विक्षिप्तताका,
ती दुब्ला रातहरूका क्यानभासमा पनि
खोइ किन हो ?
यो मनको स्वेत कलमले,
हरपल तिम्रै चित्र कोरिरहन्छ
पलपल तिम्रै यादको आगोमा,
पुतलीझैँ किन जल्छ हँ यो मन ?
किन मृगतृष्णाझैँ भ्रमित हुँदै,
दौडिरहेछु म तिम्रै प्रतिच्छायापछिपछि,
एक अँजुली प्रेमिल प्यासको लागि ?
किन ऐँठन गरी ब्युँझाउँछ हँ मलाई ?
स्वर्णरूपी सपनामा,
दिगम्बर भई तिमीसँग अँगालिएको पल ।
कति सुन्दर हुन्थे होलान् ती अतीतका उद्यानहरू ?
जहाँ चुम्बनले,
सम्भोग गरेका फूलहरू फुल्दा हुन्
के अर्थ रहन्थे र ती फूलहरूका
जहाँ भमराहरू पागल भई नडुल्दा हुन्
हो, त्यही दिन बिर्सिएको हूँ,
मैले आफूबाट आफू हुन
जुन दिन तिमी पोखिएका थियौ,
मेरै कोखमा उन्मादको छाल बनी
हो, त्यही दिनदेखि अग्लिएको हूँ म
तिम्रो प्रेमको उचाइँ छुन
तर अफसोच !
किन रङ्गिएनन् अझै पनि,
ती स्वेत चर्किएका मेरा मनका भित्ताहरू ?
किन लिपिएनन् अझै पनि ?
कमेरोले मेरा आस्थाका ती कुर्कुच्चाहरू ?
किन ब्युँझिन्छन् हँ ?
सिसाझैँ चर्किएका मिर्मिरे
अनायासै ती गुलाफका बिछ्यौनाहरूबाट ?
हो, उम्रेका हुन् त्यही दिनदेखि प्रेमका सुनाखरी
जुन दिन तिमीले रोपेका थियौ,
मेरा यी आँखामा एक मुठी स्वेत मुस्कान
तर अफसोच !
ती सुनखरी अझै भ्रभित छन्
मृगतृष्णालाई पानी सम्झेर ।
तर अफसोच !
ती सुनखरी अझै भ्रभित छन्
मृगतृष्णालाई पानी सम्झेर ।


