लघुकथा: नयाँ जन्म
साँझको धमिलोमा चौतारीको कुनाबाट एउटा छाया जुर्मुरायो, “आज पनि रित्तै ?”
श्रमिकले आफ्ना फुस्रा र ठेला उठेका हत्केला फैलाउँदै भन्यो, “रित्तै कहाँ छु र ? यी हेर, सहरका अग्ला महल ठड्याउँदा सजिएका पसिनाका डोबहरू!”
छाया व्यङ्ग्य गर्दै नजिक आयो, “तर तिम्रो आफ्नै झोला त खाली छ, छानो अझै चुहिन्छ रे नि ?”
“हो,” उसले सुस्केरा हाल्यो, “महल बनाउनेका छोराछोरी भोकै सुत्ने सहरको रीत नै यही हो ।”
छाया ओझेल पर्नै लाग्दा फेरि सोध्यो, “कहिलेसम्म अरूकै लागि रगत–पसिना साट्छौ त ?”
उसका आँखामा एउटा दृढ चमक देखियो । उसले शान्त तर ओजिलो स्वरमा भन्यो, “जुन दिन यी इँटा बोक्ने काँधले इँटा टिप्न होइन, अन्यायका भित्ता भत्काउन सिक्नेछन्, सम्झिनू, त्यही दिन मेरो वास्तविक नयाँ जन्म हुनेछ ।”


