माथि-माथि उड्दै जाऊ ए चंगा भाइ
के छ खबर साेधि आऊ जून तारालाई ।
त्यहाँ पनि हाम्राे जस्ताे घर छ कि छैन
झिलिमिली रमाइलो शहर छ कि छैन
पशुपति ,बुद्ध , चैत्य ,गुम्बा छ कि छैन
खराब मान्छे बाँध्ने जंजीर छ कि छैन ।।
सबै कुरा बुझी आऊ ए चंगा भाइ
हाम्राे पनि नमस्कार छ जून- तारालाई ।
हाम्राे घर आँगनीमा ,राति- राति आउने
हेर्दा – हेर्दै आकाशमा तिनै तारा छाउने
कति राम्राे हुन्थ्यो हाेला मैले छुन पाए
एकै ठाउँ एकै आँगन हामी हुन पाए ।।
भेटी आऊ तारापुञ्ज सबै – सबैलाई
हाम्राे पनि सम्झना छ ए चंगा भाइ!
– तारा के. सी [ काभ्रे पनाैती ।]


