बिरक्तिँदै वीणा बोलिन् –
“ठूली आमाजूको सवारी हुँदैछ अरे !
उहाँहरूलाई ‘साउनमा आँखा फुटेको गोरु सधैँ हरियो’ भनेझैँ छ । पोखरादेखि आएको मान्छे हप्ता – दस दिन बस्ने नै होला ।” रमेशले औँठी फुकाल्दै भने – “त्यहीँ दिदीले काँध थापेर हामीले खुट्टा टेकेका हौँ । छोरालाई अमेरिका नजा देशमै केही गर्न त भन्दा पटक्कै टेरेन । यो धमिरैधमिरा भएको देशमा कुनै भविष्य नै छैन भन्यो । नत्र हामीले यो दुर्दिन देख्नु पर्दैनथ्यो । ल यही स्वयंवरको औँठी छ, त्यही बेचेर खानेकुरा ल्याऊ ।” वीणा चर्किइन् – “मान्छेहरूले आफ्नै बा-आमाको त्याग, तपस्या त बिर्सिन्छन् । यहाँ भने चौबीसै घण्टा दिदीकै बखान हुन्छ । अस्तित्व बिना की म पो को हुँ ! म बाँच्नुको के सार ?” रमेश मौन भए । केही बेरमै रमा भित्र पसिन् । दुवैलाई अङ्कमाल गरेर आँसु झार्दै बोलिन् – “हिजो काकाको छोराले तिमीहरूको कुरा खुस्काएपछि रातभरि निद्रा नै लागेन । त्यसैले हान्निँदै आएँ ।” रमेशले अनकनाउँदै भने – “यो हजुरले नै सिकाएको पाठ त हो नि ! म त सेठकी बुहारी हु्ँ भन्नुहुन्थ्यो । बुबाआमा हुँदा उहाँहरूलाई सधैँ मक्ख पार्नुहुन्थ्यो । हजुरले आफ्नै गाँस काटेर, रातभरि कपडा सिलाएर सहयोग गरेको कुरा हामीलाई कहिल्यैँ भन्नुभयो ? हजुरको छिमेकीले यथार्थ ओकल्दा पो हामी चित खायौँ । यस्ती देवीलाई कति मात्र पीडा दिनु भनेर …।” “भैगो लाटा, त्यो कुरा छोड । बाबुआमा र हामी छ दिदीबहिनीको ओठमा हाँसो दिने तिमी हाम्रो मुटुको टुक्रा नै हौ । लिऊ एटिएमकार्ड, कोडनम्बर त्यही छ । बीस-बाइस लाख कति छ । चाहिएजति खर्च गर ।” आमाजूको त्याग, आफ्नो दरिद्र सोच सम्झेर वीणा रन्थनिइन । दिदीभाइकै आँखाबाट भने हर्षका आँसु बगिरहेको थियो ।
= संकलन: तारा के. सी
प्रतिक्रिया
हाम्रो कथा घर डट कममा तपाईँलाई हार्दिक स्वागत छ । लेख रचना र साहित्यिक सामाग्री प्रकाशनका लागि hamrokathaghar@gmail.com मा पत्राचार गर्नुहोला । श्रोत खुलाइएका बाहेक यहाँ प्रकाशित सामाग्रीको प्रतिलिपि अधिकार हाम्रो कथा घरमा निहित रहेकोले हाम्रो अनुमति विना नक्कल उतार्न, पुनरुत्पादन, प्रसारण तथा पुन प्रकाशन गर्न नपाइने ब्यहोरा जानकारी गराइन्छ ।