हिजोआज
मेरो जीवन एकनासको हिउँदे नदीजस्तै बगेको छ। न त वर्षातको जस्तो वेग छ, न त छाल छ, न त किनारालाई नाघेर हिँड्न सक्ने आँट छ । बस एकोहोरो एउटै गतिमा एक्लै एक्लै अनवरत एउटै लयमा हिँडेको छ यो जीवन । एक्लै यसरी हिँडिरहँदा न त आफैसँग कुनै दुखेसो छ, न त कसैप्रति गुनासो छ । जे छन् सम्झनाहरू छन्, जुन अति मिठासपूर्ण छन्, बाँकी जीवन काट्नका लागि पर्याप्त छन् विगतका स्वर्णिम समय ।
मेरो सधैँको जसो उही जीवन देखेर नजिकका साथीहरू मप्रति गुनासो भने प्राय जसो गर्छन् ‘होइन सागर ! कति काम मात्र गरिराख्छौ ? दशदेखि चार त स्कुलकै काममा बिजी हुन्छौ । कोठामा पनि धुमधुम्ती एक्लै नचाहिँदा कामहरू गरी बस्छौ । जुन आवश्यक नै थिएन । बिदाको समय पारेर यसो घर गए पनि त अलि फ्रेस हुन्थ्यौ । आमाबुबाको मुहारमा पनि त घाम लाग्थ्यो तर माने पो हाम्रो कुरा ।’ यस्तै चिन्ता अझ बाबुआमा गर्नुहुन्छ मेरोलागि । घरको कान्छो छोरा भएर पनि होला उहाँहरूको लागि म चिन्ताकै पात्र बनेको । सबै दाजुहरू र दिदीहरूको समयमै व्यवहार छिनेर ढुक्कले बस्नु भएको उहाँहरूलाई मेरो चिन्ता लाग्नु पनि स्वाभाविक हो । सकेसम्म उहाँहरूलाई खुसी दिनका लागि आफूले मास्टरी जागिर गरेर काठमाडौँ खाई बसी गरेर बचेको तलब थोरै भए पनि पठाएकै हुन्छु । तर, उहाँहरू यसलाई झन् समस्याको रूपमा पो हेर्नुहुन्छ । सायद बिहे गरेर घर व्यवहार सम्हाल्नको लागि उल्टै उहाँहरूसँग, ‘लौन बुबा के गरेर गर्जो टार्ने होला’ भनेको भए खुसी हुनुहुन्थ्यो होला । बाबुआमा त आखिर आफ्ना सन्तानलाई सानै देख्छन् । आफ्ना हात खुट्टा चलुन्जेल सन्तानका लागि केही गरूँ भन्ने भावना, इच्छा त सबै अभिभावकमा हुन्छ । यहाँ अभिभावकको मर्म नबुझ्ने त सन्तान नै हुन्छन् । म मेरा आमाबुबालगायत परिवारका लागि चिन्ताको विषय बन्नुको कारण चाहिँ बिहे गरेर परिवार बढाउने समय पुग्दा पनि अहिलेसम्म अविवाहित रहनु हो ।
एक किसिमले म सकेसम्म आफूलाई जतिसक्दो व्यस्त राख्ने कामकै लागि कामको खोजी गर्न थालेको पनि निकै वर्ष भयो । दिनभरि स्कुलका काममा समय बिते पनि बिहान र बेलुकाको समय बिताउनलाई म आफ्नो क्षमताले गर्न सक्ने कामको खोजीमा भौँतारिइरहन्छु । हातमा आफूले गर्न सक्ने काम आए जति अरूको भागमा पर्न नै दिन्नँ । मलाई जसरी पनि समयको सुइँसँगै घुमिरहनु छ, एकनासले विश्राम नै नगरी । कामकै नाममा आफूबाट आफै बेखबर हुनु छ ।
आज पनि चिनजानका माध्यमबाट एउटा स्मारिका सम्पादनको कामको जिम्मा लिएर आएको छु । बाहिरको चिसो मौसममा हिउँजस्तै मन पनि जमेकै छ सदाझैँ । जाडो महिनाको बिदा दिएको छ स्कुलले । घर जान पनि सक्थेँ तर सधैँ परिवारको एउटै कुरा अनि मबाट उही वर्षौँदेखि भनिँदै आएका जवाफ । उफ ! कति दिक्क लाग्दो । कति पट्यार लाग्दो, खेलौना मेसिनबाट निस्किएका एकैनासका आवाज जस्ता । त्यसैले पनि बहाना गतिलो पाएको छु । उहाँहरूलाई अनि आफैलाई छल्न यो पल्टको हिउँदे बिदाको लागि ।
