एउटा कुकुरले बेस्सरी भुकिरह्यो
अर्को कुकुरले पनि बेस्सरी भुकिरह्यो
दुवैका भाषा आ-आफ्नै थिए
दर्शकहरूले दुबैका आवाज आधा बुझे र आधा बुझेनन्
तैपनि आ-आफ्ना खेमामा छुट्याइरहे ।
दुबै कुकुर एकदिन संसद् पसे
र बेस्सरी थर्काए संसद् प्रेक्षालयलाई
उनीहरूको आवाज पर पर पुग्यो क्षितिजसम्म
सुन्नेहरू सबैले ताली पिटिरहे
अबोध किसान र अबोध मजदुरहरूले केही सुनेनन् कुकुरको आवाज
उनीहरूले केही सुनेनन् उनीहरूकै बारेमा भुकिरहेको ।
टोकाटोक गरेर भुकिरहेका कुकुरहरू
संसदबाट बाहिरिए
सरासर भेलाभए भट्टी पसलमा
अँकमाल गरे , चुम्बन गरे
त्यहीँ थिए क्रसर व्यापारी
त्यहीँ थिए निर्माण व्यवसायी
त्यहीँ थिए मालदार भनेका कर्मचारी
र , सँघ सँगठनका कर्मचारी
उनीहरू सबैलै स्वस्ती गरे दुबै कुकुरलाई
र चढाए आ आफ्ना गोप्य प्रतिवेदन ।
समयमै कोदो उत्पादन नगरेकोमा किसानलाई
र समयमै जाँड नबनाएकोमा भट्टीवालालाई
हकारे , हुर्मत् लिए कुकुरहरूले
बिलको पैसा त उनीहरूले तिर्ने कुरै थिएन
स्वागतद्वारमै उभिएकाहरूले तिरेपछि छुट्टिए आधारातमा ।
कुकुरहरू जब घर पुगे
घरायसी काम गर्न गाउँबाट ल्याइएकी एउटी युवतीले
आँसु पुछ्दै ढोका त खोली
तर बिहान जस्तै साँझ पनि घरमा चुल्हो बलेको थिएन ।
भोलिपल्ट संसदमा पेश भयो
भ्रष्टाचार विरूद्धको बिधेयक !!
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।