो । गुरुबाले मात्र मुसुमुसु हाँस्दै हेरिरहनुभयो । नानीहरूले आफैँ पहाड बनाए, आफैँले खोला बगाए । अनेक अनेक बनाउँदै गए र स्वतस्फूर्त अक्षरहरू पनि लेख्दै गए । कोठाभित्र एउटा अनौठो उज्यालो भरिँदै गयो, मानौँ सबैका दिमागमा साना-साना सूर्य उदाएका छन् । सबै कुरा जादू जस्तै भइरहेको थियो ।
अन्त्यमा, रमाउँदै गरेका एक बालकले गुरुबाको हात तान्दै सोध्यो, “गुरुबा, आज हामीलाई कसले पढायो त ?”
गुरुबाले रित्तो सेतोपाटीतिर औँल्याउँदै रहस्यमय ढङ्गले भन्नुभयो, “बाबु, आज तिमीहरूले गुरुलाई नै बिदा दिएर आफैँलाई स्कुल बनायौ !”
–०००–
रूपनगर, सप्तरी
❀❀❀
❛समीक्षा❜
☞ कथातत्त्वका दृष्टिले लक्ष्मी रिजालको ‘नौलो बिस्कुन’ लघुकथाको विमर्श
✒ नन्दलाल आचार्य
लक्ष्मी रिजालको लघुकथा ‘नौलो बिस्कुन’ शिक्षा क्षेत्रको परम्परागत ढर्रामाथि एउटा मीठो प्रहार र आधुनिक शिक्षण पद्धतिको सुन्दर वकालत हो । यस लघुकथालाई कथाका तत्त्वका आधारमा निम्नानुसार टिप्पणी गर्न सकिन्छ :
- क) शीर्षक चयन र सार्थकता : ‘बिस्कुन’ भन्नाले सामान्यतया सुकाउन फिँजाएको अन्नलाई बुझिन्छ । यहाँ गुरुबाले बाकस र किताबहरू भुइँमा फिँजाउनुलाई ‘नौलो बिस्कुन’ भनिएको छ । यो बिस्कुन अन्नको होइन, ज्ञान, सिर्जना र कौतूहलताको हो । त्यसैले शीर्षक प्रतीकात्मक र निकै अर्थपूर्ण छ ।
- ख) कथानक र परिवेश : कथा एउटा सानो कक्षाकोठाभित्र घट्छ । कथानक सरल तर गहिरो छ । गुरुबाले नबोलीकन विद्यार्थीलाई सामग्री उपलब्ध गराउनु, विद्यार्थी स्वयं सक्रिय हुनु र अन्त्यमा एउटा दार्शनिक संवादमार्फत कथा टुङ्गिनुले यसको संरचनालाई कसिलो बनाएको छ । परिवेश भौतिकभन्दा पनि मनोवैज्ञानिक बढी छ, जहाँ सन्नाटाले ‘गीत गाउँछ’ र कोठाभित्र ‘सूर्य’ उदाउँछन् ।
- ग) पात्र र चरित्र चित्रण : कथामा दुई मुख्य पक्ष छन् : गुरुबा र नानीहरू (विद्यार्थीहरू) । अ) गुरुबा : उहाँ मौन हुनुहुन्छ, तर उहाँको मौनता नै सबैभन्दा ठूलो शिक्षक हो । उहाँ ‘सहजीकर्ता’ का रूपमा देखिनुभएको छ । आ) नानीहरू : उनीहरू सुरुमा अलमलमा परे पनि पछि स्वतन्त्र अन्वेषक बन्छन् । उनीहरूको जिज्ञासाले कथालाई गति दिएको छ ।
- घ) शैली र भाषा : लक्ष्मी रिजालको भाषामा ‘लालित्य’ छ । “ओठमा ताल्चा झुन्डिएको”, “सन्नाटाले गीत गाइरहेको”, र “दिमागमा साना-साना सूर्य उदाएका” जस्ता बिम्बहरूले कथालाई कवितात्मक बनाएका छन् । यहाँ उपदेश छैन, बरु अनुभव छ ।
- ङ) विचार र सन्देश : यो कथाले ‘शिक्षा भनेको बाहिरबाट थोपरिने कुरा होइन, यो त भित्रबाट प्रस्फुटित हुने प्रक्रिया हो’ भन्ने सन्देश दिन्छ । जब शिक्षकले आफ्नो वर्चस्व त्याग्छ, तब मात्र विद्यार्थीको वास्तविक सिकाइ सुरु हुन्छ । ‘आफैँलाई स्कुल बनाउनु’ नै शिक्षाको सर्वोच्च प्राप्ति हो भन्ने यसको मूल निचोड हो ।
