बुकाहोलिक्समा ‘हिउँद’ र ‘ईश्वरको कारागार’माथि विमर्श
काठमाडौँ । पठन संस्कृतिको प्रवर्द्धनमा सक्रिय संस्था बुकाहोलिक्सको १०८औँ शृङ्खलाअन्तर्गत मार्टिन चौतारीको सभाहलमा विशेष विमर्श सम्पन्न भएको छ ।
यस मासिक चकटी बहसमा प्रवासमा रहेर नेपाली साहित्यमा नवीन आयाम थपिरहेका दुई युवा कविहरूको कृति: नदीशको कवितासङ्ग्रह ‘हिउँद’ र डा. अनमोल कँडेलको ‘ईश्वरको कारागार’माथि अन्तर्क्रिया भएको हो ।
कार्यक्रमका मुख्य वक्ता, पर्यालेखक तथा पुरातत्त्वका शोधार्थी राजु झल्लु प्रसादले दुवै कृतिमाथि परम्परागत साहित्यिक समालोचनाभन्दा भिन्न, पुरातात्त्विक र ‘जेन जी’ मनोविज्ञानको लेन्सबाट समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।
समीक्षक राजु झल्लु प्रसादले कवितालाई ‘हृदयको भावना र कल्पनाको मिश्रित रूप’ भन्ने शास्त्रीय परिभाषाभन्दा माथि उठेर यसलाई ‘समय-अवशेष’ (टाइम आर्टिफ्याक्ट्स)का रूपमा बुझ्नुपर्ने जिकिर गरे । वि.सं. २०८२ को यो कालखण्डलाई भोलिको पुस्ताले कसरी आर्काइभ गर्नेछ भन्ने कोणबाट हेर्दै उनले भने, “पुरातत्त्वको विद्यार्थी भएको नाताले यी कविताहरूले कुन समय, कुन रस, कुन मनोविज्ञान, कुन भूगोल र कुन चिन्तनको उत्खनन गरिरहेका छन् भन्ने मलाई जान्नु थियो । यही क्रममा मैले कतिपय यस्ता विम्बहरू फेला पारेँ, जसले मलाई लिच्छविकालीन मूर्तिकलाको शिखर ‘विष्णुविक्रान्त’को मूर्ति देख्दा हुने विस्मय र उचाइको महसुस गरायो । कतिपय ठाउँमा शब्दहरू ‘मानदेवको मानाङ्क’ जस्तै ऐतिहासिक रूपमा स्पष्ट, वजनदार र उत्तिकै रुचिकर लागे ।”
वक्ता झल्लु प्रसादले दुवै सर्जकको पेसागत पृष्ठभूमि र उनीहरूको कविताको बुनोटबीचको अन्तरसम्बन्धलाई पनि केलाउने काम गरेका थिए । नदीशको ‘हिउँद’ कविताकृति हार्दिकताप्रधान रहेको उल्लेख गर्दै उनले भने, “हिउँद ऋतुभन्दा पनि डार्क इकोलोजी, पर्याचेतना, डिजिटल युगको एक्लोपन र प्रविधिले निल्दै गएको मानवीय न्यानोपनको खोजीप्रति संवेदनशील रहेको भेटेँ । नदीशले शब्दको अनावश्यक भीडलाई हटाएर मिनिमलिस्टिक शैलीमा सुन्दर विम्बहरू कोरेका छन् । नदीशका कविताहरूमा प्रशस्त ब्रिथिङ स्पेसहरू छन् । यी कविताहरूले मनको हेरचाह गर्छन् ।”
डा. कँडेलको ‘ईश्वरको कारागार’ कविताकृति वैचारिक प्रश्नप्रधान रहेको बताउँदै उनले भने, “उनको कविता ‘रुन्चे’ छैन, अस्तित्ववादी र दार्शनिक छ । कँडेल प्राय: कविताहरूमा जिज्ञासु देखिन्छन् । कँडेलभित्र एउटा विद्रोही बौद्धिकता र आफैँलाई चिन्ने/जान्ने निरन्तर दृढता भेटेँ । उनी कवितामार्फत मानव र मानव सभ्यतालाई गिज्याइरहेका भेटिन्छन् ।”
