एउटा कुकुरले बेस्सरी भुकिरह्यो
अर्को कुकुरले पनि बेस्सरी भुकिरह्यो
दुवैका भाषा आ-आफ्नै थिए
दर्शकहरूले दुबैका आवाज आधा बुझे र आधा बुझेनन्
तैपनि आ-आफ्ना खेमामा छुट्याइरहे ।
दुबै कुकुर एकदिन संसद् पसे
र बेस्सरी थर्काए संसद् प्रेक्षालयलाई
उनीहरूको आवाज पर पर पुग्यो क्षितिजसम्म
सुन्नेहरू सबैले ताली पिटिरहे
अबोध किसान र अबोध मजदुरहरूले केही सुनेनन् कुकुरको आवाज
उनीहरूले केही सुनेनन् उनीहरूकै बारेमा भुकिरहेको ।
टोकाटोक गरेर भुकिरहेका कुकुरहरू
संसदबाट बाहिरिए
सरासर भेलाभए भट्टी पसलमा
अँकमाल गरे , चुम्बन गरे
त्यहीँ थिए क्रसर व्यापारी
त्यहीँ थिए निर्माण व्यवसायी
त्यहीँ थिए मालदार भनेका कर्मचारी
र , सँघ सँगठनका कर्मचारी
उनीहरू सबैलै स्वस्ती गरे दुबै कुकुरलाई
र चढाए आ आफ्ना गोप्य प्रतिवेदन ।
समयमै कोदो उत्पादन नगरेकोमा किसानलाई
र समयमै जाँड नबनाएकोमा भट्टीवालालाई
हकारे , हुर्मत् लिए कुकुरहरूले
बिलको पैसा त उनीहरूले तिर्ने कुरै थिएन
स्वागतद्वारमै उभिएकाहरूले तिरेपछि छुट्टिए आधारातमा ।
कुकुरहरू जब घर पुगे
घरायसी काम गर्न गाउँबाट ल्याइएकी एउटी युवतीले
आँसु पुछ्दै ढोका त खोली
तर बिहान जस्तै साँझ पनि घरमा चुल्हो बलेको थिएन ।
भोलिपल्ट संसदमा पेश भयो
भ्रष्टाचार विरूद्धको बिधेयक !!


