Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कथा : मौन अवधि | हाम्रो कथाघर

माघ १९, २०८२

लघुकथामा एक प्रयोग अङ्क: ३४ | हाम्रो कथाघर

माघ १८, २०८२

माघ १८, २०८२

माघ १८, २०८२

माघ १८, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » कथा: कम्युनिस्टहरू छद्मभेषी बनेपछि | हाम्रो कथाघर

कथा: कम्युनिस्टहरू छद्मभेषी बनेपछि | हाम्रो कथाघर

आख्यान - कथा
सत्यजीतसत्यजीतअसार २८, २०८२1K Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

सत्यजीत


खण्ड-एक : दोहोरिएको विश्वासघात

पूर्वी क्षितिजमा सुनौलो रङ घोलिँदै थियो। कागहरूको कर्कश स्वर पार्श्वसङ्गीत बनेको थियो; झ्यालबाहिरको बाँसघारीबाट मधुर हावाको स्पर्श आउँथ्यो, जसमा पुरानो राजनीतिक घोषणाको ध्वनि मिसिएजस्तो लाग्थ्यो। बगैँचामा भर्खरै फक्रिएको सुन्तलाको फूलको गन्ध र लहरै फुलेका गोदावरी फूलको बास्नाले मनभित्र एक प्रकारको सुगन्ध फैलाएको थियो भने अर्कोतिर विरक्ति र निराशाको द्वन्द्व पनि सँगसँगै स्मृतिमा थियो।

बिहानको आठ बज्नै लागेको थियो। ढाकाटोपी राम्ररी मिलाउँदै, पुरानो खरानी रङको कोटमा आफूलाई सजाउँदै, हाते झोला समातेँ। कार्यक्रमस्थलमा जान ढिला नहोस् भनेर हतारिँदै थिएँ। कोठाको कुनामा झुन्डिएको पुरानो टेलिभिजन बन्द गर्न लाग्दै गर्दा त्यही क्षण प्रमुख समाचार सुरु भयो। टेलिभिजनको पर्दामा देखा परे एक वरिष्ठ कम्युनिस्ट नेता—अहिलेसम्म जनताको भरोसामा नाटक खेलिरहेकाहरूको एउटा खलनायक प्रतिनिधि पात्र।

उनका ओठ र गाला हल्लिरहेका थिए—

“जनताको अधिकार स्थापित गराउन कम्युनिस्ट पार्टी सधैँ प्रतिबद्ध छ। हाम्रो उद्देश्य समानता र न्याय सुनिश्चित गर्नु हो।”

मैले टेलिभिजन बन्द गरेँ। मनभित्र एउटा कटु मुस्कानले स्वर लियो, “कति मीठो बोल्न सक्छन्! तर व्यवहारमा यिनीहरू यति झुटो बोल्छन् कि ऐना हेर्दा आफैँ तर्सिन्छन्।”

मेरो दृष्टि टेबुलमा ढाकिएको पत्रिकातिर गयो। त्यहाँ ठूला काला अक्षरहरूमा लेखिएको थियो:
“कम्युनिस्ट मन्त्रीमाथि भ्रष्टाचारको आरोप, अर्बौँको घोटाला उजागर।”

आश्चर्य मान्नु भनेको आफैँलाई धोका दिनु हुन्थ्यो। किनकि अब यस्ता समाचारहरू सामान्य भइसकेका छन्—मानौँ भ्रष्टाचार, दुरुपयोग र दम्भ अब राजनीतिक संस्कृतिका अनिवार्य अनुच्छेद बनेका छन्।

एउटा समय थियो, जब यिनै विचार र नाराका पछि लागेर मैले रातभरि पर्चा टाँसेको थिएँ, त्यसैका कारण अनगिन्ती यातना भोग्दै जेलसमेत गएको थिएँ। कैयौँपटक दालमोठ-चिउरा खाएर गम्भीर बहसमा घोत्लिएका थियौँ। आफ्नो आम्दानीको निश्चित प्रतिशत पार्टीका लागि छुट्याउँथ्यौँ। त्याग र स्वाभिमान हाम्रो संस्कृति बनेको थियो। म त्यतिबेला उनीहरूलाई सहयोद्धा, शहीदहरूको उत्तराधिकारी र जनताको मुक्तिदूत ठान्थेँ।

मलाई आज लाग्छ— “समयको गर्जनमा पुराना आदर्शहरू बिस्तारै विस्मृत हुँदै गएका छन्, तर ती सम्झनाहरू अझै मनको कताकता धपक्क बलेको लालटिनझैँ टल्किरहेका छन्—अधुरो सपना बोकेर।”

तर अहिले…?

