निबन्ध: आमारुख
“दाइले अमेरिकाबाट पठाइदिएको नयाँ आइफोनको चार्जर हरायो ।”
आमा दिनभर यही भन्दै कराइरहनुभएको थियो । झ्यालबाट तार्सेडाँडातिर हेरेँ । जेठको पहिलो पानीले धोइपखाली गरेपछिको तार्सेडाँडो हरियो दोसल्ला ओढेर मण्डपमा बसेकी बेहुलीजस्तै उज्यालो देखिन्थ्यो । पालुवैपालुवाको कोमल हरियोले तार्सेडाँडो कलकलाउँदो देखिन्थ्यो ।
“चार्जर नभेटिएसम्म खानै दिन्नँ ।”
आमाको परिवर्तित आवर्तित स्वर पटक-पटक पुनरावृत्त भएर गुञ्जिरहन्थ्यो, जसरी फर्किई-फर्किई गुञ्जिरहेको हुन्छ पहाडमा आवर्तित ध्वनि ।
मलाई भोक पनि लागेको थिएन । मनले कल्पिरहेको थियो— मोबाइल नभएर के भयो त ? चप्पल लगाएँ र चुपचाप घरपछाडिको बाटो लागेँ । त्यो बाटो स्कुल जाने बाटो हो, तर आज स्कुल खुलेको थिएन ।
आज विश्व वातावरण दिवस ! सामुदायिक रेडियो आँधीखोलाले सूचना प्रसारण गरिरहेको थियो । दुवै हातमा नारा लेखिएका प्लेकार्ड बोकेका मानिसहरूको मौन जुलुसले बजार परिक्रमा गर्दै थियो ।
बाटोमा भेटिएका मान्छेले मलाई सोधे, “कता हिँड्यौ ?”
मैले भनेँ, “प्रकृतिसँग भेट्न ।”
उनीहरू खितित्त हाँसे । “प्रकृतिसँग भेट्नु भनेको के हो ?” उनीहरूले मेरो प्रत्युत्तरलाई कसरी सोचे ? कि मेरो प्रत्युत्तरलाई हाँसोमा उडाए ?
मैले उत्तर दिइनँ । बुझाउनै पर्ने विशेष केही थिएन । मन खुसी पनि थिएन । खल्लो उराठ मनको अनुहारको कान्ति उडेर मनको ऐनामा प्रतिविम्बित थियो ।
गाउँको पुछारमा एउटा बुढो आँपको रूख थियो । हामीले बाल्यकालमा त्यसलाई ‘आमारूख’ भन्थ्यौँ । त्यही रूखको फेदमा बसेर हामीले आमाको काखमा सुतेको न्यानो वात्सल्यको निद्रा लिन्थ्यौँ । अहिले त्यो रूखको एउटा हाँगो भाँचिएको थियो । हिजोको बौलाहा हुरीबतासले भाँचिदिएको रहेछ क्यारे ! भाँचिएको ठाउँबाट मूलजस्तै रस बगिरहेको थियो, त्यो आमारूखको आँसु थियो ।
मैले त्यही रसमा औँला चोबाएँ र आफ्नो निधारमा लगाएँ; निधार शीतल भयो ।
तत्क्षण पछाडिबाट आवाज आयो, “बाबु ! त्यो रूख काट्न त ठेकेदारहरू भोलि आउँदै छन् नि ! बाटो फराकिलो बनाउनुपर्ने छ भनिरहेका छन् ।”
फर्केर हेर्दा हरिलाल हजुरबा मुस्कुराउँदै उभिइरहनुभएको थियो । हजुरबाको हातमा बन्चरोको बिँड थियो, तर बन्चरो थिएन । उहाँले धेरै पहिले नै बन्चरो बेचिसक्नुभएको थियो ।
“किन काट्ने हजुरबा ? यो रूखले त हामीलाई चिरन्तनदेखि शीतल छाया दियो, आमारूखको हामीले कति धेरै फल खायौँ ।”
हजुरबाले लामो सास तान्दै भन्नुभयो, “बाबु ! मान्छेले अहिले शीतल छाया र अमृतफलभन्दा पनि फराकिलो बाटोलाई माया गर्न थाले । बाटो जति धेरै फराकिलो हुन्छ, त्यति नै उनीहरूको छाती चौडा हुन्छ क्यारे ! मन गर्बिलो हुन्छ सायद ! विकास गर्यौँ भन्छन् । फराकिलो बाटो बनेपछि कलकल गर्दै अविरल बगिरहेको करादी खोला सुकेको कसैको आँखाले देखेन ।”
म चुप लागेँ र आँपको रूखलाई हेरिरहेँ । रूखको पात-पातमा शीतका थोपा झुन्डिइरहेका थिए । आँसुजस्तै थियो तप्केनी ।
