नारायण नाथ योगीका
पाँच लघुकथा
१. लघुकथा: मेरी स्वास्नीको लोग्ने
त्यो साँझ बाहिर मुसलधारे पानी परिरहेको थियो, तर सुकेतुको मनभित्र भने एउटा अनौठो डढेलो सल्किएको थियो । उनी सोफामा बसेर भित्ताको घडी हेरिरहेका थिए । घडीको सुइले ठिक १० बजायो— ठ्याक्कै त्यही समय, जब उनको घरको ढोका बाहिर एउटा अपरिचित गाडी रोकियो ।
श्रीमती मनिषा भित्र पसिन् । उनको सारीका फेरहरू अलिकति अस्तव्यस्त थिए, आँखामा एउटा यस्तो चमक थियो जुन सुकेतुले पछिल्लो पाँच वर्षमा देखेका थिएनन् ।
“आज फेरि अबेर भयो ?” सुकेतुले शान्त स्वरमा सोधे ।
“हो, अफिसको काम… तिमीलाई थाहै छ नि,” मनिषाले नजर जुधाइनन् । उनले हतार-हतार आफ्नो ब्याग एउटा कुनामा राखिन्, जसमा एउटा विदेशी परफ्युमको मन्द सुगन्ध उडिरहेको थियो । त्यो सुगन्ध सुकेतुको थिएन ।
सुकेतुले ओछ्यानमा पल्टिएर आँखा चिम्ले । उनलाई महसुस भइरहेको थियो— एउटै घर, एउटै कोठा, तर मनिषाको शरीरमा कतै अर्को मान्छेको स्पर्श जीवित थियो । उनलाई लाग्यो, मनिषाले आफ्नो शरीर त घर ल्याइन्, तर उनको ‘लोग्ने’ को अधिकार कतै अर्कै ओछ्यानमा सुतेर आएको छ ।
“मनिषा,” सुकेतुले बिस्तारै बोलाए ।
“उम् ?”
“आज ऐना हेर्दा तिमीलाई कस्तो लाग्यो ?”
मनिषा झस्किइन् । “किन र ? केही भएको छ र मेरो अनुहारमा ?”
“केही भएको छैन,” सुकेतुको स्वरमा एउटा चिसोपन थियो, “तर मलाई अचम्म लाग्छ । मेरो सिन्दूर तिम्रो निधारमा छ, मेरो नामको मङ्गलसूत्र तिम्रो गलामा छ, तर तिम्रो मुस्कानको स्रोत अर्कै छ । तिम्रो ओठले मेरो नाम लिन्छ, तर तिम्रो मौनताले अर्कै कसैलाई पुकार्छ ।”
कोठामा सन्नाटा छायो । मनिषाको हातमा रहेको साँचोको झुप्पो भुइँमा खस्यो ।
“सम्बन्धको परिभाषा के हो मनिषा ?” सुकेतु उठेर उनीतिर हेर्दै अगाडि बढे । “कानुनी कागजमा म तिम्रो लोग्ने हुँ । समाजका लागि म तिम्रो लोग्ने हुँ । तर तिम्रो मनको त्यो अँध्यारो कोठामा, जहाँ तिमी आफ्नो असली रूपमा हुन्छौ, त्यहाँ ‘मेरी स्वास्नीको लोग्ने’ अर्कै कोही छ । म त केवल एउटा सुरक्षा गार्ड हुँ, जसले तिम्रो त्यो अवैध संसारलाई वैधताको खोल ओढाइदिएको छ ।”
मनिषाका खुट्टा लगलग काँप्न थाले । उनले केही बोल्न खोजिन्, तर शब्दहरू घाँटीमै अड्किए ।
“तिमीले मलाई धोका दिएकोमा मलाई चोट लागेको छैन,” सुकेतुले मनिषाको आँखामा हेर्दै अन्तिम प्रहार गरे, “मलाई त यो सोचेर दया लागिरहेछ कि तिमी हरेक रात एउटा लोग्नेसँग सुतेर अर्को लोग्नेको सपना देख्छौ । तिम्रो आत्मा कति विभाजित होला ? एउटा शरीरले कतिवटा झुट धान्न सक्छ ?”