❀❀❀
❛उत्तरकथा❜
लघुकथा : नयाँ क्षितिज
✒ नन्दलाल आचार्य
आज स्कुलको घण्टी बज्नुअगावै नानीहरू कक्षाकोठामा झुम्मिसकेका थिए । यतिबेला गुरुबाको हातमा न चम्किलो बाकस थियो, न त रङ्गीचङ्गी किताबहरू । उहाँ खाली हात चौरको एउटा ठूलो बरको रूखमुनि उभिनुभएको थियो ।
अघिल्लो दिनको त्यो ‘नौलो बिस्कुन’ कोठाभित्र मात्रै सीमित रहेन । गुरुबाको त्यो रहस्यमय मुस्कान विद्यार्थीहरूको मानसपटलमा एउटा अमेट छाप बनेर बस्यो ।
“आजको कक्षा कहाँ हुन्छ गुरुबा ?” एक जना जिज्ञासु बालिकाले सोधी ।
गुरुबाले नजिकैको एउटा सानो कमिलोको ताँती र झरेका सुक्खा पातहरूतर्फ इसारा गर्दै भन्नुभयो, “हिजो तिमीहरूले आफैँलाई स्कुल बनायौ, आज यो सारा संसारलाई आफ्नो किताब बनाऊ ।”
त्यसपछि नानीहरू कोही पातका रेखाहरूमा अक्षर खोज्न थाले, कोही कमिलाको हिँडाइमा अनुशासनको लय बुन्न थाले । कोठाका चार पर्खालभित्र कैद हुने ज्ञान आज खुला आकाशमुनि पखेटा फिँजाउँदै थियो ।
जब घाम अस्ताचलतिर ढल्कँदै थियो, एउटा बालकले एउटा चम्किलो ढुङ्गा गुरुबाको हत्केलामा राखिदियो । ढुङ्गामा माटोले एउटा सानो ‘आँखा’ कोरिएको थियो ।
बालकले भन्यो, “गुरुबा, आज मैले यो ढुङ्गामा एउटा संसार देखेँ ।”
गुरुबाको ओठमा हिजोको जस्तै शान्त तर अझ गहिरो मुस्कान फैलियो । उहाँले बुझ्नुभयो– अब यी नानीहरूलाई डोर्याइरहनु पर्दैन, उनीहरू आफैँ आफ्नो बाटोको प्रकाश बनिसकेका छन् । हिजोको ‘नौलो बिस्कुन’ आज एउटा विशाल ‘सुनौलो फसल’ बन्ने तरखरमा थियो ।
❀❀❀
२. लघुकथा : अदृश्य जग
✒ रामकृपाल महतो
बन्द कोठाभित्र एउटा सफलताको उत्सव मनाइँदै थियो, तर मुख्य पात्र भने मञ्चबाहिरै कतै हराएको थियो ।
“तपाईंको यो उचाइको रहस्य के हो ?” पत्रकारको माइक्रोफोन झुत्तियो ।
दीपाका आँखा रसाए । उनले भित्तामा झुन्डिएको त्यो पुरानो भर्याङ सम्झिइन्, जसलाई समातेर उनी आज शिखरमा पुगेकी थिइन् । समाजले उनलाई ‘तगडा महिला’ भनिरहँदा, उनलाई भने घरको अँध्यारो कुना याद आयो जहाँका उनका श्रीमान् मुक्ते दाजु आफ्ना रहरहरू खुम्च्याएर उनको लागि बाटो सम्याइरहेका हुन्थे ।
“मेरो खुट्टा तान्ने भीडमा मेरो हात समात्ने मान्छे बलियो भएर मात्र म यहाँ छु,” उनले भक्कानिँदै भनिन् ।
बाहिर गेटमा मुक्ते दाजु मुस्कुराउँदै पाहुनाका छरपस्ट जुत्ता मिलाइरहेका थिए । उनलाई मञ्चको मोह थिएन, केवल दीपाको ओठको मुस्कान प्यारो थियो ।
इतिहासले उचाइ त नाप्छ, तर त्यो उचाइ अडिएको जग कहिल्यै देख्दैन ।
अचानक, दीपाले मञ्चबाटै भनिन्, “मेरो सफलताको वास्तविक हकदार त्यहाँ ढोकामा उभिनुभएको छ !”