त्यो रात म सुतेर पनि निदाउनै सकिनँ । चार्जर नभेटिएकोमा आमा अझैसम्म पनि गनगन गरिरहनुभएको थियो ।
मलाई अनाचारको असह्य पीडाले थिचिरहेको थियो । भोलि बिहानपश्चात् आमारूख रहने छैनन् । आमारूख मेरा लागि मात्रै शीतल छहारी थिइनन्, उराठ लाग्दा गाउँभरिका मानिस को नै पो गएनन् होला र आमारूखको छायामा ? कसको मुखमा परेन होला र आमारूखको अमृतफल ? आमारूखको बगिरहेको आँसुले मलाई साह्रै पोल्यो ।
बिहान सबेरै दौडिएर त्यहीँ पुगेँ । ट्र्याक्टर र मान्छेको भीड लागिसकेको थियो । ठेकेदारले नक्सा पल्टाउँदै चिच्याइरहेको थियो, “यहीँबाट बाटो विस्तार गर्ने हो । आँपको रूख त हटाउनैपर्छ ।”
मेरो ओठमा चिच्याउने आवाज थिएन । घाँटी सुकेको थियो । स्वर अवरुद्ध थियो । मेरो हातमा प्लेकार्ड थिएन । मैले लगाउने कुनै त्यस्तो गगनभेदी गर्जनसहितको नारा पनि थिएन । मेरो हातमा थियो त मैले भर्खरै टिपेको त्यही आमारूखको हरियो पात ।
म ठेकेदारको अगाडि उभिएँ । मेरो हातको हरियो पात उसको हातमा थमाइदिएँ ।
“दाइ ! यो लिनुस् ।”
“के हो यो ?”
“यही आँपको रूखको पत्र हो यो । यही आँपको रूखले मलाई लेखेको संवेदना हो यो । यही आँपको रूखको रोदन हो यो ।”
“के लेखेको छ यसमा ?”
“यसमा लेखिएको छ— म बाँचेँ भने तिमी पनि बाँच्नेछौ । म मरेपछि तिमीले हावा पनि पाउने छैनौ ।”
ठेकेदार खित्का छोडेर हाँस्यो, “बच्चा हौ ! नौटङ्की नदेखाऊ । बाटो छोडेर छेउ लाग ।”
म बाटो छोडेर छेउ लागिनँ । ट्र्याक्टरको अगाडि गएर चुपचाप पलेँटी कसेरै बसेँ । आँखा चिम्लेँ । सरर्र कानमा हावाले स्पर्श गर्यो । स्पर्शमा आमारूखले सुनाइरहेकी थिइन्, “डराइस् होइन छोरा ! प्रकृतिलाई पवित्र प्रेम गर्ने पुरुषले संसारलाई सजिलैसँग जित्न सक्छ । प्रकृतिसँग निहुँ खोज्दै रिसाएर होइन, प्रकृतिलाई प्रेम गर ।”
दस मिनेट बित्यो । बीस मिनेट बित्यो । ठेकेदारले ट्र्याक्टर स्टार्ट गरेन । गाउँले पनि चुपचाप उभिए ।
अन्त्यमा, हरिलाल हजुरबा अगाडि आउनुभयो । ठेकेदारको हातबाट नक्सा थ्वात्त थुतेर धर्यात्तै च्यातिदिनुभयो ।
“बाटो अर्कोतिरबाट लैजाऊ ठेकेदार बाबु ! आँपको रूखलाई जस्तो छ, उस्तै छोडिदेऊ । आँपको रूख हाम्रो गाउँको पहिचान पनि हो । यसलाई काटेर हामीले आफ्नै खुट्टामा बन्चरो हानिरहेका हुनेछौँ । बन्चरो त मैले बेचिसकेँ ।”
आँपको रूख उस्तै अवस्थामा उभिइरह्यो ।
त्यसदिनदेखि हामीले अर्को काम सुरु गर्यौँ । प्रत्येक शनिबार गाउँका बालबालिका भेला भएर आँपको रूखको फेदवरिपरिको फोहोर टिप्न थाल्यौँ । खोला र सडकको किनारमा असरल्ल मिल्किएका प्लास्टिक बटुल्यौँ । नाङ्गो पाखामा पर्यावरणअनुकूल फलफूल रोप्यौँ ।
हाम्रो पाखो-पखेरो बन्जर छैन । कागती, सुन्तला, अम्बा आदि अमृतफल हुन् । उत्तर दिशा फर्किएको पहाड हाम्रो उर्वर आय हो ।
आमाले सोध्नुभयो, “चार्जर नभेटिएको झोकमा रिसाएर हिँडेको त होइनस् नि ?”
