केही नहुँदासम्म केही पनि हुँदैन !
जबसम्म केही हुँदैन
तबसम्म केही पनि हुँदैन
आजीवन जस्ताको तस्तै हुनेछ
सबैथोक उस्तै दुरुस्तै हुनेछ !
तर केही भएपछि सबैथोक हुनेछ !
जब केही हुनेछ
तब सबैथोक हुनेछ
हुँदै नहुने पनि हुनेछ
हुनै नहुने पनि हुनेछ !
हेर्दाहेर्दै आफ्नै आँखा अगाडि
आकाश भुइँमा खसेको हुनेछ
अहिलेसम्म आफू उभिइरहेको
धर्ती पातालतिर पसेको हुनेछ
सबैभन्दा विषालु सर्प बनेर
समयले सबैलाई डसेको हुनेछ
जिन्दगीकै कोमल नाङ्गो छातीमा
परिस्थितिले छुरा धसेको हुनेछ !
जीवन पुरै दलदलमा फसेको हुनेछ
र आफ्नै मलामी पर्खेर बसेको हुनेछ !
बुद्धि-विवेक पाइलैपिच्छे चुकेको हुनेछ
मृत्युले मुलढोकामै बसेर ढुकेको हुनेछ
अन्तरात्माले आफैंलाई थुकेको हुनेछ
अदृश्य बन्धन क्रमशः फुकेको हुनेछ !
कालको कुकुर भुकेको हुनेछ
शिर शोकले झुकेको हुनेछ
महासागर पुरै सुकेको हुनेछ
सुर्य सधैंकालागि लुकेको हुनेछ !
त्यस्तो केही भइसकेपछि फेरि …
पुर्पुरोमा हात राखेर पछुताउदै
एकोहोरो रुदै बस्ने विकल्प बाहेक
अरु केही बाँकी रहदैन जिन्दगीभरि !
“करादीखोला, स्याङ्जा ।”