लहरा-लहरा छन् साथ सम्बन्धका
जन्मेदेखि नै सुत्केराे लाग्नेहरू
न्वारन कुर्नेहरू
जुठाे र चाेखाेकाे हिसाब गर्नेहरू
धर्तीमा पाइला नराख्दै देखि
नाता जाेडेर सम्बन्धका डाेरी बाट्नेहरू ।
छाेरा, भाइ, दाजु, भतिज,
बाबु, नाति, काका, हजुरबा जेठाबा आदि
छाेरी, बहिनी, दिदी, भतिजी,
आमा, नातिनी, काकी, हजुरआमा, जेठीआमा आदि
अनगिन्ती जन्जालमा घेरिन्छ मान्छे
एक हैन अनेकमा छरिन्छ मान्छे
हरेकले मभित्र खाेजिरहन्छ
आफैँ काे हाे ?
जीवन के हाे ?
ऊ कसकाे हाे ?
कहाँबाट आयाे ?
किन आयाे ?
जानु छ कहाँ ?
गर्नुछ के ?
अन्याेलकाे भुमरीमा रुमलिँदै
आहाराकै चाहारामा लर्बराउँदै
जवानीमा खडेरी परेर
सास अडेकाे झिक्राे बन्दा पनि
कपाल कपास हुँदा पनि
हिउँले जीवन कक्रिँदा पनि
ऊ ठानिरहन्छ
म कसै न कसैकाे
केही त पक्कै हुँ
काेही त छन् मेरा पनि
के काेही मात्रै
सबैसबै आफन्त छन्
सबथाेक छ मेराे
के छैन ?
ऊ चिन्तित हुन्छ
केवल
उमेरकाे ढुङ्गाले
तारेपछि आफूलाई
सबै छाडेर
जानु कसरी ?
तर
ऊ
झल्याँस्स हुन्छ जीवनसँग
र ताैलिन्छ कहरहरू भाेगाइमा
ऊ सम्झन्छ
भूकम्प
दुधे बालक, बाबुआमा, श्रीमती र प्रियसी च्यापेका
अङ्गालाे एक्लिएर पर कुदेकाे
ऊ सम्झन्छ
काेराेना
आफ्ना भन्नेहरू पराई बनेका
राम्रा सम्बन्ध चाम्रा बनेका
न्यानाे माया थमाउनेहरू चिसा बनेका
मायाका चाङ थमाउन खाेज्नेहरू
छायासँग डराएका
घरकाे मालिक आफू हाे वा कुकुर
भेद नखुट्टिने व्यवहारमा एक्लिएकाे
पर्गेलिएकाे र भयकाे भड्खालाेमा भासिएकाे
ऊ सम्झन्छ
भर्खरै गएकाे बाढी
निद्रामा मस्त घर र आफन्त
एक्लैएक्लै बगेकाे
आफू किनारामा उछिट्टिएर
गढेका आधा शरीर निकाल्ने
एक्लाे काेसिसमा हार मानेकाे
उद्दारकाे पर्खाइमा
पाँचौ दिनसम्म हिरिक्क हिरिक्क हुँदै
काल पर्खिरहेको
अनि
ऊ साेध्छ आफैँसँग
अनुत्तरित प्रश्न
जन्मेदेखि पालेका भ्रम चिर्दै
अनेक सम्बन्ध कहाँ निदाए यतिबेला
दुःख, कष्ट र आपतका सारथि बन्दैन काेही
आखिर एक्लै जन्मेर एक्लै मरिन्छ भन्थे
के जीवनकाे भुमरीबाट
मैले झैँ निस्केको दिन
र मृत्युसँग पाैँठाजाेरीमा हारेर
काल गुहारेकाे दिन
सबैले बुझ्लान् त
याे दुनियाँमा
मेराे र तेराे
आफ्नाे र अर्काे
जति हिसाबकिताबमा
अल्झे पनि
जीवनमा सधैँ
एक्लै छ मान्छे ?