आगोको भुँग्रोबाट जन्मिएँ
पानीका छालहरूले कुटिइरहेँ
काँडाका झाडीहरूमा कुदिरहेछु
टोक्नेहरूले टोकिरहेछन्
ठोक्नेहरूले ठोकिरहेछन्
जति सम्हाल्न खोजेँ कसैलाई
त्यति लछार पछार र प्रहारमा फसिरहेछु
हेर्छु आफैँलाई
रूप हो कि कुरूप हो थाहा छैन
यो सँसार सँभाल्ने जिम्मा लिएर आएको हुँ
रूप बदल्नैपर्छ तिम्रो र यो सँसारको
मलाई अहिले
न निदाउँन् फुर्सद छ
न सुस्ताउँन फ़ुर्सद छ
सँसारको मुहार फेर्न
मेरो यो जीवनले मात्र काम गरेर पुग्दैन
एउटा मुटु मात्र चलेरपनि पुग्दैन
दुई हात हल्लाएर मात्र अझै केही हुनेवाला छैन
पीडाका पहाडहरू
अन्यौलका नदीहरू
असमझका बतासहरू
अभावका तलाउहरू
कुरूप बनाउँन खोजिरहेछन्
म तिनीहरूलाई अँगभँग बनाउँछु
सुन्दर कोलाजका लय भर्छु
आगो निचोरेर
कम्पन ल्याउँन खोज्दैछु
बिष पचाएर
अमृत ओकल्न खोज्दैछु
अबरोधका पर्खाल उठाउनेहरूलाई
गलाउनेछु नून छरेको जुका जसरी
म कुनै टाउको मात्र होइन
कुनै खुट्टा मात्र पनि होइन
कुनै छाति, पिँठ्यौँ र कम्मर मात्र पनि होइन
म एउटै गुजुल्टो हुँ रेखाहरुको
एउटै सतह हुँ समुद्रको
एउटै बहाव हुँ प्रवल नदीको
म माटो चपाउँछु र प्राण जन्माउँछु
ढुँगा, तिखो धार र परमाणुबाट आगो उमार्छु
तिमीले मलाई
एक देखेपनि हुन्छ
अनेक देखेपनि हुन्छ


