पहाडकी रानी बन्दीपुरको सेरोफेरो
स्रष्टा: भूमिका गैरे तिमिल्सिना
गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैँडाकोट नगरपालिका वडा नं. २ मा अवस्थित सूर्यभक्त पतनादेवी मेमोरियल कलेज (एस.पि.एम.) बाट मिति २०८२ साल माघ २३ गते शुक्रबारका दिन एकदिने शैक्षिक अवलोकनीय भ्रमणका लागि +२ र स्नातक तह गरी २५ जना विद्यार्थीहरूसहित प्राचार्य दीपेन्द्र पौडेल सर, स्ववियु सभापति श्यामकुमार बाचे, गाडीका चालक र सहचालक लगायत म शिक्षक लेखक स्वयम् (भूमिका गैरे तिमिल्सिना) पनि उपस्थित थिएँ ।
हामी बिहान कलेज प्राङ्गणबाट ६:३० बजे गाडी चढी पहाडकी रानी बन्दीपुरका लागि शैक्षिक अवलोकनीय भ्रमणमा निस्क्यौँ । सुरुमा हाम्रो यात्रा नेपालको सबैभन्दा ठुलो सिद्ध गुफा र एसियाको दोस्रो ठुलो गुफाको अवलोकनमा केन्द्रित रह्यो । त्यहाँ जानका लागि डुम्रेबाट दुई किलोमिटर अगाडि विमलनगर बजारबाट सानो पिच बाटो हुँदै केही माथि उक्लियौँ र गाडी पार्किङ गरी ‘ब्याम्बो कटेज’ मा खाजा खायौँ । त्यसपछि हाम्रो गन्तव्य सिद्ध गुफा बन्यो, जसको लम्बाइ ४३० मिटर र उचाइ ४५ मिटर रहेछ । हामी सिँढी मार्ग हुँदै नागबेली बाटो पछ्याउँदै ठाडो उकालो, बाटोको दायाँबायाँ जैविक विविधताले भरिपूर्ण दृश्य कैद गर्दै करिब ३० मिनेटको पैदल यात्रापछि उक्त गुफामा पुग्यौँ ।
तनहुँको सिद्ध गुफा नेपालकै सबैभन्दा ठुलो गुफा हो, जुन वि.सं. २०४४ साल चैत १३ गते स्थानीय चन्द्रबहादुर थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर र तत्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्र गरी ४ जनाको समूहले पत्ता लगाएका रहेछन् । गुफाभित्र चुनढुङ्गा पग्लेर बनेका अनेकौँ आकृतिहरू रहेछन् । कतै श्रीपेचजस्ता, कतै भगवान्का मूर्तिजस्ता त कतै चराचुरुङ्गी र जनावरजस्ता आकृतिहरू देखिँदा रहेछन् ।
ठुलाठुला चट्टान र ढुङ्गाहरू रहेको अँध्यारो गुफा भए तापनि त्यहाँ चिसो महसुस हुने र अक्सिजन पर्याप्त भएको पाइयो । पर्यटकहरू उक्लिन र ओर्लिन सहज होस् भनी डोरीको व्यवस्था गरिएको रहेछ । गुफा कतै समथर परेको त कतै ठाडो उकालो भएको तर निकै ठुलो र लामो रहेछ ।
गुफाको मुखबाट करिब २०० मिटर भित्र छिरेपछि एउटा ठुलो बैठक कोठाजस्तो भाग रहेछ । जसमा हिउँदमा विभिन्न संस्थाहरूले गुफाको प्रवर्द्धन गर्न बैठक बस्ने, टेबलटेनिस प्रतियोगिता गर्ने, बेलाबेलामा विभिन्न गोष्ठीहरू सञ्चालन गर्ने लगायत साहित्य सम्मेलन गर्ने जस्ता गतिविधिहरू हुने गर्दा रहेछन् भने वर्षायाममा पानी जम्मा भई पौडी खेल्न (स्विमिङ) सकिने रहेछ ।