बाहिर वर्षा थामिएको थियो, तर कोठाभित्र एउटा सिङ्गो संसार ढलिसकेको थियो । सुकेतु अर्को कोठातिर लागे, मनिषालाई त्यही ऐनाको अगाडि छोडेर— जहाँ उनले आफ्नो अनुहारमा आफ्नै लोग्ने होइन, एउटा ‘अपरिचित’ को छाया देखिरहेकी थिइन् ।
२. लघुकथा: अन्तिम बिसौनी
अँध्यारो सुरुङको अर्को छेउमा एउटा विशाल ढोका थियो, जहाँ सुनौलो अक्षरमा लेखिएको थियो— ‘मरेपछिको संसार’ ।
पृथ्वीको प्रख्यात र धनी उद्योगपति सुबोध सुवेदी भर्खरै आफ्नो आई.सी.यू. को शय्या छोडेर यहाँ आइपुगेका थिए । उनको अगाडि एउटा साधारण काठको मेचमा एकजना अधबैँसे व्यक्ति सेतो कागजको पाना पल्टाउँदै बसिरहेका थिए ।
“भित्र जान पाइन्छ ?” सुबोधले आफ्नो पुरानो रवाफिलो स्वरमा सोधे ।
“पाइन्छ, तर तिम्रो भारी यहाँ बाहिरै छोड्नुपर्छ,” ती व्यक्तिले टाउको नउठाई भने ।
“भारी ? मसँग त केही पनि छैन । म त खाली हात आएको छु,” सुबोधले आफ्नो कुर्ताको रित्तो खल्ती छाम्दै भने ।
“मानिसहरू शरीर त पृथ्वीमै छोडेर आउँछन्, सुबोध ! तर अहङ्कार, रिस, र पदको भारी मस्तिष्कमा बोकेरै यहाँसम्म आइपुग्छन्,” ती व्यक्तिले उनको आँखामा हेर्दै गम्भीर स्वरमा भने, “म यो ढोकाको पाले हुँ । भित्र छिर्नुअघि तिमीले पृथ्वीमा के कति कमायौ, त्यसको हिसाब चाहिन्छ ।”
सुबोधको अनुहारमा गर्वको चमक आयो । उनी मख्ख पर्दै कुर्सीमा ढल्किए र भने, “ओहो, हिसाब ? त्यसोभए सुन्नुस् । मैले काठमाडौँमा तीनवटा महल बनाएँ, बैंकमा अर्बौँको ब्यालेन्स छ, र समाजमा मेरो नाम सुन्नेबित्तिकै मानिसहरू आदरले शिर झुकाउँथे । मैले यति धैरे कमाएको छु कि मेरो सात पुस्तालाई पुग्छ ।”
पालेले उनको कुरा सुनेर लामो सुस्केरा हाले । उनले आफ्नो पानामा केही कोरे जस्तो गरे र शान्त स्वरमा सोधे, “मैले तिम्रो माटोको महल र कागजका नोटहरूको कुरा गरेको होइन । मैले त चेतनाको खाताको कुरा गरेको । तिमीले कसैलाई निःस्वार्थ दिएको ओठको मुस्कान कति छ ? कसैको आँसु पुछ्दा पलाएको आत्मसन्तुष्टि कति छ ? तिमीभित्रको आन्तरिक शान्ति कति छ ? त्यो भन ।”
सुबोध अक्क न बक्क भए । उनले आफ्नो अतीतको पाना पल्टाएर हेरे— त्यहाँ केवल प्रतिस्पर्धा, षड्यन्त्र, पैसाको दौड र अरूलाई पछारेर अघि बढेका खैरा यादहरू मात्र थिए । शान्ति र निश्छल आनन्दको त एउटा कण पनि थिएन ।
“त्यो त… मैले कहिल्यै कमाउनै भ्याइनँ,” सुबोधको स्वर पहिलोपटक काँप्यो ।
“त्यसोभए तिमी पूर्ण रूपमा कङ्गाल छौ,” पालेले कठोर सत्य ओकल्यो, “यहाँको मुद्रा नै ‘सत्कर्म’ र ‘सन्तुष्टि’ हो । तिमीले पृथ्वीमा जे कमायौ, त्यो यहीँ छोड्नुपर्ने रहेछ; र जे कमाउनुपर्ने थियो, त्यो तिमीले कमाउँदै कमाएनौ ।”
सुबोधको सातो गयो । उनले डराउँदै सोधे, “अब मेरो के हुन्छ ? मलाई कुन नर्कमा पठाइँदैछ ? कस्तो सजाय पाइने हो यहाँ ?”