अहिले त पुरानो झ्यालबाट देखिने घामको झल्को पनि झुटो लाग्छ, र त्यो झ्यालबाहिरको बगैँचामा उम्रिएको फूल पनि। किनभने, जिन्दगीका यथार्थ अब फूलमाफिक नरम छैनन्, र क्रान्तिका भाषणहरू अब कुहिएको अण्डाजस्तै गन्हाउने भएका छन्।

खण्ड-दुई : विश्वासको अवशेष

चैत महिनाको अन्तिमतिरको त्यो बिहान स्मृतिको कुनाबाट झरेको एउटा तस्बिरजस्तै लाग्यो—न त उज्यालो पूर्ण थियो, न अँध्यारो नै। बादलले आकाशलाई हल्का पछ्यौरीले छोपेजस्तै थियो। कुहिरोमा लुक्न खोजेझैँ रूखका पातहरू पनि आज एक किसिमको मौनताका प्रतीक बनेका थिए। ती मौन पातझैँ म पनि केही समयअघिको समाचारले स्तब्ध थिएँ। तर त्यो स्तब्धताभित्र म बिस्तारै एक पुरानो अनुहार खोज्न थालेँ—कमरेड ज्योतिराम।

त्यो अनुहारसँग मेरो सङ्घर्षको यात्रा जोडिएको थियो। मसँगै क्रान्तिको सपना बोकेर हिँडेको, धुलोमा लोटिएको, डाँडामा लुकिछिपी भित्तेलेखन गरेको, पर्चाहरू लेखेको र जति चोट आए पनि विश्वास गुमाउन नचाहेको एक पात्र—ज्योतिराम।

त्यस बेला हामी दुवै भूमिगत थियौँ। गहुँगोरो अनुहार, सधैँ फटेको झोला भिरेका र ठूलो स्वरमा गहिरा तर्क गर्ने कमरेड थिए उनी।

“कम्युनिस्ट आन्दोलन सर्वहारा वर्गको मुक्तिका लागि हो। हामी दलाल पुँजीवादी वर्गलाई नष्ट गरेर समानता, स्वतन्त्रता र जनताको शासन ल्याउनेछौँ।”
उहाँका आँखामा त्यो बेला एक किसिमको आगो बल्थ्यो—न आदर्शको, न यथार्थको डर।

हामी कहिले सहरको गल्लीमा, कहिले काभ्रेको महाभारत जङ्गलमा, कहिले मकवानपुरका तामाङ बस्तीमा, कहिले मधेसका बस्ती-बस्तीमा त कहिले रोल्पाको बिउँझेको गरिब टोलमा भेट हुन्थ्यौँ। त्यहाँ माटोको गन्ध उस्तै हुन्थ्यो, भोक उस्तै, आशा उस्तै—र शब्दहरू पनि उस्तै शक्तिशाली। ज्योतिरामसँगै हिँड्दा मलाई लाग्थ्यो, क्रान्तिको बाटो साँघुरो भए पनि साँचो नेताको पाखुरामा समातिएर टेकिने बाटो हो।

तर ती दिनहरू अब केवल स्मृतिमा बाँकी छन्।

आजका दिनमा, कमरेड ज्योतिरामजस्ता पात्रहरू हजारौँ छन्—तर उनीहरू पुराना कमरेड होइनन्, केवल त्यस नामको खोल ओढेका पुँजीका पुजारी हुन्।
उनीहरू भाषणमा समाजवादको कुरा गर्छन्,
तर व्यवहारमा उनीहरू कुनै कम्पनीका सीईओभन्दा कम छैनन्।
तीन-तीनवटा गाडी चढ्छन्, ठूला बङ्गला बनाएका छन्, आफन्तको बन्दोबस्त मिलाएका छन् र केही आसेपासेको जीवनमा समृद्धि ल्याइदिएका छन्। उनी बेलाबेलामा देश-विदेश डुल्छन्, आफ्नै जनतालाई भने भुलाउँछन्।

क्रान्तिको नाममा जनताले बगाएको रगत उनीहरूको विलासिता धान्न प्रयोग भएको छ।
शहीदको सपना उनीहरूको चियाको कपमा झुन्डिएको सजावट बनिसकेको छ।