गुफाभित्र चमेराहरू प्रशस्तै रहेछन् । कतै छिपछिपे पानी त कतै गुफाभित्रै हाइकिङको समेत व्यवस्था रहेछ । गुफाको माथिल्लो भागमा ठुलो प्वाल रहेकाले जङ्गलबाट आउने आन्तरिक एवम् बाह्य पर्यटकहरू सिधै माथिबाट डोरीको सहायताले गुफाभित्र प्रवेश गर्ने गर्दा रहेछन् ।
यो यस्तो ठाउँ रहेछ जहाँ तपस्वीले सिद्धि प्राप्त गरेका थिए र त्यहाँ त्रिशूलहरू पनि रहेछन् । शेषनागका आकृति र विभिन्न अलौकिक दृश्यको अवलोकन गर्न पाइने यस गुफामा समय–समयमा साधुहरू आएर पूजापाठ तथा साधना गरी बस्दा रहेछन् । विगत बाह्र वर्षदेखि एकजना पुजारीले गुफाभित्रै बसेर पूजा गर्दै आएको जानकारी भयो ।
गुफामा विशेषतः भगवान् शिवको पूजाअर्चना गरिने हुँदा साउन महिनामा बोलबमको मेला लाग्ने रहेछ ।
यो गुफा करिब ३५ सय वर्ष पुरानो रहेको जानकारी भयो । उक्त गुफामा विभिन्न चलचित्रको छायाङ्कन (सुटिङ) समेत गरिएको कुरा गार्ड बुद्धीमाया रानामगर दिदीबाट जानकारी भयो ।
गुफाको अवलोकनपश्चात् हामी १:०० बजे तल झरी विमलनगरमा खाना खायौँ र हाम्रो गन्तव्य बन्दीपुर–२, तनहुँमा रहेको श्री भानु माध्यमिक विद्यालय नजिक थानीमाई जाने बाटोबाट सिधै माथि २५ मिनेटको ठाडो उकालो सिँढी मार्ग हुँदै थानीमाई गयौँ । त्यहाँ पुग्दा मन्दिर अहिलेको अवस्थामा बन्द रहेको थियो ।
सल्लाका ठुलाठुला रुखहरूको शान्त ध्वनि गुञ्जने, वरिपरिको दृश्य छर्लङ्ग देखिने, शान्त र फराकिलो उचाइमा रहेको एउटा सुन्दर थुम्को रहेछ । थानीमाईको मन्दिरबाट सुरु भई मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करिब चार किलोमिटरको ‘मिनी ग्रेटवाल’ आन्तरिक एवम् बाह्य पर्यटकहरूको रोजाइमा परेको छ । चीनको प्रसिद्ध पर्खालको झल्को दिलाउने मुकुन्देश्वरी डाँडामा पन्ध्रौँ शताब्दीका पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले शासन गरेको इतिहास पाइन्छ ।
यो डाँडाबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालदेखि पूर्वमा गणेश हिमाल र पश्चिममा लाङटाङ हिमाल लगायत अनेकौँ चुचुराहरू देख्न सकिन्छ । प्राकृतिक, सांस्कृतिक एवम् पर्यटकीय सम्भावना रहेको उक्त स्थल आन्तरिक एवम् बाह्य पर्यटकहरूको रोजाइमा पर्ने गरेको पाइन्छ ।
उक्त स्थानको अवलोकनपश्चात् हामी तनहुँको बन्दीपुर गाउँपालिका–२ पुरानकोटबाट देखिने टुँडिखेल पुग्यौँ, जुन ठुलो क्षेत्रफलमा फैलिएको छ । वरिपरि पर्वत शृङ्खला र हिमचुचुराहरू देख्न सकिने यो ठाउँ अत्यन्तै मनमोहक रहेछ । केही पर्यटकहरू घोडचढीमा रमाइरहेका थिए भने केही सेल्फी खिच्नमा व्यस्त देखिन्थे ।
टुँडिखेलको अवलोकनपश्चात् हामीले खाजा खायौँ र हाम्रो गन्तव्य आँबुखैरेनी–४, तनहुँमा रहेको ऐना पहरा ! आँबुखैरेनी २ र ५ को सिमानामा पर्ने पहरा मानव निर्मित संरचना हो । उक्त पहराको झरनाले पवित्रता, किंवदन्ती र प्राकृतिक सौन्दर्यको सङ्गमको आभास गराउँछ । आध्यात्मिक शान्ति प्रदान गर्ने, प्रकृतिको काखमा रहेको, चारैतिर पहाडले घेरिएको र चट्टानमा विभिन्न आकृति कुँदिएका दृश्यले त्यहाँ जाने जो कोहीको पनि मन लोभ्याउँछ ।
