‘बा’ले पसिना बेचेर
खुसीका थोपा किन्नु भयो ।
म त्यही थोपा खाएर आजसम्म बाँचिरहेको छु ।
‘बा’को काधमा बसेर
म मेरा कलिला औंलाले
परको क्षितिज देखाउँदै भन्थे
बा – पर पहाड र आकाश ठोकिएछ ।
‘बा’ले भन्नु भयो
तिमीले पनि जिन्दगीको लामो बाटो हिँडेपछि
एक दिन तिमी उभिएको धरती र आकाश जस्तै
मसँग छुट्टिनु पर्छ ।
मेरा आवश्यकता पुरा गर्न
‘बा’कहिल्यै हिच्किचाउनु भएन ।
रित्तो गोजी हुँदा
छिमेकीसँग सापट मागेर
मेरा खुसीका फूल फुलाइदिनुभयो ।
साँच्चै भन्ने हो भने
मलाई यो धर्तीमा विश्वास गरेर
मेरा ‘बा’ले जति ऋण
अरु कसैले दिनु भएन
‘बा’ले आज सम्म
साउले जसरी
साँवा र ब्याज कहिल्यै
जोड्नु भएको छैन ।
म सोच्ने गर्छु
यो ब्रह्माण्डमा
आमा भएर बा नहुने हो भने
घर भएर छानो नहुने हो भने
पृथ्वी भएर सूर्यको प्रकाश नहुने हो भने
सोचौं त यो संसार कस्तो हुने थियो ?