पाले बिस्तारै आफ्नो मेचबाट उठे । उनले ‘मरेपछिको संसार’ लेखिएको त्यो ठुलो ढोका खोले । ढोकाभित्र कुनै आगोको कुण्ड थिएन, न त कुनै स्वर्गको बगैँचा नै थियो । त्यहाँ त केवल एउटा अनन्त, सुनसान र नीरस शून्यता मात्र थियो ।
पालेले सुबोधलाई भित्र धकेल्दै अन्तिम चोटिलो प्रहार गरे, “यहाँ न त कुनै सजाय छ, न त कुनै पुरस्कार, सुबोध ! मरेपछिको संसार भनेको केवल एउटा ऐना हो । तिमी जीवनभर भित्रबाट जति रित्तो थियौ, यो संसार तिम्रा लागि त्यति नै अनन्त र भयानक रित्तो हुनेछ । तिम्रो नर्क अरू केही होइन, तिमी आफैँले बनाएको यो महाशून्यता हो । भोग अब आफ्नै खालीपन !”
ढोका बन्द भयो । सुबोध त्यो अनन्त शून्यतामा आफ्नै रित्तोपनको करुण चीत्कारसँगै बिलाए ।
३. लघुकथा: स्तनको कोठी
अर्धअँध्यारो कोठामा जूनको मधुर प्रकाश सुस्मिताको देहमा छरिएको थियो । अविनाशको नजर उनको बायाँ स्तनको माथिल्लो ढल्कावटमा रहेको त्यो सानो र गाढा कोठीमा पुगेर अडियो ।
“सुस्मिता, यो सानो बिन्दुलाई हेर त,” अविनाशले औँलाले सुस्तरी स्पर्श गर्दै भन्यो, “यस्तो लाग्छ, प्रकृतिले तिम्रो सौन्दर्यको व्याख्या गर्दागर्दै थाकेर यहाँ एउटा अर्थपूर्ण पूर्णविराम लगाइदिएको छ ।”
सुस्मिताले अविनाशको हातलाई आफ्नो हातमा लिइन् र सोधिन्, “पूर्णविराम कि प्रस्थानविन्दु अविनाश ? तिम्रो नजर यहाँ आएर रोकिन्छ कि यहाँबाट तिम्रो तिर्खा सुरु हुन्छ ?”
“सुरुमा त यो केवल एउटा आकर्षण थियो,” अविनाशले गम्भीर हुँदै भन्यो, “तर अहिले मलाई यो एउटा यस्तो ध्रुवतारा जस्तो लाग्दैछ, जसले शरीरको यो विशाल भूगोलमा म जस्तो पथभ्रष्ट प्रेमीलाई प्रेमको सही दिशा निर्देश गरिरहेछ ।”
सुस्मिता मुस्कुराइन्, तर त्यो मुस्कानमा एउटा रहस्यमयी गहिराइ थियो । उनले भनिन्, “तिमी पुरुषहरू कति चाँडै दार्शनिक बन्छौ है ? तर मेरा लागि यो कोठी मेरो शरीरको त्यो ‘शून्य’ हो, जसले आफू उभिएको ठाउँको मूल्य दश गुणा बढाइदिन्छ । यो नहुँदो हो त, सायद तिम्रो लागि यो देह केवल मासुको थुप्रो मात्र हुन्थ्यो ।”
अविनाशले भावुक हुँदै भन्यो, “त्यसोभए यो शून्य होइन, यो त ब्रह्माण्डको त्यो ‘ब्ल्याक होल’ हो, जसले मेरो सारा अहङ्कार र वासनालाई आफूभित्र तानिरहेको छ ।”
साँझ ढल्दै गयो । स्पर्शहरू सघन भए र संवादहरू बिस्तारै मौनतामा विलीन भए । जब अविनाशले समर्पणको अन्तिम घडीमा त्यो कोठीलाई चुम्यो, सुस्मिताले लामो सास फेर्दै कानाफूसी गरिन्—
“अविनाश, मान्छेहरूले यसलाई कामवासनाको बिन्दु भन्छन्, तर वास्तवमा यो त मेरो शरीरमा तिम्रो निष्ठा जाँच्न बसेको एउटा सानो ‘अदालती साक्षी’ पो हो !”
४. लघुकथा: अनुत्तरित उज्यालो
“यो मुटुको बोसो पग्लिएर निस्किएको धुवाँ हो कि मेरो चेतनाको अन्तिम अवशेष ?”
