हरिश कल्पितको ‘ग्याब्रियले’ सुन्दर कथासङ्ग्रह
– कुमार काफ्ले
भनिन्छ, मानव जीवनसम्बद्ध घटनामा आधारित स्वतन्त्र शिल्प विधिविधान मा आवद्ध कथा साहित्यको स्वयंपूर्ण र अखण्ड विधा हो । यसको विषयविस्तार जीवनजगतको कुनै एक घटना, विचार, परिस्थिति अथवा भावनासम्म सीमित हुन्छ ।
सधैं हसमुख, चुलबुले स्वभाव भएका रसिक कथाकार हरिश कल्पितको २०५७ सालमै ‘आस्था’ कथासङ्ग्रह प्रकाशित भइसकेको रहेछ । २० वर्षपछि प्रकाशित ‘ग्याब्रियले’ (२०७७) मा १३ थान प्रेमिल कथा छन् । मैले भने २०८१ सालमा पढ्ने अवसर पाएँ ।
उनका कथामा नेपाल र जापानका शहरिया जनजीवनमा घट्ने घटनाहरू, प्रेमसम्बन्ध, मिलन र विछोडका कहानीहरू पाइन्छन् । हुन पनि मानव जीवन, प्रकृति, प्रेम र समाज नै कथा श्रृङखला त हो । कथाकार हरिश कल्पित आफ्ना कथामा मानवीय समस्याको चित्रण, सुधारको सङ्केत र सन्देश दिन्छन् । यिनका कथामा समसामयिक पारिवारिक, सामाजिक र मानवीय मूल्य मान्यतामा देखिएका विकृति विरुद्ध शङ्खघोष गरिएको पाइन्छ ।
पहिलो कथा ‘मोहभङ्ग’
एउटा पारिवारिक कथा हो जसमा बालविवाह गरेर भित्रिएकी लक्ष्मी, उनको श्रीमान गोपाल र देवर देउरानीबिचको कलह छ । त्यो किसान परिवारकी मियो सुवेदार्नी आमाको देहावसानपछि ससानो निहुँमा कलह शुरु हुन्छ । निसन्तान लक्ष्मी र गोपालले घर त्याग्न लागेको कारुणिक दुःखान्त छ कथामा ।
दोस्रो कथा ‘बिहे’ स्वास्थ्य चेतना जगाउने नैतिक कथा हो । दिदीबहिनी असिमा र अमिनाको मधुर सम्बन्ध, ईर्ष्या आदिबाट शुरु र विकसित हुँदै गएको कथानक बहिनी अमिनाको जीवनसाथी जो खाइलाग्दो र आकर्षक व्यक्ति थियोे; उसलाई एड्स भएको छ । बेलैमा होस नपुर्याउँदा दम्पतीलाई नै एड्स लाग्छ । एड्स पीडितलाई पनि मायाको खाँचो छ र बिहे गर्नुअघि धनसम्पत्ति होइन स्वास्थ्यावस्था हेर्नुपर्छ भन्ने सन्देश दिएको छ कथाले । ५० को दशकमा लेखिएको भएर होला यस कथामा एचआईभी पोजिटिभ नभनेर सिधै एड्स भनिएको छ ।
‘पुष्पलता’ र ‘भ्रमजाल’ फिल्मी शैलीका प्रेमकथाले भरिएका छन् । प्रेम एउटासँग बिहे अर्कैसँग भएको छ दुवै कथामा । कथामा ट्वीष्ट ल्याउन खप्पिस छन् हरिश । कथामा लुसुक्क प्रेम छिराउनु उनको विशेषता जस्तै लाग्छ ।
‘उहाँहरू आउनुभो मम्मी ?’ कथामा द्वन्द्वमा हुन लागेको जीवनसाथी गुमाएकी गृष्माको अमर प्रेमकथा छ । पति छउञ्जेल परिवारका सबैले माया गर्ने र दुर्घटनामा (जुनसुकै कारणले) पति गुमाउँदा एकल महिलालाई हेर्ने दृष्टिकोण र गर्ने फरक व्यवहारले ग्रसित समाजको मनोविज्ञान छ कथामा ।