महाभारत पर्वत शृङ्खलाको उच्च भाग २१३४ मिटरको उचाइमा माता मनकामना तथा गोरखा कालिका लगायत भगवतीका दिदीहरू बुढीदेवी माई र छिम्केश्वरी माई तनहुँ जिल्ला, आँबुखैरेनी गाउँपालिका वडा नं. ५ मा रहनुभएको छ । परापूर्वकालदेखि यस क्षेत्रका बासिन्दाहरूले आफ्ना पशुचौपायालाई वनमा खुला छाड्दा पनि चोटपटक लाग्ने वा हराउने नभएकाले उक्त ठाउँमा भगवतीको दर्शन मात्र गर्नाले मनोकाङ्क्षा पूर्ण हुने जनविश्वास रहेको पाइन्छ । ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक एवम् पर्यटकीय दृष्टिकोणले यो अत्यन्त महत्त्वपूर्ण स्थान हो ।
भनिन्छ, “जहाँ शब्दहरू रोकिन्छन्, त्यहाँ कला बोल्छ ।” हो, पक्कै पनि ती चट्टानमा कलाका अनुपम उदाहरणहरू रहेका छन् । आमा–छोराको प्रेम, जलपरी, हात्तीको विशाल चित्र लगायत अन्य विभिन्न कलाहरू प्रकृतिको काखमा कुँदिएका छन् । जसले पर्यटकहरूको ध्यान सजिलै खिचेको अनुमान लगाउन सकिन्छ ।
आँबुखैरेनी गाउँपालिका वडा नं. ५ स्थित बुढीदेवी माई र छिम्केश्वरी मन्दिरको इतिहास वि.सं. १३४० को दशकमा स्थापना गरिएको अनुमान गरिन्छ । वि.सं. १७५३ सालमा तनहुँका राजा दामोदर सेनले आफ्ना नाति (छोरी मल्लिकावतीका छोरा, गोरखाका राजा पृथ्वीपति शाहका नाति युवराज वीरभद्र शाहका छोरा) नरभूपाल शाहलाई गोरखाको राजा बनून् भन्ने कामनासहित छिम्केश्वरी भगवतीको पूजापाठ गर्न लगाएका थिए भन्ने किंवदन्ती पाइन्छ । यस ऐतिहासिक भूमिमा काठमाडौँ, पोखरा, चितवन, गोरखा लगायत आन्तरिक एवम् बाह्य क्षेत्रबाट पर्यटकहरू दर्शन एवम् अवलोकन गर्न आउने गर्दछन् । पहाडकी रानी भनेर चिनिने बन्दीपुरबाट १ घण्टाको दुरीमा रहेको छिम्केश्वरी मन्दिर दर्शन गरी फर्कन सकिन्छ ।
तनहुँ जिल्लाको सबैभन्दा अग्लो चुचुरो छिम्केश्वरी माई मन्दिर (९२१६५ मिटर उचाइ उल्लेखित भए तापनि वास्तविक उचाइ करिब २१७० मिटर) को काखबाट बग्दै आएको ऐना पहरा झरना धार्मिक, ऐतिहासिक र प्राकृतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिन्छ । बुढीमाई, छिम्केश्वरी, मनकामना, गोरखा कालिका, इच्छाकामना, अकला देवी र अन्नपूर्ण गरी यी सात दिदीबहिनी देवीहरू यस झरनामा आई स्नान गर्दथे । झरनाको पानी ऐनाजस्तै टल्कने भएकाले उनीहरू यहाँ शृङ्गार गर्ने गरेको जनश्रुति पाइन्छ । देवीहरूले प्रयोग गरेको यो पवित्र जलमा स्नान गर्दा मानिसको आत्मा शुद्ध हुने, झरनाको पानी सधैँ सफा, ऐनाजस्तै चम्किलो र स्वच्छ देखिने हुनाले उक्त पहरालाई ‘ऐना पहरा’ भन्ने गरिएको हो ।