बाहिरको चिटिक्क परेको कार्यालय, भित्तामा टाँसिएको पार्टीको चुनाव चिह्न र मार्क्स-एङ्गेल्स-लेनिन-स्तालिन-माओका फोटो, कुनामा सजिएका साना पुस्तकहरू—
यी सबै मिलेर अब केवल एउटा दृश्य निर्माण गर्छन्,
जहाँ सत्ताको अभिनय चलिरहेछ,
र क्रान्ति एउटा ‘ब्रान्ड’ बनेर बेचिँदैछ।

“जब सिद्धान्त भाषणको घेराभित्र सीमित हुन्छ र व्यवहार विलासिताको थालमा पस्किइन्छ, तब क्रान्तिको आत्मा कागजका घोषणापत्रमा टाँसिएर मर्छ।”

यो सोच्दा म झसङ्ग हुन्छु।
किनकि त्यही ‘ब्रान्ड’ बेच्न म पनि कहिल्यै कतै सहभागी थिएँ कि?
मैले पनि अन्जानमै कुनै भ्रममा साथ त दिएको थिइनँ?

जुन दिन म कमरेड ज्योतिरामलाई अन्तिमपटक काठमाडौँको पाँचतारे होटलबाट निस्किँदै देखेँ, सुट-बुटमा, मोबाइलमा कसैसँग रुष्ट स्वरमा बोल्दै, त्यो दिन मलाई लाग्यो—मलेवा खोलामा लुगा पखाल्दै गरेकी ती शहीदकी आमाको सपना यही हो त?

खण्ड-तीन : ऐनामा देखिएको अँध्यारो अनुहार

त्यो दिन वैशाखको सुरुवात थियो—काठमाडौँको बिहान उज्यालो देखिए पनि हावामा धुलो मिसिएको थियो, जस्तै हाम्रो आदर्श मिसिएको वर्तमान।
काठमाडौँको एउटा भव्य सम्मेलन हल, जताततै ठूला ब्यानर, चम्किला झलमल्ल बत्तीहरू र उत्साहित भीड।
त्यही कार्यक्रममा मैले लामो समयपछि फेरि ज्योतिरामलाई देखेँ—
तर त्यो ज्योतिराम मैले चिनेको पुरानो कमरेड थिएन। त्यो शरीर त उस्तै लागे पनि आत्मा नै फेरिएको थियो, अनुहारमा क्रान्तिको घाम होइन, सत्ता र सम्पत्तिको चिल्लो लेप पोतिएको थियो।

ब्रान्डेड कोट, चम्किलो जुत्ता, गाडीबाट ओर्लिँदा अघिपछिका सुरक्षाकर्मी र ठेकेदारको घेराबन्दी।
म एकछिन त अडिएँ—मनमा छटपटी मच्चियो।
यही त हो त्यो व्यक्ति, जसको कहिल्यै कोटको खल्तीमा पैसा हुँदैनथ्यो, जसले चप्पल च्यातिएर पनि गाउँमा पर्चा बाँड्न जान्थ्यो।

नजिक पुगेर सोधेँ—

“ज्योतिराम कमरेड, तपाईंलाई यस्तो जीवनशैलीमा देख्दा अचम्म लाग्यो। यो परिवर्तन कस्तो हो?”

उनले हल्का हाँस्दै जवाफ दिए—जसमा गर्व मिसिएको थियो, तिक्तता थिएन।

“समयसँगै मान्छे बदलिनुपर्छ साथी। क्रान्तिकारी सिद्धान्तमा अड्किएर मात्र परिवर्तन हुँदैन। व्यवहारमा पनि प्रगति चाहिन्छ। अब क्रान्ति गर्ने युग सकियो। अहिले हाम्रो प्राथमिकता समृद्धि र विकास हो।”

उनको स्वरको मिठास मनमा बिझ्यो।
समृद्धि र विकास? कसका लागि? कसको मूल्यमा?

मेरो मस्तिष्कमा तुरुन्तै फन्को मार्न थाल्यो—
कालिकोटका ती युद्धका घाइते, भोकमरीपीडितहरू, रोल्पाकी सुत्केरी आमाले बाटोको अभावमा अस्पताल जान नसकेको पीडा,
ती नाङ्गो खुट्टा तुइनमा झुन्डिएर विद्यालय पुग्ने बालकहरू…
के यिनैका प्रतिनिधिका रूपमा ज्योतिरामजस्ता कमरेडहरूले यत्रो प्रगति गरेका हुन्?

