कवि: भूमिका गैरे तिमिल्सिना
ऊ मौन थियो,
निरीह पनि ।
उसको विवशतालाई
नगण्य ठाने, बेवास्ता गरे ।
गरिबीले हो या आवश्यकताले,
तर विडम्बना !
गरगहना खोजीखोजी फुकाएर लगे ।
उसलाई कसैले चिनेनन्,
केही थाहा नभएजसरी अनजान बने,
मानवता हरायो ।
ऊ सहिरह्यो,
अनेक हन्डर खाएर
परिस्थितिसँग लडिरह्यो ।
उसको सहनशीलताको
निष्कर्ष निकाले—
उसलाई कुनै पीडा नै छैन,
र त शान्त छ !
उसले प्रश्न गरेन,
सवाल–जवाफ थिएन,
कुनै ताली बजाएन,
सङ्केत पनि गरेन,
न विरोध गर्यो,
न प्रतिकार नै ।
उसले क्षणभरमै हजार प्रश्न जन्मायो,
गुमनाम भयो;
तर उत्तर दिनेहरूले बुझ्न सकेनन्,
बहिरा भए,
आफूलाई नै सर्वोपरि माने ।
ऊ चुप थियो,
इशारा गरेन,
न सिकायत गर्यो ।
उसको चुप्पीभित्र
एउटा संसार हरबखत बोलिरह्यो;
तर कसैले सुनेनन्,
वास्ता गरेनन् ।
उसले कुनै पत्र लेखेन,
सन्देश पठाएन,
गुनासो पनि गरेन,
शान्त थियो;
तर उसको स्तब्धता
हजार शब्दभन्दा गहिरो थियो,
तीव्र वेगको छालजस्तै ।
उसले आफ्नो पीडा
पानीसँग घोलेर पियो,
आँसुहरू छालसँगै बगे,
धुमिल आस निराशामा परिणत भयो ।
ऊ बगर अनि रूखमा गएर थन्कियो,
पार्थिव शरीर बनेर ।
ऊ आवाजविहीन थियो,
परिस्थितिका अगाडि निरुपाय ।
उसको मौनता खुला आकाशमुनि कैद भयो,
थियो त केवल
कालो बादलभित्र मडारिएको मौसम,
जुन उसको ओठमा थियो;
तर कसैले बुझ्न सकेनन्
अनि देखेनन् पनि ।
ऊ नबोलेरै धेरै बोलिरह्यो,
तर कसैले सोध्यो,
“तिमी किन बोल्दैनौ ?”
ऊ फिस्स हाँस्यो,
मौनता साध्यो ।
सायद ! उसलाई थाहा थियो—
जसलाई शब्दले बुझाउन सकिँदैन,
उसको अव्यक्तताले पूरै कथा भनिरह्यो ।
ऊ बोल्दैनथ्यो,
तर उसको मौनताले
अनगिन्ती कथा सुनाउँथ्यो ।
ओठमा चुप्पी थियो,
आँखामा अगणित संवाद,
अनुहार शान्त थियो,
तर मनभित्र—
उर्लँदो समुद्रको गहिरो छाल ।
मान्छेहरू उसको मौनतालाई
कमजोरी मान्थे,
उसको मुस्कानलाई
सन्तुष्टि ठान्थे,
ध्यान दिँदैनथे ।
कसैले बुझेन उसको मुस्कानभित्रको पीडा !
उसको मुस्कानले अपरिमित शब्द भनिरह्यो,
ऊ नबोलेरै धेरै बोलिरह्यो ।
ऊ लाचार थियो, विवश उस्तै,
पर्खिरह्यो कोही त आउलान्,
आफन्त होलान्, खोज्लान् ।
स्तब्ध आँखाभरि उर्लँदा
भावनाहरूको अगणित चित्कार
सलबलाइरह्यो ।
कसैले सुनेनन्,
ऊ आवाज गरिरह्यो,
केवल बाँच्नका लागि सङ्घर्ष गरिरह्यो
अन्तिम साससम्म ।
मान्छे न हो, थकित भयो,
अचेत भयो अनि विलीन भयो
सधैँसधैँका लागि
यो भौतिक संसारबाट ।
कोही सेताम्मे छन्,
कोही हिलाम्मे छन्,
कोही अझै छन् भूगर्भमा,
माटोमुनि दबिएका
अनगिन्ती रहस्यहरू
अझै मौन छन् ।
उसलाई आस हुँदो हो—
जीवनको अन्तिम बिदाइमा
सम्मान पाउने ।
बिचरो ! भन्दो हो,
“एक थुङ्गा फूल मेरो भागमा पनि पर्ला ।”
श्रद्धाञ्जलिको आस गर्दो हो;
तर अफसोस,
कहिल्यै पूरा नहुने गरी दबिएका छन्—
कोही खोँचमा, कोही बगरमा,
त कोही सुरुङमा ।
पहिचान छैन,
सम्पर्क छैन,
कोही दाबेदार भएन ।
अन्ततोगत्वा फरक परिवेश,
फरक बाटो,
फरक पहिचान,
फरक समुदाय,
फरक भूगोल,
फरक संस्कृति;
तर अन्तिम बिदाइ अनि अनुभूति उस्तै—
सबैको यात्रा मौनताको,
नाम रहने भयो युगौँसम्म परिचयसहितको,
“एक चिहान, केवल एक चिहान ।”


