सरिता बानियाँ भुसाल
पेसा: शिक्षक (विजय सामुदायिक शिक्षा सदन)
१. परिचय: साउन र हरियो रङको बढ्दो आकर्षण
जब साउन महिना लाग्छ, तब सबैका घरमा नारी शृङ्गारका रूपमा हरिया चुरा, पोते र हरिया वस्त्र भित्रिन्छन्। विवाहिता महिलाको शृङ्गार हो— चुरा, पोते, तर आजभोलि के विवाहित, के अविवाहित, सबैका हातमा हरिया रङका चुरा झलल झल्किन्छन्।
२. सांस्कृतिक परिवर्तन र आर्थिक अवसर
यी शृङ्गारका सामग्री हाम्रो सौन्दर्यका लागि प्रयोग हुनुका साथै साउन महिनासँगको यिनको सुमधुर सम्बन्धले आजभोलि बजारमा निकै रौनक थपेको छ, जसकारण व्यापारीलाई भ्याइनभ्याई छ। किनभने, कहिल्यै चुरा-पोते नलगाउने दिदीबहिनीहरू पनि आजभोलि साउन लाग्नासाथ हरिया चुरा-पोतेमा सजिने प्रचलन बढेको छ। यसले एकातिर नेपाली संस्कृतिको परिमार्जित रूप देखाएको छ भने, अर्कातिर व्यापार-व्यवसायमा संलग्नहरूका लागि यो एउटा कमाउने अवसर पनि बनेको छ। हुन त हामी नेपाली कला र संस्कृतिमा धनी छौँ र यो नयाँ प्रचलनले पनि अब बिस्तारै संस्कृतिको एउटा पक्षको झल्को दिएको छ।
३. परम्पराको बदलिँदो स्वरूप: लुतो फाल्ने देखि मेहंदी लगाउने सम्म
जब हामी साना थियौँ, तब हाम्रा बाबाआमाले ‘साउने सङ्क्रान्ति हो, मरिन्छ कि बाँचिन्छ थाहा छैन, लुतो फाल्नुपर्छ’ भनेर यो पर्व मनाएको याद मानसपटलमा अझै ताजै छ। तर, आजभोलि भने ‘अब कस्ता चुरा-पोते आए? कस्ता डिजाइन चलेका छन्? चुरा, पोते, हरिया वस्त्रको बजार कस्तो छ? मेहंदी लगाउनुपर्छ’ भन्दै हामी आफ्ना हातमा नजर लगाइरहेका हुन्छौँ। आजभोलि हामी साउन महिनालाई साउने सङ्क्रान्तिको आफ्नै नयाँ आयामसँग जोडेर पनि हेरिरहेका छौँ।
४. सामाजिक चिन्ता र निष्कर्ष
हुन त मेहंदी लगाउनु, राम्रो देखिन खोज्नु— यी सबै समयको बदलिँदो मागअनुसार हामीमा पनि बदलाव देखिनु सामान्य नै हो। तर पनि, यसले हुँदा खाने र हुने खाने वर्गबीचको खाडल, भनौँ वा भिन्नता, देखाउने एउटा पक्ष पनि उजागर गरेको छ। कतै यसले हुँदा खाने घरपरिवारमा मार पारिरहेको छ कि भन्ने त्रास पनि मनमा उब्जिरहन्छ। समयको मागले ल्याएको यो परिवर्तनलाई भने नेपाली समाजले आयातित संस्कृतिका रूपमा बडो मजाले स्वीकार्दै आएको छ। यसले कता-कता दुःखी बनाउँछ कि भन्ने लागे पनि व्यापारीहरूका लागि यो एउटा आम्दानीको सुखद अवसर भने पक्कै हो।
अन्ततः, यसले एउटा गम्भीर प्रश्न पनि जन्माउँछ: कतै हामी आफ्नो मौलिक परम्परालाई बिर्सिएर आयातित संस्कृतिप्रति बढी आकर्षित त हुँदै छैनौँ? के यो हाम्रै संस्कृति समयसँगै परिमार्जित भएको हो, वा हामी आफ्नो पहिचानलाई पन्छाएर अरूकै संस्कृतिलाई भित्र्याइरहेका छौँ? निश्चय नै यो विषय आजको समाजका लागि विचारणीय छ। छैन त…?


