लघुकथा: सन्तुलन
ईश्वर पोखरेल
पहिलेपहिले घरको काम केही गर्दैनथ्यो— डा. सलिल; बिहेपछि गर्न थालेछ ।
पहिलेपहिले केही काम करना खोज्यो भने प्रेमा भन्थिन्– “छोड्, म गर्छु । तँ पढ् ।”
बिहेपछि सलिलले घरभित्रका कामलाई अलिक गहिरिएर हेर्यो । पूजापाठको काम प्रेमा सहज रूपमा गर्दिरहिछिन्; भान्साको काममा स्नेहा रमाउँदी रहिछिन् । पानीको बन्दोबस्त मिलाउने, बढार्ने, धुलो झार्ने, बिरुवामा पानी हाल्ने र घरको फोहर तह लगाउने जस्ता कुरामा दुवैजना अल्मलिँदा रहेछन् । डा. सलिललाई लागेछ— ‘उसको भूमिका यतैकतै छ । परिवारभित्र सन्तुलन कायम राख्न उसले पनि काममा हिस्सा खोज्नु पर्छ ।’
साथीहरूले जिस्क्याएपछि डा. सलिलले भन्यो— “घरेलु काममा आमा र स्नेहाको हानाथाप होस्, म चाहन्न । स्नेहालाई देख्दा आमाको अनुहार खुम्चियोस्, म यो पनि चाहन्न । त्यसैले आमाको केही काम मागेको छु, केही स्नेहालाई सघाउँछु । परिवारका सदस्यहरूका बीचको सम्बन्धलाई सन्तुलनमा राख्न मेरो पनि त भूमिका हुनुपर्छ नि, होइन र!”
सलिलको परिवारमा किन झगडा हुँदैन, किन सासू–बुहारी मिलेका देखिन्छन्— अब त्यो कसैका लागि पनि रहस्यको विषय रहेन ।
बोझेपोखरी, ललितपुर


