“साहुजी !
मेरो छोरी बिमार छिन् कृपया मलाई ऋण स्वरूप पाँच हजार रूपियाँ दिनुहोस, मेरो तलबबाट चुक्ता गरूँला ।”
सेरूले साहु मुरलीधर सँग बिन्ती गर्यो।
“हेर सेरू मसँग एउटा फुटेको कौडी छैन यो वेला तँलाई कसरी दिउँ ?
अरू यता सुन त काम नसकि नजानु नी।”
मुरलिधरले सहयोग दिनुको सट्टा उल्टै रोक्यो।
“तर साहुजी मेरो छोरीको भविष्य दाउँमा छ । उनलाई एक सय चार जरो छ अँस्ति देखि पैसा नभएर सदरमुकाम ठुलो अस्पतालमा लैजान सकेका छैनौँ । कृपया मलाई सके त थोरै रूपियाँ ऋण दिनु, नसके मलाई नरोक्नु दुई दिनको बिदा दिनुहोस्।”
सेरूले फेरि दुबै हात जोड्यो।
“तिन दिनबाट नमरेकी तेरी छोरी आजै मर्छे । काम नसक्दै तँलाई म छुट्टी दिंदै दिन्नँ । काम सकेर जा अनि भोलि कामको बेला आइपुग नी । नत्र काममा नआएपनि हुन्छ बुझिस्।”
मुरलीधरले आफ्नो अडान छाडेन।
उता सेरू अत्यन्तै चिन्तित् थियो। पाँच वर्षकी छोरी बिमार भएकाले कहाँ लिएर जाऊँ भन्ने चिन्ता थियो। साहुले पैसा दिन पनि मानेन।
ऊ आगनीमा व्याकुल अवस्थामा उभिएको थियो साहु मुरलिधर कुर्सीमा बिराजमान थिए।
साहुजी नमस्ते!
प्रदिप टुप्लुक्क आइ पुग्यो।
सेरू ! अर्को कुर्सी ले त भित्रबाट।
साहुले आदेश गर्यो।
सेरूले कुर्सी दियो।
“सर म बस्न लाग्दैन यो दश हजार रु. राख्नुस अरू पछि हिसाब गरौँला।”
प्रदिपले दश हजार रूपियाँ मुरलीधरलाई थमायो र फर्कियो।
सेरू मनैमन खुसी भयो।
“साहुसँग रूपियाँ आयो अब मेरो छोरीको उपचार हुन्छ।”
उसले मनैमन सोंच्यो।
“साहुजी अब मलाई मेरो तलब दिनुहोस हजुर सँग रूपियाँ आयो।”
ऊ फेरी हात जोडेर मुरलीधरको अगाडि उभियो।
“सेरू यो पैसा अर्कै कामको लागि हो। अहिले मसँग एक रूपियाँ पनि तँलाई दिने पैसा छैन।”
मुरलिधर फेरिपनि नाट्यो।
सेरूको सहनशीलताको बाँध टुट्यो । उसले मुरलीधरको हात पुरुक्कै निमठ्यो र सबै पैसा खोस्यो घरमा अरू कोही पनि थिएनन्।
“सेरू फटाफट घर गयो र छोरीलाई अस्पताल लग्यो भर्ना गर्यो।”
अलिबेरमा प्रहरी लिएर मुरलिधर पुग्यो।
“सर ! सेरूले मसँग एक आखर छोरी बिमार छ भनेको भए म आफै अस्पताल पुराइदिन्थे तर यो डाँकाले मलाई मार्नै खोज्यो । यसलाई छोड्नु हुँदैन।”
मुरलीधरले छाती चौडा गराउँदै भन्यो।
उता सेरूले प्रहरीलाई मोबाइलमा रेकर्ड गरेको सुनाउँन थाल्यो।
दाङ घोराही १८