झल्लु प्रसादले अहिले विश्वभरि उत्तर-आधुनिकताको अत्यधिक भार, त्यसको व्यङ्ग्य र जटिलताबाट थाकेर कविहरू फेरि ‘नयाँ इमानदारिता’तिर फर्किएको चर्चा गरे । यसलाई उत्तर-उत्तरआधुनिकता पनि भन्न सकिने उल्लेख गर्दै उनले भने, “यो ‘न्यु सिन्सेयारिटी’ले पाठकलाई अल्मल्याउँदैन, बरु अझ गहिरोसँग अनुभूतिका तहहरूसँग जोड्छ ।”
झल्लु प्रसादले मुख्यत: ५ वटा सैद्धान्तिक र आधुनिक कोणबाट यी कविताकृतिहरूको चिरफार गरेका थिए । जसमा अमेरिकाको व्यस्त सडकमा उभिएर ‘बीचको स्थान’ (इन-बिटविन) बाट लेख्दा आउने सांस्कृतिक सम्मिश्रण (थर्ड स्पेस) र प्रवासको स्मृति, इन्द्रिय पुरातत्त्व (सेन्सरी आर्कियोलोजी) र अनुभूति सिद्धान्त, पुरातत्त्व र इतिहास लेखनमा नयाँ राजनीतिक चेतना, पर्याचेतना र ‘डार्क इकोलोजी’ अर्थात् विनाश र सौन्दर्यको पर्यावरण तथा विश्वव्यापी नयाँ पुस्ता (जेनजी)को चिन्तन र अमूर्तता आदि रहेका थिए ।
‘विम्ब परिवर्तन गर कवि हो’ भन्दै आइरहेका झल्लु प्रसादले कविताका केही सीमा र कमजोरीहरू पनि निर्भीकतापूर्वक औँल्याए । कविताहरू ‘आमा, गाउँ, काका, नोस्टाल्जिया र एक्लोपन’का पपुलिस्ट विचार काट्न ‘हिउँद’ कताकता असफल रहेको उनले बताए ।
त्यस्तै, डा. कँडेलको ‘ईश्वरको कारागार’ पनि परम्परागत र लोकप्रिय पाश्चात्य मिथकका पात्रहरू (सिसिफस, प्रमिथस आदि)लाई बोकिहिँड्ने अतिरिक्त झन्झटबाट मुक्त हुन नसकेको उनको टिप्पणी थियो । उनले आयातित मिथकभन्दा हाम्रै रैथाने (स्थानीय) मिथकहरू आइदिएको भए कविता अझ बढी मौलिक हुने सुझाव दिए । उनले कँडेलको कृतिले कतिकतिखेर निराशावादको अतिरञ्जना गरेको पनि देखिने बताए ।
प्रकृति सङ्कटमा छ भन्ने कुरा समाचारले भनिरहँदा कविताले किन भन्नुपर्यो ? कविताले आशा र डरमध्ये कुन सञ्चार गर्नुपर्ने हो ? कविता अब बौद्धिक उत्तेजना हो कि मानसिक उपचार हो ? कवितामा भेटिने ‘डिजिटल सन्नाटा’ हाम्रो समयको नयाँ ‘मौनता’ हो ? यदि हो भने प्रविधिले हामीलाई बोल्न सिकाएको छ कि झन् एक्लो र मौन बनाएको छ ? १ हजार वर्षपछि यी कृति भेटाउनेले हाम्रो समयलाई प्रविधिको युग भन्लान् कि संवेदनाको अन्त्यको युग ? जस्ता कैयौँ अनुत्तरित र गम्भीर प्रश्नहरू हलमा छोड्दै झल्लु प्रसादले आफ्नो मन्तव्य टुङ्ग्याएका थिए ।
कार्यक्रममा दुवै कविताकृतिका प्रकाशक भूपेन्द्र खड्काले प्रकाशकीय धारणा राखेका थिए । त्यसैगरी, बुकाहोलिक्सकी संस्थापक सगुना शाह, समीक्षक राजकुमार बानियाँ, अस्मिता अस्मिता, सिल्की मून ऋचालगायतले पनि आ-आफ्नो पाठकीय दृष्टिकोण र टिप्पणी राखेका थिए ।