प्रायः होटलमै खाने बानीले शरीरमा प्रतिकूल असर गरे पनि, आज पनि होटलमै खाना खाएर बसेँ आफ्नो काममा, उहीँ स्मारिकाका पानाहरू पल्टाउन । कसकसका लेखहरू रहेछन् त भनेर जान्ने इच्छा यति तीव्र रूपमा दौडिएको थियो कि खाना पनि खानकै लागि, बाध्यताका लागि खाएर आएको जस्तै भएको छ । एक त आफू साहित्यको विद्यार्थी, त्यसमाथि विद्यालयमा पनि नेपाली विषय नै पढाउँछु । अनि अर्को कारण म आफैँ कुनै समयमा साहित्य सिर्जना पनि गर्थेँ भने अहिले आएर म आफूलाई राम्रो पाठक हुँ भन्न रुचाउँछु । सबै समयको खेल त रहेछ नि । समयको त हामी गोटी मात्र । समयको नचाइ अनुसार हामी आफूलाई प्रस्तुत गरिरहेका हुन्छौँ अनेक रूपमा । बडो विचित्रको छ समय, समयसँग मितेरी गाँस्न नसकेकाहरूले जीवनबाटै हात धोएका पनि छन् । तर, यस्तो समय कोही कसैको लागि नआओस् ।
स्मारिकाको पाना पल्टाएपिच्छे लेखकका नाम अनि चिनिएको नाम आइपुग्दा उसको परिचय दिमागमा ठोकिँदै छन् । यसैक्रममा धेरै वर्षपछि आज तिम्रो लेख पनि आफ्नै हातमा परेको छ । मनभरि खुसीका छालहरू उर्लिरहेका छन् । मुटु जोडले धड्किन थालेको छ । मनका साथै तनमा अनौठो रक्तसञ्चार भएको छ । तिमीसँगको साथमा हुँदाभन्दा अलग फोटो भएकोले सायद यो तिम्रो पछिल्लो पटकको फोटो हुन सक्छ । कति प्रिय, कति मिठो सौगात बनेको छ अहिले यो । तिमीलाई हेर्नु, सुन्नु मेरो नियमित कार्य त तिमीले वर्षौँ पहिले छुटाएकी थियौ । तर, आज तिमी स्वयम् मेरो अगाडी आएर साथ मागिरहेको आभाष भइरहेको छ । सागरलाई भेट्न नदी आएजस्तै, सागरमा नदी मिसिएर एकै रूप भएजस्तै, तिम्रो आत्मपरक लेख र फोटो मभित्र समाहित भएका छन् यति बेला । तिम्रो अझ यो लेख आत्मपरक भएकोले यतिका वर्षसम्म अज्ञात रहेको म, धेरथोर तिम्रा बारेमा जान्ने मौका जुरेको छ । एकै स्वासले पढेँ, तिम्रा भावना, विचार, जीवन चिन्तन , मबाट अलग्गिएपछिको तिम्रो जीवन गाथा बुझ्न । दोहोराएर पढेँ, फेरि दोहोराएँ….फेरि दोहोराएँ हरेक शब्दको मर्म बुझ्न । तिमीलाई पाएको आभास भएको छ । मेरो लागि कल्पनाभन्दा बाहिरको भएर होला, अलौकिक लागेको छ यो समय अहिले ।
तिम्रो कविता पहिलो पटक मैले राष्ट्रिय पत्रिकामा पढेको थिएँ । कवित्व शक्ति यति थियो कि, यो मनलाई बाध्य बनाएको थियो, पटक पटक पढ्न । कवितामा प्रेम अनि जीवन चिन्तनको ओजिलो, गहन प्रस्तुति थियो । सायद मेरो उमेर त्यस्तै भएर होला, प्रेम विषयले नै कताकता काउकुती लगाउँथ्यो यो मनलाई । तर ? यहाँ उमेरको मात्र दोष पनि थिएन, तिम्रो रचना नै अद्भूत थियो । यहीं कविता त्यहीँ दिन फेसबुकमा मेरो साथीले सेयर गरेको रहेछ । कवितामा धेरै कमेन्ट र लाइक देखेपछि आँखा तानिए । पढेपछि थाहा भयो, बिहान धित पुग्ने गरी पढाएको, मनलाई एक किसिमको आनन्दानुभूति गराएको कविता पो रहेछ । त्यसपछि पो बल्ल तिम्रो नाम र को रहिछौ भन्ने खोजी भयो । अनि डुल्न थालेँ ईश्वरा के.सी.को सुन्दर प्रोफाइलको संसारमा । बिहान कविताका शब्द ख्याल गरेको म हुस्सुले नाम त त्यति याद नै गरेको रहेनछु । कविताजस्तै अति मिठो नाम ईश्वरा के.