मैले नजर डुलाएँ—
ज्योतिरामको पछाडि उभिएका ठेकेदारहरूका आँखामा लालचको चमक थियो।
उनीहरू साँच्चिकै मजदुर र किसानका प्रतिनिधि थिएनन्—
भर्‍याङ चढेर माथि पुगेपछि अरूलाई लात हानेर तल झार्न खोज्ने नयाँ वर्गका प्रतीक बनेका थिए।

म स्तब्ध भएँ। केही बोल्न सकिनँ।

शब्द सुकिसकेका थिए—
किनकि मैले बुझिसकेको थिएँ, यो केवल ज्योतिरामको कथा होइन,
यो त एउटा युगको अँध्यारो ऐना हो।
जहाँ आदर्शहरू टेबुलमाथि सजिएका फूलझैँ बनाइएका छन्,
र तल छ—सत्ताको कुर्सीमा घोटालाको जरा गाडिएको जमिन।

“वास्तविक परिवर्तन भनेको जनताको पीडामा आत्मसात् हुनु हो, तर जब परिवर्तन विलासिताको चकमकमा रमाउँछ, तब त्यो क्रान्तिको शवमाथिको नाङ्गो नाच मात्र हुन्छ।”

त्यही बेला, मेरा आँखामा एक क्षण त्यही पुरानो ज्योतिराम देखा परे—
च्यातिएको चप्पलमा, गरिबको उजाड झुप्रोमा चिया पकाउँदै गर्दा
“हामीले धोका दिनु हुँदैन” भन्ने उनको आवाज…
तर त्यो आवाज अब टाढाको प्रतिध्वनि मात्रै थियो।

खण्ड-चार : आदर्शको शवयात्रा

आजको रात अस्वाभाविक रूपमा शान्त थियो—
तर त्यो शान्तिमा पनि एक प्रकारको हल्ला थियो, मभित्रको खैलाबैला।

झ्यालबाहिर हेर्दा,
काठमाडौँको आकाश धुम्मिएको थियो।
धेरै दिनदेखिको धुलो, तुवाँलो र कुहिरोले चन्द्रमालाई झल्याकझुलुक मात्र देखिने बनाएको थियो,
जसरी हाम्रो सपना झल्याकझुलुक मात्र देखिन्छ,
तर टाढिँदै गएको छ, अपरिचित र अपूरो लाग्ने गरी।

म पलङमा अडेस लागेर बसेँ,
मोबाइलको स्क्रिनमा समाचारको शीर्षक अझै चम्किरहेको थियो—
“कम्युनिस्ट मन्त्रीको करोडौँको सम्पत्ति प्रकरण: अनुसन्धान जारी”
त्यही समाचार, जसलाई मैले अब हेर्न सक्ने आँट गरिनँ।

मोबाइल विस्तारै बन्द गरेँ।
मन गह्रौँ थियो—
जसरी कुहिरोले मुटुलाई बाँधेर चिस्याउँछ,
त्यस्तै बोझिलो थियो त्यो मनोभाव।
मेरो मस्तिष्कमा यथार्थको कठोर आवाज गुन्जिरहेथ्यो—

“सपना तब मात्र जिउँदो रहन्छ, जब व्यवहारले त्यसको सम्मान गर्छ; तर जब सपना व्यापार बन्छ, तब त्यही सपना युगौँपछिको धोका बनिदिन्छ।”

“के हामीले यही दिन हेर्नका लागि यत्रो बलिदान गरेका थियौँ?”

मनको कुनै कुनाबाट अर्को आवाज उठ्थ्यो—

“के ती शहीदहरूको रगत यिनै छद्मभेषी, रातो कोट लगाउने धूर्तहरूका लागि बगेको थियो?”