धार्मिक आस्था र विश्वासको धरोहर यो झरना प्रकृतिप्रेमी, तीर्थयात्री तथा पर्यटकहरूका लागि प्रमुख आकर्षणको केन्द्र बनेको पाइन्छ । यस ठाउँमा आउने जो कोहीको पनि मनमा शीतलताको आभास हुने, आध्यात्मिक शान्ति र प्राकृतिक सौन्दर्यमा आफूलाई पूर्णतया समर्पित गर्न सक्ने अलौकिक शक्ति रहेको अनुमान गर्न सकिन्छ ।
आँबुखैरेनीमा रहेको यो अनुपम प्राकृतिक छटाले भरिएको सम्पदा, सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक स्थललाई संरक्षण एवम् प्रवर्द्धन गरी पर्यटकहरूको आवागमनलाई दिनप्रतिदिन बढाउन सकियो भने देशले नै प्राकृतिक सुन्दरतामा नयाँ उचाइ चुम्नेछ । नेपालकै पहिचान झल्काउने यस्ता प्राकृतिक सम्पदाको जगेर्ना गर्नुपर्दछ । ऐना पहराको भूगर्भमा रहेका ऐतिहासिक तथ्यलाई उजागर गरी यसको महत्त्व एवम् गरिमा उच्च राख्न उचित प्रचारप्रसारको खाँचो रहन्छ । स्वर्गीय आनन्दको आभास दिलाउने यस्ता ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्त्विक स्थानहरूको संरक्षण र प्रवर्द्धन गर्नु हामी सबैको कर्तव्य हो ।
ऐना पहराको अवलोकनपश्चात् हामी घरतर्फ लाग्यौँ । सम्पूर्ण विद्यार्थीहरूसहित हामी राति ८:०० बजे सकुशल घरमा पुग्यौँ ।
एकदिने अवलोकनीय भ्रमणले हाम्रो समीपमा रहेका विभिन्न स्थानहरूको बारेमा नजिकैबाट अध्ययन गर्न र त्यसको महत्त्व बुझ्न सकिन्छ, जुन उचित प्रचारप्रसार नहुँदा ओझेल परेका छन् । त्यहाँको वस्तुस्थिति नियाल्न, धर्म, कला, संस्कार र संस्कृतिलाई प्रत्यक्ष देखेर-बुझेर त्यहाँको गरिमा र विशेषतालाई प्रकाश पार्नु आवश्यक रहन्छ । आजको युग प्राविधिक युग हो, युवाहरू झन् प्रविधिसँग नजिक रहेका छन् । तर आफ्नै देशमा रहेका संस्कार, संस्कृति, भूगोल र रहनसहनको परिवेशसँग उनीहरू टाढा भएको अनुमान सहजै लगाउन सकिन्छ ।
विद्यार्थीहरूले पढेका कुरा बिर्सन सक्छन्, तर त्यहाँ गएर प्रत्यक्ष अवलोकन गरेका दृश्य र स्मृति सदैव आफ्नो मानसपटलमा कैद गर्न सक्छन् । तसर्थ विद्यार्थीलाई किताबी ज्ञानभन्दा व्यावहारिक ज्ञान दिनु आजको आवश्यकता हो । शैक्षिक अवलोकनीय भ्रमणले आफ्नो मातृभूमिप्रतिको प्रेम अझ बढ्न सक्ने सम्भावना हुँदा नेपालका कुनाकाप्चाहरूको अवगत गराई देशप्रतिको प्रेम बढाउन सकिन्छ । देशमा रहेका विभिन्न सम्भावनाहरू देख्न र बुझ्न सक्छन् । तसर्थ अहिलेका युवाहरूको विदेश पलायनप्रतिको मोह जुन द्रुत गतिले बढेको पाइन्छ, त्यसका लागि पनि स्वदेशमा रहेका अथाह सम्भावनाहरूको पहिचान गरी त्यसको महत्त्व बुझाउन सकियो भने विदेश पलायनको दर केही हदसम्म कम गर्न सकिन्छ । यसमा सम्बन्धित निकाय एवम् सरोकारवालाको ध्यान जानु आवश्यक रहन्छ ।
–०००–
गैँडाकोट-०४, नवलपुर


