विष्णुमति किनारमा उभिएर जीवनको ईन्द्रेणी कुतकुत्याउँनु मेरो नियति बनेको छ ।
म काठमाडौँकै उत्तरीभेग जीतपुरफेदीमा जन्मिएँ । जीतपुरफेदीको पानीढलो ओरालिंदै ओरालिंदै लामोबगर खोलामा मिसिन्छ र लामोबगरपनि विष्णुमतिलाई भेट्दछ र मन फुकाउँदै अघि बढ्दछ । मेरो नियतिपनि त्यस्तै भयो । उमेर बढ्दै गयो । म बग्दै बग्दै आइपुगें विष्णुमति किनारमा । अहिले विष्णुमति किनारमा बकुल्लाझैँ उभिएर हेरिरहेछु टाढाटाढा ।
समय, नदीजस्तै बगिरहँदो रहेछ— कहिले संग्लिएर, कहिले धमिलिएर ।
मैले पहिलोपटक विष्णुमति देख्दा सङ्लो थियो, सफा थियो— अञ्जुलीमा लिएर पिउँन मिल्ने, डुबुल्की मारेर पिउँन मिल्ने । किनारमा हरिया रुखहरू थिए, पर परसम्म हरिया चौरहरू थिए र चौरभन्दा पर पर थिए हरियो बाली झुलेका खेतका गराहरू । गराका माझ माझमा मसिना बाटाहरू थिए । बाटाहरू गएर टुंगिन्थे स–साना झिगटीवाल घरका आँगनहरूमा । सुन्दर फाँटहरू जस्तै सरल मनका भेटिन्थे मान्छेहरू । म सफा विष्णुमतिमा डुबुल्कीमार्थे, नुहाई धुवाई गर्थे र जीवनान्दको समयलाई माया गर्थे । देख्थेँ— त्यसैगरी चलिरहेथ्यो बागमतीतिरको जीवनशैली, त्यसैगरी चलिरहेथ्यो मनहरा, धोवीखोला, टेकु र इच्छुमतीतिरको समय ।
विष्णुमति, बागमती, मनहरा, धोवीखोला, कर्मनाशा, कोड्कु सबै नदीहरूले जीवन फिंजाइरहेथे, सपना फिंजाइरहेथे र नदीका लहरसँगै बालाका बयेली फैलाइरहेथे फाँटहरूमा । कुनैबेला काठमाडौँ पानीले भरिएको दह थियो । मैले थाहा पाउँदा काठमाडौँ हरियालीले ढाकिएको दह थियो । पूmल, पात र बालाहरू झुलेको बगैंचा थियो । कञ्चन नदीहरू, कञ्चन कुवा र पोखरीहरू, कञ्चन आकाश, कञ्चन धर्ती र कञ्चन मान्छेहरू । मौसमी पूmलहरू फुल्थे जाँगरको गोडमेल पाएर, मौसमी चाडबाड र जात्रा चल्थ्यो । दौरा सुरुवाल, भोटो, कछाड, सारी चोलो, फुली, तिलहरी, बाला, कल्ली— सबै सबै आफ्नै थिए भेषभुषा, सबै आफ्नै थिए खानपान, स्वाद र तृप्तीका बहाना ।
समय रोकिंदैन, रोकिएन र रोकिनुपनि हुँदैन ।
राजनीति फेरियो ।
अर्थव्यवस्था बदलियो ।
मान्छे मान्छेका सम्पर्क र सम्बन्धहरू फराकिला बने ।
चेतना उचाईतिर लाग्यो ।
संसार काठमाडौँ खाल्डोभित्र छि¥यो ।
काठमाडौँ बरालिंदै हिँड्यो संसारका कुना कुनामा ।
