लघुकथा: अजेय साक्षी
प्रा.डा. पशुपति फुयाल
परित्यक्त मसानघाटको डिलमा त्यो अजङ्गको वरको रूख उभिएको थियो । उसका लामा जटाले जमिनलाई यसरी अँठ्याएका थिए, मानौँ ऊ धर्तीको सम्पूर्ण रहस्य पाताल पुर्याउन खोज्दैछ । वर्षौँदेखि उसले न बोल्न मिल्ने घटना देख्यो, न सुन्न मिल्ने क्रन्दन सुन्यो । उसको पातको सुसाहटमा एउटा अनौठो कम्पन थियो, जसले बटुवाहरूको मुटुमा चिसो पसाइदिन्वथ्यो ।
आज भने गाउँमा आँधी आयो । रूखका हाँगाहरू यसरी मच्चिए, लाग्थ्यो आज यसले आकाशै चिर्नेछ । कसैले यसलाई ‘विनाशको संवाहक’ भने, कसैले ‘युगको पहरेदार’ । यसै क्रममा जब रातो रगतले भुइँ सिञ्चित हुन्थ्यो, उसले आफ्ना जरा अझै गहिरा गाड्थ्यो । जति जति समयको चक्र घुम्यो, उसले आफ्नो काँचुली फेर्दै गयो । उनीहरूले सोचे— “यो ढल्नेछ ।” तर, ऊ त झन् जुरमुराउँदै नयाँ पालुवा हालेर ठिङ्ग उभियो ।
हेर्दाहेर्दै सारा बस्ती खण्डहर भयो । तर, त्यो वरको वृक्ष अझै विशाल र शान्त देखिन्थ्यो । सबै सिद्धिएपछि एउटा सानो चराले उसको टुप्पोमा बसेर भन्यो— “जसले जरामा आँधी र शिरमा आकाश बोक्छ, ऊ ढल्नका लागि होइन, युग बदल्नका लागि ठिङ्ग उभिन्छ ।”