यी प्रश्नहरू मभित्र आवाजजस्तै घन्किरहेका थिए—
तर जवाफ दिन सक्ने कोही थिएन।
सायद दिन सक्थे पनि—
तर म आफैँभित्र लुकेर बसेको प्रश्नकर्ताले मलाई नै कठघरामा उभ्याइरहेको थियो।

स्मृतिमा अझै ताजा थियो,
सात दिनसम्म लगातार पैदल हिँडेर गाउँ-गाउँ पुगी पर्चा बाँडेका ती रातहरू,
जहाँ एकाबिहानै सुरक्षाबलको शिकारबाट चराजस्तै उडेर बाँचेका थियौँ,
र झरनाको पानी पिएर छत्तीस घण्टा हिँडेका थियौँ।
त्यही बेला हामीले आफैँसँग वाचा गरेका थियौँ—
“आदर्श साँचो हो। हामी बेचिनेछैनौँ।”

तर आजका दिनमा—
ती आदर्शहरू समाचारका शीर्षकमा लत्याइएका छन्,
जसरी सडकमा फोहोरले सिँगारिएको झन्डा र माटोले छोपिएको घोषणापत्र देखिन्छ।
त्यही पन्ना, जसमा ‘जनताको सत्ता’ लेखिएको थियो—
आज ठेकेदारको हस्ताक्षर र करोडौँको लेखाजोखा बोकेको छ।

साँच्चै,
जब नेतृत्वहरू छद्मभेषी बन्न थाल्छन्,
तब उनीहरूले न आफूलाई चिन्न सक्छन्, न जनताले चिनेको अनुहार बाँकी रहन्छ।

आजको ज्योतिराम मैले चिनेको साथी थिएन।
ऊ केवल कुनै मन्त्री मात्र पनि थिएन—
ऊ त हाम्रो आन्दोलनको शवयात्राको सारथि बनेको थियो।

र म?
म ती शहीदहरूको छायामा उभिएर मौन प्रार्थना गर्ने एक पुरानो साक्षी।

खण्ड-पाँच : मौनताभित्रको चिच्याहट

आजको रात एकदम गहिरो लागिरहेको थियो।
साँझदेखि नै आकाश बादलले ढाकिएको थियो।
चन्द्रमा हराएको थियो, ताराहरू ओझेलमा परेका थिए—
जस्तै मभित्रका आदर्शहरू कतै लुकेका थिए, हराएका थिए।

म पलङको कुनामा अडेस लागेर बसेको थिएँ,
मोबाइलको उज्यालो मेरो अनुहारमा पर्दा झन् कुरूप लाग्थ्यो,
किनभने त्यो उज्यालोले कमरेड ज्योतिरामको विलासिताको खबर देखाइरहेको थियो—
एक समयका सादा र सङ्घर्षशील नेता,
अब ब्रान्डेड सुट, कालो गाडी र सरकारी निवासका राजा बनेका थिए।

मनभित्र उर्लिएको प्रश्नको भेल रोक्न सकिनँ—
“के हामीले यही दिनका लागि हाम्रा सपनाहरू जलाएका थियौँ?”
“के रगतको खोलो बगाएर हामीले यिनै फाइदा उठाउनेहरूका लागि बाटो बनाएका थियौँ?”

ती शहीदहरूका अनुहार एक-एक गर्दै सम्झिएँ—
कसैले गाउँको भीरमा आन्तरिक दुर्घटनामा ज्यान गुमायो,
कसैले प्रहरीको गोलीबाट टाउको गुमायो,
र कसैले आफ्ना आमाबुबा नदेखीकनै अन्तिम सास फेर्‍यो।

र अहिले?
ती सपनाहरूको बास अब बजारको प्रगति-गफ र महँगा भोजभतेरमा मात्र सीमित छ।
सपना अब भाषणका पानामा सीमित छन्,
तर व्यवहारमा उनीहरू सत्ताको कुर्सीमा चिप्लिएका आत्माहरू बनेका छन्।

“नेतृत्व जब आत्मपरीक्षण छोड्छ र आत्मघाती लोभमा फस्छ, तब आन्दोलन केवल सत्ताका भरौटेहरूको उत्सव बन्छ।”

बिस्तारै मोबाइल बन्द गरेँ।
स्क्रिनको उज्यालोले मलाई अँध्यारो मनको झझल्को दिएको थियो—त्यो उज्यालो अब सहन सकिनँ।

कस्तो विडम्बना!
एक समय हामीले मोबाइल हेरिरहने राज्यका अधिकारीहरूलाई ‘दलाल’ भन्थ्यौँ, आज हामी आफैँ त्यो स्क्रिनमा उनीहरूजस्तै बन्न पुगेका छौँ।

