धर्मशालामा बास बस्न पुगेका तीर्थालुहरू भएको ठाउँमा साँझपख केही भद्र जस्ता देखिने मानिस प्रवेश गरे ।
`तपाईँहरूको तीर्थयात्रा सफल र फलदायी बनोस् !′ एउटाले शुभकामना दियो ।
`टाढाबाट आउनुभएको छ । अलि सावधानी अपनाउनुहोला ।′ अर्कोले सचेत गरायो ।
`आफ्ना पैसा र गरगहना सुरक्षित साथ राख्नुहोला । तैपनि पिर चाहिँ नमान्नू केही परे हामी छौँ ।′ अर्कोले ढुक्क बनायो ।
“उनीहरूले यस्तो बोल्दै गर्दा कसैले पाइन्टमा भएको पर्स छामे, कसैले कमिजको गोजी खोतले त कसैले घाँटी चेक गरे । भर्खरका महिलाहरूले मनीब्यागमा हात पुर्याए, वृद्ध महिलाहरूले पटुकामा हात घुसारे र सबैले आफ्नो चिज सुरक्षित भएको महसुस गरे ।”
“तीर्थालुहरूले सोचे – ‘सायद यी यहाँका कर्मचारी हुनुपर्छ । यिनलाई हाम्रो सुरक्षाका बारेमा यतिबिघ्न चासो रहेछ ।’
रात छिप्पिएपछि केही नकावधारीहरू आए । साँझमा पाइन्टको पर्स छाम्नेसँग पर्स खोसे । कमिजको गोजीमा हात पुर्याउनेको गोजी खोतले । घाँटी छाम्नेको सिक्री चुँडाले । तत्तत् व्यक्तिहरूले अघि साँझ गरेको क्रियाकलापका आधारमा कसैको मनीब्याग उछिट्याए अनि वृद्ध महिलाहरूको पटुकामा समेत हात घुसार्न भ्याए ।