सबैका आँखा ढोकातर्फ मोडिए, तर त्यहाँ त केवल रित्तो स्थान र एउटा मन्द मुस्कान मात्र बाँकी थियो ।
–०००–
गोलबजार-४, सिरहा ।
❀❀❀
❛समीक्षा❜
☞ कथातत्त्वका दृष्टिले रामकृपाल महतोको ‘अदृश्य जग’ लघुकथाको विमर्श
✒ नन्दलाल आचार्य
रामकृपाल महतोद्वारा रचित लघुकथा ‘अदृश्य जग’ मानवीय सम्बन्धको गहिराइ, त्याग र सफलताको नेपथ्यमा लुकेको कठोर यथार्थलाई उजागर गर्ने एउटा सूक्ष्म र भावुक सिर्जना हो । यस कथालाई कथातत्त्वका आधारमा यसरी विश्लेषण गर्न सकिन्छ :
- १. शीर्षक र विषयवस्तु : शीर्षक ‘अदृश्य जग’ प्रतीकात्मक छ । जसरी ठूला भवनहरूको अस्तित्व जमिनमुनिको जगमा टिकेको हुन्छ तर त्यो कहिल्यै देख्दैन, त्यसरी नै व्यक्तिको सफलताको पछाडि कसैको मौन त्याग लुकेको हुन्छ भन्ने विषयलाई यसले सशक्त रूपमा उठाएको छ ।
- २. पात्र र चरित्र चित्रण : कथामा दुईवटा मुख्य पात्र छन् : दीपा र मुक्ते दाजु । दीपा सफलताको शिखरमा पुगेकी पात्र हुन् भने मुक्ते दाजु ती हुन् जसले आफ्ना रहरहरू तिलाञ्जली दिएर दीपालाई अघि बढाए । मुक्तेको चरित्रले पुरुषसत्तात्मक समाजमा पनि एउटा पुरुषले कसरी महिलाको उन्नतिमा ‘भर्याङ’ बनेर साथ दिन सक्छ भन्ने उदाहरणीय पक्ष प्रस्तुत गरेको छ ।
- ३. परिवेश र संरचना : कथा उत्सवको कोलाहलपूर्ण ‘मञ्च’ र नेपथ्यको ‘ढोका’ को सेरोफेरोमा घुमेको छ । मञ्चले बाहिरी चमकधमक र कृत्रिम सफलतालाई बुझाउँछ भने ढोकाले त्याग र वास्तविक सेवालाई सङ्केत गर्छ । संरचनाका दृष्टिले यो लघुकथा निकै कसिलो छ ।
- ४. भाषाशैली र विन्यास : कथामा लालित्यपूर्ण र संवेगात्मक भाषाको प्रयोग गरिएको छ । “आफ्ना रहरहरू खुम्च्याएर बाटो सम्याउनु”, “इतिहासले उचाइ नाप्छ, जग देख्दैन” जस्ता वाक्यहरूले कथालाई दार्शनिक ओज दिएका छन् ।
- ५. द्वन्द्व र प्रभाव : कथामा बाह्य द्वन्द्वभन्दा पनि दीपाको मनभित्रको आन्तरिक द्वन्द्व प्रबल छ । भीडले उनलाई सम्मान गरिरहँदा उनको मन भने ढोकातिर छ । कथाको अन्त्यमा दीपाले जब वास्तविक हकदारलाई सार्वजनिक गर्छिन्, तब पाठकको मनमा एक प्रकारको कौतूहल र करुणाको सञ्चार हुन्छ । ढोकामा ‘रित्तो स्थान’ हुनुले मुक्ते दाजुको निःस्वार्थपनलाई चरमोत्कर्षमा पुर्याएको छ ।
❀❀❀
❛उत्तरकथा❜
लघुकथा : मौनताको प्रतिध्वनि
✒ नन्दलाल आचार्य
भीडको नजर ढोकामा पर्दा त्यहाँ मुक्ते दाजु थिएनन्, तर उनको त्यागको सुगन्ध हावामा तैरिरहेको थियो । मानिसहरू मुखामुख गर्न थाले । कतिले यसलाई दीपाको ‘भावुक फन्डा’ ठाने त कतिले ‘अदृश्य सहयोगी’ को रहस्य खोज्न टाउको चिलाए ।
तर दीपालाई थाहा थियो, मुक्ते दाजु कहाँ छन् । उनी कुनै वाहवाही लुट्न त्यहाँ बसेका थिएनन् । उनी त केवल दीपाको पाइला डगमगाउँछ कि भनेर पहरेदारी गरिरहेका थिए । जब उनले दीपाको ओठमा आत्मविश्वासको मुस्कान र आँखामा कृतज्ञताको आँसु देखे, उनको कार्यभार पूरा भयो । उनी विस्तारै हलबाट बाहिरिएर चिसो सडकको पेटीमा एक्लै हिँड्न थाले ।