सी । नामजस्तै प्रोफाइल फोटो त्यत्तिकै सुन्दर । फोटो अपलोड त गरेकी रहिनछ्यौ । कार्यक्रममा सहभागी भएका केही फोटा मात्र फेला पारेँ, त्यो पनि ट्याग भएका । त्यसपछि तिम्रा कविता, लेख, रचनातिर मनलाई दौडाउन थालेँ, द्रुत गतिमा । लगभग तिम्रो फेसबुक संसारसँग परिचित भएँ । अनि त्यत्तिकै हतार पनि गरेँ रिक्वेस्ट पठाउन । तिम्रो उमेर समूहकाले प्राय फोटो अपलोड गरिरहेको भेटेको मैले तिमीले चाहिँ नराख्दा अझ विशेष चासो बढ्न थाल्यो । आफ्नै केटी साथीहरूलाई सम्झेँ, जो म नै उनीहरूको रोजाइँको क्यामेरा म्यान बन्थेँ । उनीहरूको मन जित्न सफल भएको फोटो अपलोड गर्थे र भन्थे पनि – फोटो क्रेडिट सागर ।
रिक्वेस्ट पठाएपछि प्रतीक्षा रह्यो तिम्रो एसेप्टको । कसैले यति धेरै मन तानेर, भर्चुअल संसारमा साथी बनाउन मन डोरिएको यो पहिलो पटक थियो । फेसबुक खोलेका सुरुवाती दिनमा कौतुहलता, जिज्ञासा, रमाइलोको लागि जानेर या नजानेर रिक्वेस्ट सेन्ड गर्नु, एसेप्ट गर्नु, मन नपरे अनफ्रेन्ड गर्नु, त्यस्तै परे ब्लक गर्नु र अरूबाट भइनु त धेरै नै हुन्थ्यो । तर, पछिल्लो समय धेरै सचेत भएसकेको म, व्यक्ति हेरेर मात्र रिक्वेस्ट पठाउने र एसेप्ट गर्ने गर्थेँ । अझ रिक्वेस्ट अति कमै पठाउँथेँ । प्रतीक्षा रहने थिएन कसैको एसेप्टको । तर, तिम्रो प्रतीक्षा विशेष रह्यो, अनलाइन भएपिच्छे आँखाले खोजिरह्यो एसेप्ट्ड शब्द । जति समय ढल्दै जान्थ्यो, उति मन व्यग्र हुन्थ्यो । यहाँनेर अझ पुरुष अहमले भूमिका खेल्थ्यो । फेसबुक नचलाएको पनि हुन सक्छ नि भनेर चित्त बुझाउँथेँ । प्रोफाइल चेक गर्थेँ । पछिल्लो समय अपडेट भएको पाइनँ । तिमीले मेरो अनुरोध स्वीकार्न पर्छ भन्ने पनि थिएन । तर, समयसँगै झिनो आशा भने रहिरह्यो । कलिलो घामले धर्तीैमा उज्यालोको लाली पोते जस्तै मेरो फेसबुकको नोटिफिकेसनमा करिब दुई हप्तापछि तिम्रो आगमनले उज्यालो छाएको थियो । एसेप्टेड नोटिफिकेसनसँगै कति पनि अबेर नगरी हाइ ! गुड मर्निङ ! भनिहालेँ ।
उताबाट केही रिप्लाइ आएन । मन हतार भयो झन च्याट गर्न । हरियो बत्ती अनलाइनको सूचक त देखापरेकै थियो । तर, मेसेज सिन भएन । अनि लागेँ, फेरि प्रोफाइलसँग साक्षात्कार हुन । पहिले सायद हामी साथी नभएर होला तिम्रो वालमा भएका सामग्री सबै देखाएको रहेनछ । त्यसैले तिम्रो बारेमा राम्रोसँग जानकारी पाएको रहेनछु । एउटा पोस्टबाट तिमीले छोरीलाई बर्थ डे विस गरेका केही तस्बिरहरू देखेँ । मन अलि खल्लो भयो । यसमा खल्लो मान्नु पर्ने त केही थिएन । तर, मन छिनमै के भयो, पत्तै पाइनँ ।
नमस्कार सर !
उताबाट निकै बेरपछि रिप्लाइ आयो । मन भारी भए पनि कुरा गर्न चाहिँ हतारिए औंला, किबोर्ड चलाउन ।
सम्बोधन के गरूँ भनेर अलमलिए एकछिन् । लिन त नाम नै मन थियो, आफूलाई ईश्वरा शब्द अति प्रिय, अति पवित्र लागेको जो थियो । तर, सम्बोधन बेगर नै बातचितको कार्य जारी राखेँ ।
आराम हनुहुन्छ नि ?
आराम छु सर ।
तिम्रो जवाफमा सुरुदेखि नै सर शब्दको सम्बोधन आएपछि म्याम भन्न कर लाग्यो । मैले किन अनकनाइरहेछु म्याम भन्न, अचम्म लाग्दै थियो आफैदेखि नै । परिचयात्मक कुराकानीमा भन्नु पर्ने त म्याम नै थियो, या त ईश्वराजी भन्न पनि त सकिन्थ्यो । यसो गर्न मनले दिएन । तर, भन्नै पर्ने भयो कुरा अगाडि बढाउन ।
म्याम कता बस्नुहुन्छ ?