बाहिर गेटमा कुकुर भुकिरहेको थियो, र मनभित्र मलाई लागिरहेको थियो—त्यो कुकुर होइन, मेरो अन्तर्मन नै चिच्याइरहेको छ, जुन चिच्याहट कसैले सुन्दैन, किनकि अब हामी शान्त छौँ। मौन छौँ।
र सायद—
‘सम्झनाहरूलाई हत्या गर्न चाहँदैनौँ, तर बाँच्न पनि दिइरहेका छैनौँ।’

हो, अहिलेको ज्योतिराम
मेरो सम्झनाको कमरेड थिएन।
उनी मन्त्री थिए, तर मबाट धेरै टाढा—
भौगोलिक मात्र होइन, भावनात्मक, वैचारिक र ऐतिहासिक रूपमा पनि टाढा।

र म?
म अझै त्यही मोर्चा सम्झिरहेछु,
जहाँ राइफलको सट्टा सपनाको बोझ बोकिएको थियो।

खण्ड-छ : परिवर्तनको नाममा पतन

त्यो दिन मैले धेरै सोचेँ—
के हो परिवर्तन?
के साँच्चै परिवर्तन भन्नु भनेको
सिद्धान्तलाई गालामा पोतेर, स्वार्थको लिप्सामा चुर्लुम्म डुब्नु हो?

ज्योतिरामहरू अहिले करोडौँका मालिक छन्। सात थरी व्यवसाय, तीनवटा बङ्गला, सरकारी गाडी, विशेष सुरक्षा—
तर अझै पनि उनीहरूको भाषण सुन्दा लाग्छ, “सर्वहारा वर्गकै मुक्तिको कुरा गर्दैछन्!” विरोधाभासको यस्तो महान् नाटक संसारमै विरलै देखिन्छ।

कुन दिन हो त्यो, जब हामी जङ्गलमा भोकभोकै युद्ध लड्दै थियौँ, र उनीहरू आज पाँचतारे होटलमा ‘लन्च’ गर्दै, फेसबुकमा ‘क्रान्तिकारी विचार’ लेखिरहेका छन्!

कम्युनिस्ट पार्टी—
जसले आफूलाई शहीदहरूका सपना पूरा गर्ने शक्तिका रूपमा चित्रण गर्थ्यो, अब घोटालाको गन्ध, सत्ताको लोभ र ठेकेदारहरूको काखको खेल्ने-पाल्ने साधन बनेको छ। कार्यकर्ताहरू अब सिद्धान्तमा होइन, कमिसनको प्रतिशतमा बहस गर्छन्।

जुन पार्टीले राजा र सामन्तीको विरोधमा जनतालाई सडकमा उतार्‍यो, उही पार्टीका नेताहरू
आज ती सामन्तीहरूभन्दा महँगो पर्स बोक्छन्,
र गाडीको पछाडि ‘नेपाल सरकार’ लेखिएको प्लेट हेरेर गर्व गर्छन्।

तर विडम्बना के छ भने—
जनता अझै पनि उनीहरूलाई “हाम्रा कमरेड” भन्छन्।
सायद, जनताले धोका चिन्न सिकेका छैनन्,
वा सिके पनि बोल्न सक्दैनन्।

सायद, उनीहरू डराउँछन्—
कि फेरि त्यही ‘क्रान्तिको नाममा’
अरू एकपटक उपयोग नगरिएला!

“जब शहीदका सपनाहरूमा महल बनाइन्छ र जनताको रगतबाट विलासिता खडा गरिन्छ, तब त्यो नेतृत्व सामन्तीभन्दा क्रूरतम पात्रमा रूपान्तरण हुन्छ।”

अब मलाई लाग्न थालेको छ—
यो समय परिवर्तनको होइन, पतनको युग हो।
जहाँ परिवर्तनको नाममा
सपना बेचिन्छ,
र निष्ठा तिनै पुराना चन्दा रसिदहरूमा टाँसिन्छ।

खण्ड-सात : च्यातिएको सपनाको पोस्टर

संसद् भवनअगाडि एउटी वृद्धा भोकभोकै धर्नामा बसेकी थिइन्। उनको हातमा समातिएको प्लेकार्डमा अक्षरहरू काँपिरहेका थिए—
“मेरो छोरो जनयुद्धमा शहीद भएको हो। तर म अहिले भोकै छु। सरकार, न्याय देऊ!”