‘मोहजाल’ मा जीवन दर्शन छ । पुस्तौनी सम्बन्ध देखाइएको छ । विदेशिएका सन्तान छन्, तिनले अनेक हण्डर खाएपछि स्वदेश फर्किन्छन् । माया, मोह, वियोग र पारिवारिक सम्बन्धको मार्मिक कहानी छ ।
सङ्ग्रहको शीर्षकथा ‘ग्याब्रियले’ फरक भूगोल र संस्कारका थोमस अनि मिकाबिचको प्रेमकहानीको दु:खद अन्त्य भएको सशक्त र सुन्दर कथा हो ।
‘मेरी प्यारी छोरी’ मा छोराछोरीबिच गरिने विभेद गर्भैदेखि शुरु हुने पिछडिएको समाजको चित्रण छ । गर्भमा छोरी भएको थाहा पाएर एवोर्सन गर्न खोज्ने आमा र शिक्षित बाउको संवाद, पूर्वदिप्ती आदिले कथा मार्मिक बनेको छ ।
त्रिपक्षीय प्रेमसम्बन्धको कहानी हो ‘बधाई छ देवयानी।’ आफूले मन पराएकी देवयानी आर्यनसँग र देवयानीको साथी सर्बानीसँग गर्नुपर्ने बिहेको प्रस्तावले कथा रोमाञ्चक बनेको छ ।
‘कृष्ण सर’ आफ्नै विद्यार्थीको दिदीसँगको आत्मीय सम्बन्ध, उनैसँग बिहे र क्यान्सरजस्तो भयानक रोगले थलिएका कृष्ण सरको कहानी हो । कृष्ण सर निम्नवर्गको प्रतिनिधित्व गर्छन् भने सुशीला उच्च घरानाकी छोरी हुन् । प्रेमको कुनै सिमा हुन्न भनेर पुष्ट्याइ गरेको छ यो कथाले ।
‘अनिमा’ विवेक र अनिमाको अजम्बरी प्रेमकहानी हो । विवेक दुर्घटनामा पर्छ, मर्छ । सुन्दर संसार भताभुङ्ग हुन्छ, अनिमालाई परिवारले अपहेलना गर्छन् । सानो छोरोसँगै माइतीघर फर्किन्छिन् । सुशान्तले प्रेमप्रस्ताव राख्छ । उनी विवेकको तस्वीर हेर्दै रुन्छिन्, नाबालक छोरो सुभाषले बालसुलभ प्रश्न गर्छ आमालाई । मर्मस्पर्शी कथा छ ।
केईको सेनसेई’ मूलतः जापानी संस्कार र संस्कृतिको कहानी हो ।
अन्तिम कथा ‘एडमको प्रेम’ जापानको पृष्ठभूमिमा रचित एडम र एलेक्सबिचको समलिङ्गी प्रेमकथा हो । जापान समलिङ्गी प्रेममा अनुदार रहेको र आफ्नो प्रेम सफल पार्न जापान छोड्दै गरेको एडमको मार्मिक कथा छ ।
हरिश कल्पित जीवन र समस्त जगतमा प्रेम देख्छन् । हरेक कथामा प्रेम प्रसङ्ग जोडिएका छन् तर ती अश्लील छैनन् । उनका कथामा ट्वीष्ट भेटिन्छ । कथालाई क्लाइमेक्समा पुर्याएर पाठकलाई तीव्र संवेग उत्पन्न गराउने उनको आफ्नै शैली छ । उनका कथाले तीव्र संवेदना उत्पन्न गराइ पाठकको मन, हृदय र बुद्धिलाई झङ्कृत बनाउँछ । बिम्ब र प्रतीकको प्रयोगमा केही कञ्जुस्याईं गरेको देखिए तापनि हरिश कल्पितका कथाहरू प्रभाव र प्रस्तुतिका हिसाबले अब्बल रहेका छन् । मलाई ग्याब्रियले नेपाली र जापानी मन जोड्ने सुन्दर कथाहरूको पठनीय सङ्ग्रह लाग्यो ।
= ‘हरीश कल्पित’का दुवै कथा सङ्ग्रह ( आस्था – ग्याब्रियले ) भित्र संग्रहित कथाहरू ‘हाम्रो कथा घर’को YouTube च्यानलमा पनि सुन्न सकिन्छ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।