म हाँसेँ, “आमा ! धुइँपत्ताल खोज्दा चार्जर नभेटिए पनि मैले मोबाइलभन्दा महत्त्वपूर्ण कुरा भेटेँ ।”
आज बिहान फेरि आमारूखको फेदमा बसिरहेको थिएँ । चराले मेरो काँधमा प्वाँख खसालेर भुरुरु उडेर गयो । अन्तर्हृदयले आभार व्यक्त गरिएको डायरीको पानाजस्तै कृतज्ञ अनुभूति भयो ।
मैले प्वाँख हातमा लिएर डायरीमा लेखेँ:
“प्रकृतिलाई प्रेम गरौँ । प्रेम अनुबन्धित एकाकार हो, जो निर्लिप्त अनुरागले सघन हुन्छ । प्रेम आत्माको ब्रह्म हो, जो आमारूखको छायातरु हुन्छ । प्रेम छायाछवि हो, जो ममत्वले मृदुल हुन्छ । प्रेम हृदयको आभा हो, जहाँ सघन उज्यालो हुन्छ । प्रेम परिणय हो, जो जोडी चखेवाजस्तै घनिष्ठ हुन्छ । प्रेम पग्लिइरहेको मैनजस्तै हृद् हुन्छ । प्रेम अम्लजन हो, जसले जीवनामृत दिन्छ ।”
घर फर्किँदै गर्दा बाटोमुनि खोलाको किनारमा चार्जर भेटेँ । पक्कै पनि कसैले फालिदिएको हुनुपर्छ । टिपेँ, तर प्लगमा चार्जर घुसाइनँ ।
मलाई थाहा भइसकेको थियो— साँचो ऊर्जा त मेरै अगाडि उभिइरहेकी आमारूखबाट आउँछ । त्यहाँ आँप हुन्छ । कहिलेकाहीँ टाकुरा र हिउँचुचुरातिर जान्छु; पैँयु, चुत्रो र चिराइतो अचुक औषधि हुन्छन् । पर नियाल्छु; हिमाल प्रतिविम्बित चमकदार ऐना हुन्छ । हृदयको आभा चलमल गर्छ । मन खुसीले मनोभिराम हुन्छ ।
आमारूखलाई नकाटौँ । हिमाल आरोहणको पदयात्रामा खुला शौच नगरौँ । नदी किनारका टिन, बट्टा र प्लास्टिक उठाऔँ । काँटी र पिन खुला नफालौँ । शव दहन गरेर बर्को-बरियो नदीमा नबगाऔँ । अबउप्रान्त नफाल्ने प्रण गरौँ । खोलाका ढुङ्गा किनारमा सजाऔँ । इन्द्रेणीमय सप्तरङले धरा सजाऔँ । आमाको तृप्तिले आशीर्वाद प्राप्त हुनेछ । महारतले प्राप्त शृङ्गार-सजावट हुन्छ । स्वच्छ पर्यावरणले मन-मस्तिष्क उर्वर हुन्छ ।
–०००–
करादी खोला, स्याङ्जा