पछाडिबाट दीपाको आवाज अझै गुञ्जिरहेको थियो, “मलाई सिँढी चढ्न सिकाउनेले आफूलाई कहिल्यै सिँढीभन्दा माथि राखेनन् ।”
मुक्ते दाजुले गोजीबाट एउटा पुरानो रुमाल झिके र आफ्ना चश्माका सिसा पुछे । उनलाई लाग्यो, आज दीपा साँच्चै ठूलो मानछे भइन्– पदले मात्र होइन, विवेकले पनि । सडकको एउटा कुनामा उभिएर उनले आकाशको जूनलाई हेरे । जून चम्किरहेको थियो, तर उसलाई चम्काउने सूर्य भने कतै अदृश्य थियो ।
उनले लामो सास फेरे र सुस्तरी फलाके, “सफलता तिम्रो हो दीपा, म त मात्र तिम्रो छाया हुँ । छाया कहिल्यै घामको अगाडि उभिनु हुँदैन, नत्र घामको चमक हराउँछ ।”
देख्नेबुझ्नेले सोच्न थाले– भोलिपल्टको अखबारमा दीपाको फोटो त छापिएला, तर फोटोको कुनामा ढोकाको त्यो रित्तो स्थान पनि कैद भएको हुनेहोला ।
दीपाले मनमनै भनिन्– “कसैले नदेखे पनि त्यो ‘रित्तो स्थान’ नै वास्तवमा त्यो उत्सवको सबैभन्दा भरिएको हिस्सा हो ।”
❀❀❀
३. लघुकथा : सरकार कसको ?
✒ सीताराम नेपाल
“यो सरकार त हाम्रो हो ।”
जनता ।
“हाम्रो अमूल्य मतबाट बनेको हो यो सरकार ।”
जनताको खुसी पोखियो ।
“सरकार हाम्रो हो ।”
बिचौलिया ।
“हामीले चन्दाको भारी नबोकाएको भए सरकार बनाउने पार्टीले कसरी चुनाव जित्थ्यो र !”
बिचौलिया प्रफुल्ल हुँदै ।
“सरकार हाम्रो पो हो त । हामीले जेलबाट झेल गरेर मुक्त भएपछि चुनावमा तरक्की नगरेको भए सरकार बनाउने दलको सिट यत्रो विधि कहाँबाट हुनु ? हाम्रो बाहुबलबाट बनेकाले सरकार हाम्रो नहुने कुरै हुन्न । यो सरकार त हाम्रै हो ।”
बलात्कारी, हत्यारा, नक्कली शरणार्थी र मानव तस्करहरू ।
यो सुनिरहेका जनता बडो सशङ्कित भए । उनीहरूले सिंहदरबार गएर हेर्दा जे देखे, त्यसपछि केही बोल्नै सकेनन् ।
–०००–
सिन्धुपाल्चोक
❀❀❀
❛समीक्षा❜
☞ कथातत्त्वका दृष्टिले सीताराम नेपालको ‘सरकार कसको ?’ लघुकथाको विमर्श
✒ नन्दलाल आचार्य
सीताराम नेपालद्वारा रचित लघुकथा ‘सरकार कसको ?’ समकालीन नेपाली राजनीतिको विद्रुप अनुहार चित्रण गर्ने एक सशक्त र व्यङ्ग्यात्मक सिर्जना हो । यस लघुकथालाई कथाका तत्त्वका आधारमा निम्नानुसार टिप्पणी गर्न सकिन्छ :
- १. शीर्षक र विषयवस्तु : शीर्षक आफैँमा प्रश्नवाचक छ, जसले कथाको अन्तर्यलाई सङ्केत गर्छ । लोकतन्त्रमा ‘सरकार कसको ?’ भन्ने प्रश्नको उत्तर सैद्धान्तिक रूपमा ‘जनताको’ हुनुपर्ने हो । तर, कथाले यसको व्यावहारिक पाटो खोतल्दै शक्ति संरचनामा अपराधी र बिचौलियाको कब्जालाई मुख्य विषयवस्तु बनाएको छ ।
- २. द्वन्द्व र संरचना : कथामा बाह्य द्वन्द्व स्पष्ट देखिन्छ– एकातिर ‘हाम्रो सरकार’ भन्ने भ्रममा रहेका सोझा जनता छन् भने अर्कोतिर लगानी र बाहुबलका आधारमा सरकारमापि दाबी गर्ने स्वार्थी समूहहरू (बिचौलिया, अपराधी, तस्कर) छन् । कथाको संरचना अत्यन्त छोटो भए पनि यसले ‘भ्रम’ बाट ‘यथार्थ’ तर्फको यात्रालाई नाटकीय ढङ्गले प्रस्तुत गरेको छ ।