काठमाडौँका घरहरू बदलिए । मान्छेका जुलुशहरू धमाधम भित्रन थाले काठमाडौँ खाल्डोभित्र । तर, बाहिरिने कसैको चालचुल छैन । कंक्रिटका घरहरू, अलकत्राले ढाकिएका सडकहरू, कोपभाजनमा परेका रुख, बिरुवा र बालीनालीहरू । घरहरू अग्ला त छन्, तर, न उभ्याउने र थाम्ने फलामका घोचाहरू छन् पर्याप्त, न वरिपरि बारी, खेत र बगैँचा । घरहरू छन्, चौरहरू छैनन् । घरहरू छन्, रुख, लहरा र पूmलका झाङहरू छैनन् । घरहरू छन्, न बालबच्चा खेल्ने चौडिलो छ, न छ बुढाबुढीले घाम ताप्ने आँगन, पिँढी र फलैंचा, घरनै घर झन्, तर, बगैँचाका पूmलहरूझैँ टम्म मिलेका होइनन् । जङ्गलको झाडी जस्ता । कतै बाँसको झाङजस्ता, कतै खरेटो घारी जस्ता, कतै तीतेपातीको लर्कन जस्तो, कतै खेतबाट काम सकेर घर फर्कदा जे जस्ता सरसामानले भरिएको खर्पनजस्तो । श्वास फेर्न हावानै हराउँदै गइरहेको बस्ती, श्वास फेर्दा हावा होइन धुलोको मुस्लो पसेर हावा छान्नै अशक्त बनेका फोक्सोहरू ।
जति मान्छे थपिए, त्यसको दशगुना बेथिति भित्रिए काठमाडौँमा ।
हात, खुट्टा र मुखहरू त खुवै चल्न थाल्यो, तर, मन र दिमाग त झन् झन् बोधो बन्दै गयो काठमाडौँको । इँटा, सिमेन्ट, फलाम र काठको डंगुर बन्दै गइरहेछ काठमाडौँ, तर, मान्छेको भीडमै कता कता हराइरहेछ मान्छे ।
म विष्णुमति किनार किनारै दगुर्छु । बागमती किनार किनारै शुद्ध माटो, सफा हावा र धुलोहीन घामको आराधनामा जुट्छु । कोड्कु, कर्मनाशा, मनहरा, ईच्छुमती र मचाखुशीमा सङ्लो पानीमा राता, पहेँला र नीला माछाहरू बिचरण गरिरहेका समय खोज्छु । तर, हात लागेको छ शुन्य ।
म बगेको होइन लेदो जमेको विष्णुमति किनारमा गन्धले टट्याइरहेको नाक थुनेर निस्सासिरहेछु अचेल । म पानी होइन इँटा, गिट्टी, फोहर, कचेडा, सिनु र ढलको विश्रामस्थल बनेको बागमतीका छेउछाउ टेक्ने ठाउँ नपाएर निन्याउरो बनिरहेछु अचेल ।
कुनैबेला साँझमा अगेना वरिपरि बसेर गाउँ र बस्ती सुधार्ने सल्लाह चल्थ्यो, भारोपर्मले गाउँ र बस्ती रमाइरहेको हुन्थ्यो । दशैं, तिहार, तीज, संक्रान्ति, औंसी र पूर्णेमा जुट्थे छरछिमेकी, इष्टमित्र र बन्धु बान्धवहरू । अचेल, मान्छेनै मान्छेले मेलोबाटो छैन विष्णुमति, बागमती, मनहरा, धोबीखोला र कोड्कुको कुना कुनासम्म । हिजो अप्ठेरोमा जो सुकैले सहयोगको हात फिंजाउँथे, अचेल, जोसुकै मान्छे देखेपनि गुञ्जिरहेझैं लाग्छ— खतराको घण्टी ।
म अवाक विष्णुमतिको धुलोले निसास्सिन्छु र बागमतीको गन्धले बेहोस बन्छु ।
