कवि: रेखा श्रेष्ठ
कति मलाई झुक्न भन्छौ,
कति मलाई सम्झौता गर्न भन्छौ !
थाकिसकेँ म अब,
तिम्रो कुरामा तिमीलाई खुसी बनाउन ।
माफ गर मलाई,
रित्तिसकेँ म अब—
आफ्नो आत्मसम्मान झुकाई,
दुनियाँले के भन्ला भनी
सधैँ आफू मरेर सक्दिनँ अरूलाई बचाउन ।
कति पटक आफूलाई हराऊँ ?
सक्दिनँ म अब
तिम्रो कुरामा तिमीलाई खुसी बनाउन ।
अरूको खुसीका नाममा सधैँ
हार्न लगायौ मलाई,
चोट लुकाई मुस्कानभित्र
धेरै आँसु पिउने बनायौ मलाई ।
सधैँ मौन बस भनी आज्ञाकारी बनायौ,
सक्दिनँ म अब
आवाजविहीन भई
आफ्ना घाउहरू लुकाई हिँड्न,
सक्दिनँ म अब
तिम्रो कुरामा तिमीलाई खुसी बनाउन ।
सबैलाई खुसी पार्न खोज्दा
आफूलाई नै बिर्सिएछु,
तिम्रो मनको आकाशमा
उज्यालो खोज्दाखोज्दै
अन्धकारमा हराएछु ।
अब आफ्नै आँखामा
आफूलाई दोषी बनाउने छैन ।
सम्बन्ध जोगाउने चाहना हो मेरो,
तर आफूलाई गुमाएर होइन;
माया र सद्भाव बाँड्न चाहन्छु,
तर आफ्नो आत्मसम्मान कुल्चेर होइन ।
अब मेरो ‘सहमति’मा
मेरो मनको स्वीकारोक्ति हुनेछ,
मेरो ‘असहमति’मा पनि
मेरो अस्तित्वको अधिकार हुनेछ ।
कठोर भएकी होइन म,
आफूलाई बुझ्न थालेकी हुँ ।
सधैँ म झुकेकी छु
केवल माया र सत्यका अगाडि ।
त्यसैले
अरूको खुसीका लागि मात्र होइन,
आफ्नो शान्तिका लागि पनि
बाँच्न देऊ मलाई,
बाँच्न देऊ मलाई ।।


