लघुकथा: छोरी
सुरेशकुमार पाण्डे
“मलाई कसले ल्यायो यहाँ ?”
रामलालको होस आएपछि पहिलो वाक्य यही थियो ।
नजिकै बसेर रामप्यारीले बिस्तारै खुट्टा दबाई रहेकी थिई ।
“हजुरलाई अचानक चक्कर आयो, अनि ल्याएको हो । अब ठिक हुन्छ, आत्तिनु पर्दैन,” रामप्यारीले बताई ।
“के भएको थियो ? रामप्यारी, मलाई कसले ल्याएको ? तिमीले ल्याएकी हौ ?” उसले जान्न खोज्यो ।
“हजुरलाई अचानक अट्याक आएको थियो । छोराहरूको फोन लागेन । त्यसैले छिट्टै यहाँ ल्याउनुपर्ने भयो र तुरुन्तै हजुरको सर्जरी गर्नुपर्ने भयो । त्यसैले छोरीलाई फोन गरेर बोलाएँ, उनैले यो सबै काम गरेकी छन्,” रामप्यारीले घटनाको बारेमा सुनाई ।
दुई भाई छोरा दुवै छुट्टाछुट्टै बसेका छन्, तर उनीहरूको खासै आवतजावत पनि थिएन । उनीहरूबीच कुरा चलिरहेकै थियो, त्यही बेला नन्दनी टुप्लुक्क आइपुगी । ऊसँग डाक्टर थिए । छोरीलाई देखेर रामलाल भावुक भए । दुवै आँखाबाट आँसु बग्यो ।
“रामप्यारी, हाम्रा दुइटा छोराहरू छन् । मेरो मान्छौ भने यो छोरीलाई नजन्माऊ, भैगो सफा गरौँ,” रामलालले रामप्यारीसँग आजभन्दा पच्चिस वर्ष पहिले भनेको कुरा झलझली सम्झियो ।
उसले भिजेका आँखाले छोरीलाई नियालिरह्यो ।
घोराही–१८, दाङ


