लघुकथा: मौनको भारी
एम. डी. फिराक
“छोरी, चुप लाग… समाजको मुख ठूलो हुन्छ ।”
आमाको त्यो वाक्य मेरो घाँटीमा अड्किएको काँडो बन्यो ।
विद्यालयमा म पहिलो बेन्चको उज्यालो थिएँ, तर भित्र एउटा अँध्यारोले बिस्तारै मलाई निल्दै थियो । उत्तरहरू मिल्थे, आफ्नै पीडाको हिसाब मात्रै कहिल्यै मिलाउन सकिनँ ।
हरेक साँझ पिठोको भारी बोकेर गोठतिर उकालो लाग्थेँ । भनिन्थ्यो— “हजुरबाको स्याहार गर्नू ।”
तर, त्यो गोठ, गोठ थिएन; मेरो बालापन जलाइने निभेको चिता थियो ।
रात पर्थ्यो । दैलो बन्द हुन्थ्यो । अनि एउटा वृद्ध सास अभिशापझैँ मेरो शरीरमाथि बज्रन्थ्यो । म कराउँथेँ, तर मेरा चित्कारहरू भित्तामा टाँगिएका तस्बिरझैँ निर्जीव हुन्थे ।
एक दिन मैले बुवालाई फोनमा सबै सत्य सुनाएँ ।
त्यो रात, घरको सबैभन्दा बलियो मान्छे एउटा डोरीभन्दा कमजोर साबित भयो ।
तर, म आज पनि हरेक रात सम्झनाको पासोमा झुन्डिरहेकी छु ।
फरक यति मात्र छ:
पहिले मेरा ओठ सिलिएका थिए,
अहिले मेरा घाउहरूले बोल्न सिकेका छन् ।
सोलुखुम्बु