जवाफ आएन । कति हतार गरेँ, यो प्रश्न सोध्न लाग्यो । कहाँ बस्नुहुन्छ भन्ने कुरा त प्रोफाइलबाट थाहा पाइसकेको हुँ नि–फ्रम काठमाडौँ । काठमाडौँको पनि कहाँ अब भन्ने कुरा हो । यो जान्नु आवश्यक पनि थिएन । तर, सोधिहालेँ । जवाफ नआएपछि बित्थामा सोधेँ लाग्यो । आराम छु सर भनेपछि तपाईलाई नि ? भन्ने प्रश्न सोध्न सकिन्थ्यो नि । त्यो पनि सोधिएन । मन कटक्क भयो । अब त बोल्ती नै बन्द भयो । त्यही पनि आशा जागिरह्यो । कतै रिप्लाइ आइहाल्छ कि भन्ने । दुई हप्ता बित्यो । कस्तो भाउ खाने पो रहिछ लाग्यो । राम्रो लेखक भएकै कारणले हुन सक्छ । तर संवाद हुने छाटकाट नदेखेपछि तिम्रा प्रकाशित कृतिका बारेमा खोजी गर्न थालेँ । प्रोफाइलबाट तिम्रो कथासङ्ग्रह र कवितासङ्ग्रह प्रकाशित भएको जानकारी पाएँ । किनेर ल्याएपछि आफ्नो कामले फुर्सद पाउने बित्तिकै तीन चार बसाइँको पढाइमा नै पढी सिध्याएँ । कृति पढेँपछि झन् बोल्ने उत्कट इच्छा पलायो । कविता, कथाकै बारेमा सोध्न मन लाग्यो । कथाका पात्रका बारेमा चित्त नबुझेको कुरा सोध्न मन लाग्यो । मनलाई रोक्न सकिनँ र सोधेँ ।
‘म्याम नमस्कार !’
तिमीबाट पनि तत्काल रिप्लाइ आयो, ‘नमस्कार सर !’ त्यसपछि मेरो संवादले प्रवेश पाएको थियो, तिम्रो मेसेन्जरको मार्गमा । सुरुवाती दिनहरूमा औपचारिकताले सजिएको हाम्रो संवादको यात्राले पछि अनौपचारिकताको बलियो पक्की मार्ग बनाउन सफल भएको थियो । यसैक्रममा थाहा भएको थियो कि तिम्री सात वर्षकी छोरी रहेको, श्रीमान्सँग चार वर्षअगाडि सम्बन्ध बिच्छेद भएको रहेछ । कारण कहिले पनि सोधिनँ । तिमीले भनिनौ पनि । तिमीलाई जति बुझ्दै गएँ, उति नै मनमा चाहिँ तिमी जस्तो पवित्र आत्मालाई छोडेर जान सक्ने कस्तो मूर्ख मानिस रहेछ भन्ने कुराले यो मनलाई घेर्न थाल्यो । तिमी प्रेमकी प्रतिमूर्ति थियौ । हामी बिच प्रेमका कुरा खासै नभए पनि तिमीले समस्त जीवन जगत् प्रति देखाउने दया, माया, करुणाको सागरमा म पौडिरहेको थिएँ । सायद यहीँ कारणले तिमी अरूभन्दा बिल्कुल अलग लाग्यो । यहीँ अन्य भन्दा अलगपनले मेरो मनलाई हिउँदको घामले मान्छेलाई डोराएजस्तै मलाई तिमीसँग बोल्ने माध्यम च्याटले डोराइरहेको थियो तिमीसम्म पुग्न । हुन त म तिमीसँग आफूलाई फुर्सद हुने बित्तिकै कुरा गर्न खोज्थेँ । तर, तिम्रो आफ्नै नियम थिए च्याट गर्नमा पनि । तिमी अफिसबाट आएपछि बेलुकाको खाना बनाउनुअघि एकछिन बोल्थ्यौ । हाम्रो च्याटका विषयमा विशेषतः साहित्य, दर्शन, समाज र समासामयिक घटनाले स्थान पाउँथे । म कहिलेकाही प्रेमका प्रसङ्गलाई जोड्थेँ । तिमी खुलेर प्रेमलाई ईश्वरीय सत्तासँग जोड्थ्यौ । तिम्रो यो भनाइ म तिम्रो जीवनसँग तुलना गर्थेँ । हाँसो पनि लाग्थ्यो । जसको जीवनलाई श्रीमानको मायाले सिँङ्गार्न सकेको छैन, उहीबाट यस्तो कुरा ! कति विरोधाभास जीवन बाँचिरहेकी छौ तिमी लाग्थ्यो । हुन त श्रीमानको माया पाउनु मात्र पनि त प्रेमको परिभाषा होइन । कता कता टिठ लाग्न थाल्यो तिमीलाई देखेर । तर, अर्को मनले टिठ होइन तिमीप्रतिको मेरो माया हो भन्थ्यो । टिठ लाग्नु त दया गर्नु हो, म दया होइन माया गर्दै गइरहेको थिएँ तिमीलाई । तिमीबाट पनि त्यस्तै प्रतिफलको अपेक्षा गर्न थालेँ । सायद गर्न नहुने थियो मैले । तर, मन त आखिर मन रहेछ । प्रेम त प्रेम रहेछ । प्रेम गर्छु भनेर गरिने होइन रहेछ । यो त आफै हुने रहेछ । राम्रो कवि भएकै कारणले तिमीसँग जोडिन खोज्नु मेरो सुरुवाती कदम अवश्य थियो । तिम्रो वास्तविक जीवन थाहै नपाइ राम्री लाग्नु, मान्नु आकर्षण थियो । तर, तिमीसँग नै प्रेम गर्न खोज्नु पक्कै सामान्य कुरा थिएन । मेरो मनलाई कुनै तत्वले अह्राइरहेको थियो कि ‘तँ ईश्वरालाई माया गर् !’