- ३. पात्र र परिवेश : कथामा पात्रहरूलाई व्यक्तिभन्दा पनि ‘प्रवृत्ति’ का रूपमा प्रस्तुत गरिएको छ : अ) जनता : आशावादी तर अन्त्यमा निरीह र अवाक । आ) बिचौलिया र अपराधी : अहङ्कारी र शक्तिमाथि प्रत्यक्ष नियन्त्रण राख्ने समूह । यहाँ परिवेश सिंहदरबार हो, जो शक्तिको केन्द्र मानिन्छ, तर त्यहाँको दृश्यले जनतालाई सशङ्कित र मौन तुल्याउँछ ।
- ४. भाषाशैली र व्यङ्ग्य : कथाको भाषा सरल छ, तर यसले बोकेको व्यङ्ग्य निकै तिखो छ । “चन्दाको भारी”, “बाहुबल”, र “जेलबाट झेल” जस्ता पदावलीले नेपाली राजनीतिका विकृतिलाई नाङ्गो बनाएका छन् । संवादहरू छोटा र प्रभावकारी छन्, जसले कथानकलाई तीव्र गतिमा चरमोत्कर्षतर्फ लैजान्छन् ।
- ५. उद्देश्य र सन्देश : लोकतन्त्रको आवरणभित्र लुकेको ‘क्रोनी क्यापिटलिज्म’ र राजनीति-अपराधको साँठगाँठलाई उजागर गर्नु नै यस कथाको मूल ध्येय हो । जनताको मतभन्दा बिचौलियाको धन र अपराधीको मन ठूलो हुने तितो सत्यलाई कथाकारले कुशलतापूर्वक पस्किएका छन् ।
❀❀❀
❛उत्तरकथा❜
लघुकथा : मौनताको विस्फोट
✒ नन्दलाल आचार्य
सिंहदरबारको त्यो विशाल ढोकाभित्र पसेका जनताका प्रतिनिधिहरूले जब भित्रको दृश्य देखे, उनीहरूका पैतालामुनिको जमिन नै भासिएझैँ भयो ।
त्यहाँ कुर्सीमा कोही थिएन । तर कुर्सीको वरिपरि एउटा अदृश्य जालो बुनिएको थियो । त्यो जालोको एउटा तन्तु बिचौलियाको सुटकेससँग जोडिएको थियो, अर्को तन्तु अँध्यारो कोठामा बसेका तस्करहरूको इसारामा हल्लिरहेको थियो । त्यहाँ ऐनाहरू थिए, तर ती ऐनामा हेर्दा आफ्नो अनुहार देखिँदैनथ्यो; बरु चुनावमा बाँडिएका झुटा आश्वासनका रङ्गीन तस्बिरहरू मात्र नाच्थे ।
“हेर त,” एक जना वृद्धले काँपेको औँलाले देखाए, “हाम्रो मतपत्र त त्यहाँ मन्त्रीको टेबल पुछ्ने टालो बनेछ !”
जनताले देखे– जुन सरकारलाई उनीहरूले ‘आफ्नो’ भनेर गर्व गरेका थिए, त्यसको फाइलमा तस्करको सही थियो, नीतिमा बिचौलियाको स्वार्थ थियो र सुरक्षाको घेरामा अपराधीहरूको हाँसो थियो । सिंहदरबारको भित्तामा झुन्डिएको नक्सामा जनताको झुपडी हराइसकेको थियो, केवल प्लटिङ गरिएका जग्गा र कमिसनका अङ्कहरू मात्र बाँकी थिए ।
बाहिर निस्कँदा उनीहरूका ओठ सिएका थिएनन्, बरु एउटा गहिरो र भयानक मौनताले भरिएका थिए । त्यो मौनता पराजयको थिएन, बरु आँधी आउनुपूर्वको सन्नाटा थियो । एक जना युवाले गेटको भित्तामा खरीढुङ्गाले सानो अक्षरमा लेख्यो– “सरकार तिम्रो होला, तर देश त हाम्रै हो !”
त्यसपछि सुरु भयो– एउटा यस्तो मौन जुलुस, जसको पदचापले बिचौलियाका महलहरू हल्लिन थाले र अपराधीहरूका मुटुमा ढ्याङ्ग्रो ठोकियो । किनकि जनताले बुझिसकेका थिए, जब सरकार ‘आफ्नो’ रहँदैन, तब सडक नै सबैभन्दा ठूलो ‘सदन’ बन्नेछ ।
❀❀❀
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



