“लु जा ! बल्ल भाउ भेटे, बज्याहरूले !´´
ठूलै युद्ध जितेको हाउभाउमा उनी बोलिन् ।
श्रीमान् उनलाई हेरेर हाँस्न थाले ।
उनी झन थप्न थालिन्,
“कम्ता उपद्रो गरेका थिए त ? छोराछोरीको नयाँ लुगा, नयाँ किताब बिगारेर उधुम मच्चाउने हरूलाई उपचार गरेरै छाडियो ।”
श्रीमानले खित्का छाड्दै भने,
“हाम्रा घरमा मात्र हो र ? जहाजमा पसेर उडान स्थगित गर्ने, उडिरहेका जहाजलाई आकस्मिक अवतरण गर्न बाध्य पार्ने यी उपद्रियाहरू पो हुन् त !”
उनी अलि गम्भीर भइन् र भनिन्,
उता पाकिस्तानको संसद भवनमा छिरेर पोहोर निकै आतङ्क मच्चाएका थिए रे !
उनी एक्कासी कराए,
“एउटा जेमराज यहाँ नै आएर ढल्यो । ऊ अर्को पनि !”
उनले चिन्ता व्यक्त गरिन्,
“बिष परेर भटाभट मर्न थालेका यी सिनोलाई अब कता पो थन्क्याउनु ?”
उनी जुरुक्क उठे र भने,
“कोदालो झिक त ! बारीको एक ठाउँमा पुर्नु पर्छ नत्र रोग फैलाउन यी झन माहिर छन् नि !”
शत्रु नाश गरेकोले उनी दङ्ग परिन् । श्रीमान भने एकोहोरो भए । विषले असर गरेको हो कि ? भनेर उनी आत्तिदै घच्घच्याउन थालिन् ।
बौरिएझैँ गरेर उनले भने,
“घरका चारखुट्टे, अज्ञानी मुसालाई त तह लाइयो तर राज्यका दुईखुट्टे, ज्ञानी मुसाहरूलाई के गर्ने ? भनेर चिन्तन पो गरिराको त !”
– तीनकुने, काठमाण्डौँ