हो ! यही मनको आवाजले भनेपछि तिमीलाई बेप्रवाह प्रेम गर्न थालेँ । तिमीलाई प्रेम गर्न थालेपछि आफ्ना बाबुआमा परिवारलाई नसम्झेको होइन मैले । सन्तानप्रति बाबुआमाको इच्छा, चाहाना , जिम्मेवारी नबुझेको पनि होइन र मैले मेरो कर्तव्य भुलेको पनि होइन । तर, मनलाई जसरी बुझाउँदा पनि बुझाउन नसकेपछि, प्रेमको बिउ तिम्रो मनमा उमार्न खोजेँ र भन्न चाहेँ । डर धेरै थियो । कतै तिमीले अस्वीकार गर्यौँ भने, कतै मसँग बोल्न छोड्यौ भने । हुन त हाम्रो भेट भएकै थिएन, भौतिक रूपमा । न त फोनमा कुरा नै भएको थियो । नदेखीकन, आवाज नसुनीकन प्रेम गर्न पुग्नु, कस्तो खालको प्रेम हो, जुन म तिमीलाई र तिम्रा सिर्जनालाई गर्दै थिएँ । मेरो तिमीप्रतिको लगाव जस्तै तिमीबाट पनि मप्रति उस्तै लगाव होस् भन्ने चाहान्थेँ । माया दुवैतर्फबाट होओेस् भन्ने मेरो स्वार्थी मन त्यतिबेला छताछुल्ल भएर तिमीसामु पोखिन चाहान्थ्यो । तर, आँट गर्न नै सकेन चिनजान भएको र प्रेमको मुना पलाएको निकै समयसम्म पनि ।
तिम्रो कुरा गर्ने शैली, ममाथि देखाएको आत्मीयपन, मेरो परिवारप्रति देखाएको चासो, मेरो व्यक्तिगत र दैनिकी जीवनका बारेमा राखेको सोधखोजका कारण, दुई तिन दिन च्याट नहुँदा मसँग कुरा गर्नको लागि देखाएको व्यग्रताका आधारमा तिम्रो मनमा पनि मप्रति माया छ भन्ने विश्वास पलाउँदै थियो । हुन त मबाट पनि यी सबै व्यवहार तिम्रा लागि हुन्थे । हामीले शब्दमा एकअर्कालाई प्रेम गर्छौँ नभने पनि महसुस भने मैले जस्तै पक्कै तिमीले गरेकी थियौ भन्ने कुरामा म पूर्णतः विश्वस्त थिएँ । यसै क्रममा हामीले मोबाइल नं. पनि साट्यौँ । अब हाम्रो कुराले आवाजको रूप लिन थालेको थियो । तिम्रो आवाज कविता वाचनका भिडियोमा सुनेको त थिएँ । जति वाचनमा तिम्रो आवाज श्रुतिमधुर लागेको थियो, उति मिठासपन फोनमा कुरा हुँदा लाग्यो । हाम्रो कुरा अब दुवैको अनुकूल समय पारेर हुन थालेको थियो । हामी दुवैले एकअर्काका मन बिसाउने भावनाको चौतारी पाएका थियौँ । त्यसैले एक दिन तिमीलाई निकै ठुलो साहस निकालेर लामो मेसेज गरेर प्रेम प्रस्ताव राखेँ, लाज, डर, सङ्कोच, उत्सुकतासहित ।
तिमीले भोलिपल्ट बिहान मेसेज हेरेको प्रमाण सिन भनेर मेसेन्जरमा देखा पर्यो । तर, तिम्रो कुनै जवाफ आएन । लाग्यो बिजी छौ । समय लाग्ला जवाफ दिन । तिम्रो मेसेज त्यो दिनभरि त के भोरिपल्ट पनि आएन । मन वेचैन भयो । मैले निरन्तर तिमीलाई केही त बोल भनेँ । तर, तिमीले मेसेज नै हेरिनौ । फोन गरेँ, त्यो पनि उठाइनौ । म एकै चोटि शिखरबाट खोँचमा पुगेको अनुभव गर्न थालेँ । मैले भनेँ अनुकूल हुनुपर्छ भन्ने पुरुष अहम्ले होइन । तिम्रो मन दुखाएँ, तिम्रो जिन्दगीभर छोरीको लागि एक्लै बस्ने र पुरुषप्रेमको साहारामा जीवन नबिताउने सङ्कल्प थाहा पाउँदापाउँदै