कवि: रेबी बज्राचार्य
नेपालको स्वर गुञ्जियोस् हिमालपारि,
तराईदेखि पहाडसम्म एउटै पुकार—
हामी आफैँ बदलिऔँ, उठाऔँ नयाँ जिम्मेवारी,
त्यसपछि मात्रै उज्यालो हुन्छ देशको संसार ।
वृद्ध आमाका भिजेका ती आँखाहरू,
सन्तानको पर्खाइमा अझै पनि टोलाइरहेछन्,
रित्तो आँगन, सुनसान घरका भित्ताहरू,
चुपचाप पीडाका कथा बोलाइरहेछन् ।
सपना बोकेर उडाइएका ती युवाहरू,
ऋण तिर्न विदेशिने बाध्यतामा बाँधिएका,
कति फर्किए चिहानको मौन यात्रामा—
बाकसमै सीमित जिन्दगीका अधुरा गीतहरू ।
सुनसान बन्दैछ माटो, बिरानो गाउँघर,
विकास अझै खोज्दैछ पौरखी हातहरू,
तर हिमालको शिर र तराईको पसिनाले
बोल्दैछन्—“हामी उठ्नेछौँ फेरि,
लेख्नेछौँ नयाँ इतिहासका पानाहरू ।”
कुनै गरिबको अधिकार अब नखोसियोस्,
कुनै छोरीले आँसु बगाउनु नपरोस्,
दीन–दुःखीका आँखामा पलाएको त्यो सानो आशा
एकदिन ठूलो उज्यालोमा रूपान्तरित होस् ।
बगिरहेका छन् खोलाहरू आफ्नै लयमा,
डाँफे, मुनाल र लालीगुराँस साक्षी छन्,
पर्खिरहेका छन् उनीहरू उज्यालो बिहानी—
जहाँ नेपाल आफ्नै पहिचानमा जागिउठ्छ ।
एकै स्वरमा आज गुञ्जिएको छ यो प्रतिज्ञा—
न त केवल सपना, न त केवल कल्पना,
हाम्रो श्रम, हाम्रो साहस र हाम्रो एकतामा
नेपाल बन्छ—समृद्ध, उज्ज्वल र स्वाभिमानी राष्ट्र ।