सिद्धार्थले आफ्नो रित्तो छातीमा हात राखेर शून्यतातिर प्रश्न गर्यो । कोठाको अँध्यारो यति बाक्लो थियो कि हातले छाम्न सकिन्थ्यो । उसको सामुन्ने वृद्ध चिन्तक स्थिर मुद्रामा बसिरहेका थिए ।
“तिमीले के पायौ त सिद्धार्थ ?” वृद्धले सोधे ।
“केही पाइनँ आचार्य, मात्र खरानी र अझ गाढा अन्धकार,” सिद्धार्थको स्वरमा पराजयको थकाइ थियो । “शास्त्रले भन्थ्यो— त्यागको अग्निमा प्रकाश हुन्छ । मैले त आफ्नो मुटु नै झिकेर यो घरको बीचमा बालेँ । तर हेर्नुस्, भित्ताहरू अझै काला छन् । मुटु जलाउँदा पनि उज्यालो नहुने यो कस्तो घर हो ?”
वृद्धले एउटा लामो सास फेरे— “किनकि तिमीले मुटु तो जलायौ, तर त्यो मुटु जल्दा निस्कने प्रकाशलाई ‘मेरो’ भनेर समात्न खोज्यौ । तिमीले त्याग त गर्यौ, तर त्यसको ‘प्रतिफल’ खोज्यौ । तिम्रो अहङ्कार अझै जीवितै छ । वस्तुको दहनले ताप दिन्छ, दृष्टि दिँदैन ।”
“के मुटु जलाउनु पर्याप्त छैन र ?”
“जबसम्म तिमीभित्र ‘म जलिरहेको छु’ भन्ने भाव रहन्छ, तबसम्म तिमीले बालेको मुटुले केवल मोहको धुवाँ मात्र पैदा गर्छ । यो घर अँध्यारो हुनुको कारण यहाँ बत्ती नभएर होइन, बरु तिमीले अन्धकारलाई नै आफ्नो अस्तित्वको जग मानेर त्यसमाथि अपेक्षाको छत हालेका छौ । जुन घरको जग नै ‘अभाव’ मा ठडिएको हुन्छ, त्यहाँ कुनै पनि आगोले प्रकाश छर्न सक्तैन ।”
५. लघुकथा: द्वन्द्व: आफ्नो माटो, आफ्नै आकाश
माधवको अगाडि एउटा अजङ्गको पहाड उभिएको थियो— निर्णयको पहाड । उसको एउटा हातमा सहरको प्रतिष्ठित कम्पनीको ‘नियुक्ति-पत्र’ थियो, जसले विलासिता र सामाजिक प्रतिष्ठाको सुनौलो सपना बाँडिरहेको थियो । अर्को हातमा भने उसको पुरानो बाँसुरी थियो, जसमा गाउँको माटोको सुगन्ध, आमाको ममता र सङ्गीतप्रतिको अगाध निष्ठा जीवित थियो ।
यो केवल दुई मार्गको छनौट मात्र थिएन, बरु ‘मस्तिष्क’ र ‘हृदय’ बीचको भीषण महासङ्ग्राम थियो । मस्तिष्कले तर्क गर्थ्यो, “व्यावहारिक बन माधव ! यो अवसरले तिम्रो अभाव मेट्नेछ, समाजले तिमीलाई सफल मान्नेछ ।” तर, हृदयको कुनै कुनामा एउटा मधुर स्वर गुञ्जिरहेको थियो, “के तिमी आफ्नो आत्मालाई फाइलका चाङभित्र कैद गर्न सक्छौ ?”
त्यति नै बेला उसको नजर झ्याल बाहिरको एउटा चरामा पर्यो, जो आँधीसँग जुध्दै आफ्नो गुँड जोगाउन सङ्घर्ष गरिरहेको थियो । हावाले उसलाई पटक-पटक पछारिरहेको थियो, तर ऊ थाकेको थिएन । उसको अस्तित्वको सार्थकता नै त्यो सङ्घर्ष र स्वतन्त्र आकाशमा थियो, न कि कुनै सुरक्षित पिँजडामा ।
माधवले महसुस गर्यो कि जीवनको वास्तविक द्वन्द्व ‘सुरक्षा’ र ‘आफ्नोपन’ बीचको टकराव हो । सुरक्षाले शरीर त पाल्छ, तर आफ्नोपनबिनाको जीवन केवल एक यान्त्रिक अस्तित्व मात्र हो ।
उसले लामो सास फेर्यो । नियुक्ति-पत्रको चमक उसलाई अब फिक्का लाग्न थाल्यो । उसले त्यो कागजलाई मेचमा राख्यो र बाँसुरी ओठमा टँसायो । जब पहिलो स्वर निस्कियो, माधवले बुझ्यो— द्वन्द्व समाप्त भइसकेको थियो । उसले ‘सफल’ हुनुभन्दा ‘सार्थक’ हुनुको कठिन तर प्रिय मार्ग रोजिसकेको थियो ।
इटहरी, सुनसरी