पनि किन प्रेम प्रस्ताव राखेँ ? यहीँ कुराले म टुटिरहेको थिएँ । त्यो समय मलाई झन तिम्रो माया लाग्यो । मनले भन्थ्यो, तिमीलाई जसरी पनि अहिले भेटूँ र आफ्नो मनको कुरा राखूँ । सकेसम्म तिमीलाई मेरो प्रेमको उज्यालो तिम्रो र छोरीको जीवनमा छर्ने कुरा बुझाउन सकूँ लाग्यो । नसके पनि तिमी मलाई प्रेमको नजरले नहेर तर मलाई प्रेम गर्ने हक नखोस भन्न मन लागेको थियो । तर, मेरा प्रयासहरू निरर्थक बन्दै थिएँ । मेसेन्जरमा, मोबाइलमा मेरा क्षमा याचनाका अनुनयहरू भरिँदै गएका थिएँ ।
तिम्रो मन यति कठोर पनि छ भन्ने कुरा मैले त्यतिबेला मात्र बुझ्न सकेँ । मैले प्रेम गरेको थिएँ, जुन तिमीले नै ईश्वरको रूप मानेकी थियौ । फेरि यो म माथी कस्तो व्यवहार गर्दै थियौ तिमी ? जुन व्यवहारले म, म नै नरहेको आभास हुँदै थियो । तिमीले सिधै यस्ता कुरा नगर्नुस् भनेको भए, म सम्हालिनँ सक्थेँ । मभित्र रहेको आन्तरिक द्वन्द्व मेटाउनको लागि मैले जसरी पनि तिमीसँग बोल्नै पथ्र्यो । त्यसैले अन्तिम पटकको लागि भनेर मेसेज गरेपछि फोन गरेँ । मैले अन्तिम पटक भनेपछि सायद दया लागेर होला तिमीले फोन उठायौ ।
फोनमा सन्चो बिसन्चोको कुरा भएपछि, तिमीले नै मेरो आवाजको हेक्का गरिछ्यौ । हत्त न पत्त आत्तिएको स्वरमा ‘सन्चो छैन हो तपाईलाई ?’ तिमीले बोल्न छोडेपछि सन्चो त म कुनै पनि पल थिइनँ । ‘ठिक छु ।’ सकेसम्म आफू सहज भएर कुरा गरेँ । कुन्नि के मन लागेर हो, तिमीले भोलि अफिस छुटेपछि भेट्ने कुरा गर्यौ र फोन राख्यौ ।
जीवनमा बाह्र वटै सूर्य एकै पटक उदाए जस्तै भयो, भेट्छु भन्ने शब्दले । कति फरक पर्दो रहेछ, माया गरेको व्यक्तिले भेट्छु भन्दा । मेरो खुसीको कुनै सीमा नै थिएन । मेरो तिमीसँगको पहिलो भेट ! यो कुराले नै मनलाई काउकुती लगाएको थियो । जति रोमाञ्चित थिएँ, उत्तिकै मात्रामा डर पनि थियो । कारण तिमीले हिजोआज मप्रति देखाएको अपत्यारिलो व्यवहार ।
चिनजान भएको तिन वर्षपछि हामी बानेश्वरको क्याफेमा भेटियौँ । हामी दुवैको मनमा मेरै कुराले चिमोटिरहेको थियो एकअर्कालाई । आँखामा एकअर्काप्रति कौतुहलता थियो । तर, त्यो कौतुहलताले शब्दलाई अपनाउन सकेनँ । दुवै अलमल्ल परेका थियौँ । पर्पल कलरको साडीमा सजिएकी, बाटुलो अनुहारमा दुई ठुला आँखा, कापेको अधर, इन्द्रधनुष दुई आँखीभौँका बिचमा रात्रीकालमा टल्किने तारा जस्तै टीकाले तिम्रो मुहारलाई दिव्य बनाएको थियो । छोडेको लामो कपालले तिम्रो रूपलाई अद्धितीय बनाइएिको थियो । मन चाहान्थ्यो बस् तिमीलाई एकनासले हेरिरहुँ। तिमीलाई हेरेर नै बाँकी जीवन काट्न पाएँ, म जतिको भाग्यमानी को हुन सक्थ्यो होला र ! वातावरणलाई सहज बनाउन मैले हिजो कलमा भएको संवाद नै दोहोर्याए । आँखा सजल बनाउँदै सन्चो रहेको कुरा गर्यौ । बल्ल शान्तिको सास फेरेँ । केही त बोल्यौ । तर, आँशु भरिएका आँखा । जुन मलाई मान्य थिएन । पहिलो भेटमा मुस्कानको दीप प्रज्वलित हुनुपर्ने थियो । हुन त भेट जुनसुकैको होस्, मेरो कारणले तिम्रो आँखामा आँसुको पोखरी बनाउन त म चाहदिनँ थिएँ । मन कटक्क भयो, सम्हालिनँ सकिनँ । कसो कसो तिम्रो हात समाउँदै बोल्न खोजेको थिएँ कि, ‘मलाई माफ गर ।’ तिमीले असहज मान्दै हत्त न पत्त हात छुटायौ र आँखा क्याफेको चारैतिर डुलाउन थाल्यौ । म झन नासमझ भए । मात्र मैले फेरि तिम्रो मन दुखाउन पुगे लाग्यो । त्यसपछि तिमी भर्खर बोली फुटेको बालकले बोले जसरी पुटुपुटु बोल्न थाल्यौ ।
‘यो कस्तो प्रेम हो ? जो तपाई मलाई गर्छु भन्नुहुन्छ ?’
‘किन र ? मैले गर्न नहुने प्रेम गरेँ र !’
‘मलाई राम्रोसँग चिन्नु भएको रहेनछ । चिन्नुभएको भए यो प्रेमको कुरा नै उठ्दैन थियो ।’
‘राम्ररी चिनेर बुझेर नै प्रेम गरेको हुँ र प्रस्ताव राखेको हुँ ।’
‘के तपाईले आफूलाई बुझ्नुभएको छ ?’
‘मैले आफूलाई नबुझ्ने कुरा हुन्छ र !’
‘बुझ्नुभएको भए, एउटा अविवाहित पुरुषले आफूभन्दा उमेरले पाकी, डिभोर्सी र साथमा सात वर्षकी छोरी भएकी नारीलाई प्रेम गर्ने आँट नै गर्दैनथ्यो ।’
‘के मेरो प्रेमलाई यी सब कुराले सीमा कोरिदिन्छ । कोसँग गर्न हुन्छ, कोसँग गर्न हुँदैन भनेर ।’
‘भावनामा नकोरिएला तर व्यवहारमा कोरिन्छ । अनि तपाईको परिवार, जो तपाईलाई लिएर कति धेरै सपना बुनिरहेको छ । सुनौलो भविष्य देखिरहेको छ । आमाबाबाका आँखामा सुन्दर कल्पनाको संसार नाचिरहेको छ । के तपाईको जिम्मेवारी र कर्तव्य होइन । जुन छोरा भएर पूरा गर्नु पर्ने ।’
‘तपाई हुनुहुन्छ त । हामी सबैको सपना पूरा गर्ने ।’
‘तपाई भावनामा बहकिनु भएको छ अहिले । जब, जीवनको वास्तविक धरातलमा टेक्नु हुन्छ, नि त्यति बेला मप्रतिको प्रेम सबै उत्रिन्छ ।’
‘यतिका समयसँग बोलेर पनि मेरो प्रेममा विश्वास रहेनछ तपाईलाई । यो मेरो लागि अफसोसको कुरा हो । मैले मेरो प्रेमलाई बुझाउन नसक्नु मेरो कमजोरी होला । तर, मेरो आत्माले स्वीकारेको प्रेम हो । बिन्ती छ, प्रेम होइन नभन्नुहोला । यो पहिलो भेट अनि मैले मेरो जीवन बुझेँपछि गरेको प्रेमलाई बुझिदिनुहोस् । छोरी तपाईकी मात्र होइन, उनी मेरी पनि हुन् । हाम्री छोरी भएर रहनेछिन् ।’
‘मैले तपाईलाई प्रेम गर्छु, भनेकी छु र ! तपाई म र मेरी छोरीप्रति प्रेम देखाउनुहुन्छ । कृपया अबदेखि प्रेमको कुरा नगर्नुहोस् । यस्तो प्रेमको ढोका मैले आजभन्दा सात वर्ष अगाडि नै बन्द गरिसकेकी छु । जुन कहिल्यै खुल्दैन अब ।’
