बेखबर
अभिभावकहरूका
छातीबाट निस्किएका
ब्यथाका सुस्केरासँगै
देशको भविष्य बोकेर आएका
कलिला मनहरूमा
चेतनाको राँको बालिरहेको म
कथित सभ्य शहरमा बसेर
सगरमाथा भन्दा अग्ला
अहम् गर्ने ढोँगीहरूलाई
आफ्नो कर्तव्यको रङ्गले
रङ उडेका चित्र झैँ बनाउन
र
देशको समृद्धि कोर्ने
सृष्टिका कलिला हातहरूमा
गुराँसको जस्तो लालिमा भर्न
सिकाइरहेको म
समाजको
साँघुरो आँखाले नदेख्ने
रहरका कोपिलाहरूका
मुस्कान भित्रका
रहस्यहरू खोजेर
आकाशको जस्तै सग्लो तृष्णा पु-याइदिन
आफू प्वाँख काटिएको पन्छी बन्दा पनि
बिजुली झैँ चम्कन
र
नदीहरू झैँ लम्कन प्रेरित गरिरहेको म
जब
म आफैंले
दिएको ज्ञानले
आँखाले सत्य देख्न सक्ने बनेपछि
मेरै चेलाहरूबाट अपमानित बन्छु र भनिन्छु
“खैँराती मास्टर ”
प्रश्न उठ्छ
मनमनै
मेरै चेलाले मलाई दिएको यो उपमा
मैलाई हो
वा
ती स्वतन्त्रताको मिठास चखाउने
माधुर्य सुवासका झङ्कारहरूलाई ?
मेरो
गल्ती यत्ति हो
रित्तै आएको तिमीलाई
-जिजीविषाको मसाल बाल्न सिकाउनु
-खहरेका बगरहरूसँग आफू जुधेर
शीतल समीरको स्नेह चखाउनु
– अश्लील नजरवाणहरूलाई रोकेर
खुल्ला आकाशमा नाच्न सिकाउनु !
के
यही गल्तीको बदला
तिमीले
मलाई दिएका हौ
यो उपमा “खैराँती मास्टर “?
वा
ती आफ्ना आभाले अँध्यारो छोपेर
तिमीलाई चाँदमा पु-याउने किरणका मञ्जरीहरूलाई ?
वा
ती जिब्रो निकालेर मनमनै
तिम्रो आहारको स्वाद लिइरहेका
अजिङ्गरहरूबाट जोगाउने
जीवनका रक्षा कवचहरूलाई ?
जतिसुकै जोख न
शब्दहरूमा
म आफ्नो कर्तव्यबाट
कहिल्यै विमुख हुन्न
किनकि
शब्दका अभावले
कदापि आफ्नो सुवास
थुनेर राख्दैनन् फूलहरु !!!
‘शिक्षक’
श्री भगवती मा वि सन्धिखर्क – २ कुर, शंखेटारी, अर्घाखाँची