चैतको तुवाँलो होइन, सधैं, एसिडको धूलो बर्सने तर्खरमा छ काठमाडौँ खाल्डो । बसन्तका मुहुना होइन, सधैं, किला, काँटा, प्लाष्टिक, चुरोट, गुट्का र पानका पोकाहरूले ढाकिने खतरामा छ काठमाडौँ खाल्डो । मान्छेहरूलाई दिनानुदिन परदेश पठाउँने माला झिाउँनमै मस्त छ आजको काठमाडौँ । कामको खोजीमा परभूमिमा ज्यान गुमाएकाहरूको लाश र लाश ढाकेका बक्सा व्यवस्थापनमै व्यस्त छ आजको काठमाडौँ ।
लिलिपुटझैं थेप्चिन बाध्य छु म ग्वङ्ग्ःबुँमा । बाँसका लट्ठीहरू गोलिगाँठामा बाँधेर अग्लोको अभिनय गर्दैछु म ग्वङ्गःबुँमा । म ग्वङ्गःबुको माटो शिरमा लगाउँछु र बिहान साँझ नमन गर्छु ।
ग्वङ्गःबुँ शान्त थियो कुनै जमानामा । ग्वङ्गःबुँ धान, गहुँ र आलुका तरेलीका कोलाज बनाउँनमै मस्त थियो कुनै बेला । ग्वङ्गः अर्थात् भाले, बुँ अर्थात् खेत । अर्थात्, खेत खेतमा भाले चरिरहेका भेटिन्थे, खेत खोतल्दै, कालीमाटी बटुल्दै धर्तीको गर्भमा पुग्दा अरु खेतहरूपनि भेटिन्थे कुनैबेला, नयाँ खेतमा कुखुराका नयाँ नयाँ भालेहरूपनि चरिरहेका भेटिन्थे कुनैबेला । त्यसैभएर ग्वङ्गःबुँ, ग्वङ्गःबुँ बनेर ब्युँझिएको थियो कुनैबेला । अचेल ग्वङ्गःबुँ भनौँ या अलि तन्किएर काठमाडौँ खाल्डो भनौँ सतहत्तर जिल्लाका जोसुकैकोलागि गन्तव्य बनेको छ । मान्छेहरू राजनीतिज्ञ हुन् वा प्रशासक, विद्यार्थी हुन् वा व्यवसायी, किसान हुन् या कालाधन्दावाला— जोसुकैपनि भित्रन्छन् काठमाडौँ खाल्डोमा । काठमाडौँ खाल्डो यस्तो छ, जहाँ जो जो पस्छन् उनीहरू निस्कन सक्तैनन् । यो खाल्डोमा पसेपछि काम नपाउँनेले काम भेट्छन्, माम नपाउँनेले माम भेट्छन्, ठाम नभेट्नेले ठाम भेट्छन् । यता भेट्न थालेपछि उताको दुःख र औकात बिर्सन थाल्छन् । यताको मह चाट्न थालेपछि उताको हण्डर बिर्सन थाल्छन् । यता अलिकति खुट्टा टेक्न थालेपछि उतापनि सर्वसम्पन्न थिएँ भन्ने गफको राँको लगाउँन थाल्छन् र रातोदिन उघिन्न थाल्छन् यताको । यहीं जीवन उभ्याउँछन्, यहीँ उभिनसक्ने बन्छन् । फेरि धुवाँधार गाली गरिरहन्छन् काठमाडौँलाईनै । खाने, पिउँने, मस्तिगर्ने— अन्त्यमा थुकिदिने ठाउँ ‘पो बनाए काठमाडौँ खाल्डोलाई’ ।
विष्णुमति, बागमती, मनमती, हनुमती, इच्छुमती जताको किनारमा उभिँदापनि रोइरहन्छ मेरो मन ।