त्यो दिन मेरो प्रेमको अनुनय विनयले तिम्रो मन अलिकति पनि रसाउन सकेन । आँखामा मेरो लागि प्रेमको भाव पढेको हुँ । त्यो भ्रम थिएन । यही कुरा बुझाउन खोजे तर, असफल भएँ । तिम्रो मनमा पुरुष व्यवहारले यति साह्रो नराम्ररी घात गरेको कुरा म अनुमान मात्र लगाउन सक्थेँ । त्यहीँ अर्को नाम गरेको पुरुषको मायालाई पनि तिमीले विश्वास गर्न सकिनौ, स्वीकार्न सकिनौ । आफ्नो जीवनलाई प्रेमको बारीमा फुलाउन नै चाहिनौ । छोरीलाई बुबा चाहिने कुरा गर्दा, तिमी झन् सिंहिनी भएर गर्जेकी थियौ । अन्त्यमा तिमीले अब कहिल्यै कुनै पनि माध्यमबाट बोल्ने छैनौँ भन्यौ । मलाई धेरै कुराले सम्झायौ । हाम्रो अहिलेसम्मको सम्बन्धलाई जोगाउनकै लागि पनि हामी अब बोल्दैनौ भनेर सहमती हुन लगायौ । सम्बन्ध तीतो नबनाऔँ भन्यौ । ‘मानिसको जीवन हो । कुन बेला के हुन्छ, केही थाहा हुँदैन । बिन्ती छ साथीकै रूपमा सही, हामी बोल्न सक्छौँ नि’ भन्दा पनि तिमीले मानिनौ । अन्ततः तिम्रै कुरामा सहमती जनाउँदै हस्, हुन्छ भन्न म बाध्य भएको थिएँ, मनलाई मार्दै ।
मेरो प्रेम दोहारो यात्रा सुरु गर्न नपाई अन्त्य भएको थियो । तिमीप्रतिको अलौकिक एकोहारो मायामा डुबिरहेको म त्यहाँबाट तैरिन नै मन लागेन । हाम्रो भेटपछि तिमीले मलाई मोबाइल, फेसबुक, भाइबर सबैतिरबाट ब्लक गरेकी थियौ । मेरो मुटु एकै चोटि फुटेको काँच जस्तै हजार टुक्रा भएको थियो । मुटुमा गहिरो चोट परे पनि तिमीलाई आफ्नो सामुन्ने देख्न पाएकोमा बढ्ता खुसी भएँ, ती आँखामा कही न कही मप्रति प्रेम छ भन्ने कुरा पढ्न पाएर खुसी भएँ । भावनामा बहकिँदा तिम्रो हातमा अन्जानमै स्पर्श गर्न पुग्दा, तिमीले सङ्कोच माने पनि पछि त्यो पल मलाई प्रिय लाग्यो । तिमीसँग तिन वर्षसम्म बोलेका समय प्रिय लागे । तिमीसँग जोडिएका हरेक कुरा प्रिय लागे । तर, यो मनले पनि त्यो दिनदेखि तिमीलाई भौतिक रूपमा कही कतै नखोज्ने सङ्कल्प गर्यो । त्यसै दिनदेखि मैले लेख्न पनि बन्द गरेँ । यो निर्णय मैले लिन हुने थियो या थिएन, यसको जिम्मा समयलाई नै दिएँ । सिर्जनाबाट जोडिएका हामी, अन्ततः मैले सिर्जना नै गर्न नसक्ने व्यक्तिमा उभ्याएँ आफूलाई । तिमीबाट छुटेपछि आफैसँग भाग्न खोजेँ पनि तिमीप्रतिको मेरो प्रेमले सधैँ मलाई पछ्याइरह्यो ।
आज निकै समयपछि तिम्रो लेखमार्फत् तिमीलाई पढ्न पाउँदा मनले नयाँ ऊर्जा पाएको छ । आफ्नो जीवन, बाबाआमा, घर परिवारलाई रहरले सम्झन लागेको छु । आजका दिनसम्म कतै तिमी ‘सागर म तपाईभित्र मिसिन चाहान्छु’ भन्दै आउँछ्यौ कि भन्ने झिनो आशामा वर्तमान बिताइरहेको थिएँ । यदि आइनौ भने पनि तिमी जस्तै एक्लै जीवन रहेसम्म भविष्य गुजार्नेछु भन्ने अठोटमा थिएँ । आज तिम्रो लेखले मलाई मेरो कर्तव्य, जिम्मेवारीलाई बोध गराएको छ । तिम्रो प्रेम नपाएर निस्सासिए लागेको थियो । तर, तिमीले भने जस्तै प्रेम त मेरो आत्मामा ईश्वरीय रूप लिएर बसेको रहेछ । प्रेमलाई आफैभित्र बन्धक बनाएर निस्सासिएको रहेछु ।
आमालाई फोन गरेर म भन्न थाल्छु ……..आमा म भोलि नै घर आउँदै छु ।