त्यो दृश्यले मेरो अन्तस्‌लाई भित्रैदेखि हल्लाइदियो। ती वृद्धा केवल एक आमाकी प्रतिनिधि मात्र थिइनन्, उनी लाखौँ शहीद, बेपत्ता, अपाङ्ग र घाइते योद्धाहरूको आशा, पीडा र उपेक्षाको मूर्त प्रतिबिम्ब थिइन्। म केही समयसम्म उभिइरहेँ—मौन, लाचार, अपराधबोधले च्यापिएको मन लिएर।

कुन दिन थियो त्यो? जब गाउँ-गाउँबाट युवाहरू झोला बोकेर ओझेलिए, जङ्गल पस्न तयार भए। कोही फिर्ता आएनन्, कोही फर्कँदा अङ्गविनाको जीवन लिएर फर्किए। कोही अझै बेपत्ता छन्—जिउँदो कि मरेका, आफन्तलाई समेत थाहा छैन। ती सपनाले बाँचेका थिए, सपनाकै नाममा लडेका थिए, सपनाकै माटोमा मिसिएका थिए।

आज तिनैका सपना, जसमा साझा शिक्षा, स्वास्थ्य, रोजगारी र आत्मसम्मान थियो—त्यो सपना बिउँझनुअघि नै कतै कुल्चिएको छ।

मैले त्यसै दिन पत्रिकामा एउटा समाचार देखेँ—
“मन्त्री ज्योतिरामले अन्तर्राष्ट्रिय सम्मेलनमा भने—‘हामी आर्थिक समृद्धिको दिशामा द्रुत गतिमा अघि बढिरहेका छौँ।’”

त्यो वाक्य पढेँ, अनि म मुस्कुराएँ। तर त्यो मुस्कानमा न ऊर्जा थियो, न विश्वासको ताप। किनभने मलाई थाहा छ—मन्त्री ज्योतिरामले आज जुन गाडी चढ्छन्, त्यस गाडीको चक्कामा जनताको सपना किचिएको छ। उनले लगाउने घडी, सुट र बस्ने कुर्सी—ती सबैमा कसैको अधुरो सपना बन्धकीमा छ, कसैको लाठी बनेर बाँच्ने जीवन लुटिएको छ।

मलाई लाग्छ—”त्यो क्रान्ति झुटो हो, जुन जनताको लासमाथि सिंहासन बनाउँछ, अनि सच्चा क्रान्तिकारी झुटो भाषण सुन्दै चुपचाप आँसु पुछिरहन्छ।”

आजको कम्युनिस्ट आन्दोलन अब युद्धको घाउ बोक्ने जनताको होइन, त्यो त केवल भाषण र भ्रमको प्रदर्शन गर्ने मञ्च बनेको छ। शहीदहरूका नाममा राजनीतिक सौदा गर्नेहरू, जनताको रगतलाई ठेक्कामा राख्नेहरू र विकासको नाममा विलासिता किन्न पल्केका नेतृत्वहरूकै सञ्जाल बनिसकेको छ।

आज ती वृद्धाको रित्तो पेटभन्दा ठूलो सत्य केही छैन। त्यो पेटले प्रश्न गरिरहेको छ—
“मेरो छोरो क्रान्तिका लागि मर्‍यो, तर हामीलाई किन बेवास्ता गरिन्छ?”
र
म… म त्यो प्रश्नको उत्तर…!


कथा समाप्त


प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा कम्युनिस्टहरू छद्मभेषी बनेपछि सत्यजीत

यो पनि पढ्नुहोस्...

कथा : मौन अवधि | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २४

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

पुस्तक समीक्षा: “अमेरिकाको घाम” लाई नजिकबाट नियाल्दा | हाम्रो कथाघर

कथा: साइतको विवाह | हाम्रो कथाघर

उपन्यास: गरुराहा | अध्याय: ०५ | नन्दलाल आचार्य | हाम्रो कथाघर

♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २४

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

पुस्तक समीक्षा: “अमेरिकाको घाम” लाई नजिकबाट नियाल्दा | हाम्रो कथाघर

कथा: साइतको विवाह | हाम्रो कथाघर

भर्खरै

कथा : मौन अवधि | हाम्रो कथाघर

माघ १९, २०८२

लघुकथामा एक प्रयोग अङ्क: ३४ | हाम्रो कथाघर

माघ १८, २०८२

माघ १८, २०८२

माघ १८, २०८२

माघ १८, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.