मैले केही समय भोल्गा नदीको किनारमा बास बसेंथे । भोल्गा वरिपरि सुन्दर ढङ्गले मानव चर्तिकला फैलिएको रहेछ र बनेको रहेछ सुन्दर मस्को सहर । केही समय नाइलका किनारै किनार हिँडिरहें म । नाइलको नीलो गतिसँग झन् झन् सुन्दर, सफा र विशाल बन्दै गइरहेको भेटें मैले इजिप्टको कायरो र अलेक्जेण्ड्रिया सहरलाई । केही समय राइन नदीको किनारमा जीवन खोजें मैले । राइन र पेरिस दुवै जाज्वल्यमान देखिरहें मैले मस्त तरुनो उमेर जस्तो । केही समय स्प्री नदीमा डुबुल्की मारे मैले जर्मनीमा । झन् झन् कञ्चन र झन् झन् बेगिलो बन्दै थियो स्प्री । उसले झन् झन् तरुनो बनाइरहेथ्यो म्युनिखलाई । त्यति धेरै ठूलो होइन अमेरिकाको पोटोम्याक नदी । थोरै पानीलाईपनि गतिशिल र जीवन्त बनाए त्यहाँका मान्छेहरूले सट्टामा ‘वासिङ्टन डी.सी. र भर्जिनियालाई सधैं जाग्दो र जाँगरिलो बनाइरहेछ पोटोम्याकले ।
किन माट्टिदै गए हाम्रा विष्णु्मति, बागमती, मनहरा र टेकुका बेगहरू ? किन टालिन खोज्दैछ कुँडा कर्कटले चोभारको गल्छी ? किन हरिलो, भरिलो, शीतल र सभ्य बन्न सकेनन् हाम्रा ग्वङ्गःबुँ, बालाज्यू, चाबहिल, भक्तपुर, ललितपुर, थानकोट, कीर्तिपुर, ठमेल र ज्याठातिरका बस्तीहरू ? जङ्गल नास्दै, पशुपन्छी नास्दै, बालीनाली नास्दै, हावाको हुर्मत लिँदै, घामको तेज बिटुल्याउँदै, न बच्चाबच्चीको लागि हाँस्ने ठाउँ, न बुढाबुढीको लागि उभिने ठाउँ, न युवायुवतीको लागि मस्किंदै कार्यमा गति निम्त्याउने ठाउँ ।
आफ्नै आमालाई टोकसेर, आफ्नै जमिनमा पहिरो निम्त्याएर, आफ्नै धारा कुनामा काकाकुलको डँढेलो लगाएर, जीवनको लागि कस्तो खोजिरहेछौँ हामीले रङ्ग, कस्तो खोजिरहेछौँ हामीले तरङ्ग— म अवाक हेरिरहेछु विष्णुमति किनारबाट ।
म बालवलयमा फर्किन सक्तिन— त्यो मलाई थाहा छ । म युवा वयमा फर्किन सक्तिन— त्योपनि राम्ररी थाहा छ मलाई । तर, आफ्नो परिपक्व उमेरमा किन भेट्न सकिएको छैन सभ्यता र परिपक्वता आफ्नै वस्ती, बाटा, खोला, कुवा, जङ्गल र जमिनलाई किन बाँच्न दिएका छैनौ हामीहरूले ? यो माटो यो हावा, यो घाम, यो जून, यी वनस्पती, यी पशुपन्छीहरूलाई बिषविहीन नबनाए कहाँ बाँचौंला हामी बाँकी जिन्दगी रमाएर ? कहाँ मुस्कान भेटिएला ख्वै हाम्रो भविष्यको ओठमा ?
विष्णुमति किनारमा उभिएको एउटा बुढो बैंसका हाँगाहरू सुमसुम्याउँदा प्रश्नहरू उठे पात पातमा ।
आऊ, तिमी र म मिलेर बैंसका पातहरूलाई रङ्गिन र चम्किला बनाउँ ।
मिति: २०८१ बैशाख १७ गते सोमबार
ग्वङ्गःबु, नयाँबसपार्क, काठमाडौँ
इमेल: damopuda567@hotmail.com
फोन: ९८५१०९२०७७ (मोवाइल)