“के दिऊँ आमा ?”
वृद्धभत्ताको पैसा हातमा मुठ्याउँदै पसल छिरेकी बुढीआमालाई साहुजीले सोधे ।
बुढीआमाले परिवारको पहिलो पात्र सम्झन पुग्छिन् । सानी नतिनी प्रायः जसो उनैसँग लुटुपुटु गर्छे,
“आमा मलाई नाना ल्याइदिनु है ।”
हिड्ने बेलामा तोते बोलीको मिठास शब्द उनको दिमागमा घुम्न थाल्यो ।
“एउटा जामा निकाल्नु न चार वर्षे नानीलाई”
पसले साहुले रातो फूलबुट्टे जामा निकाल्दै भन्यो
“अरू ?”
उनको आखाँमा परिवारको दोस्रो पात्र नाच्न थाल्यो । उनको एक्लो सन्तान, बा बिनाको टुहुरो । ज्याला मजदुरी गरेर भए पनि आफ्नो गक्ष अनुसार कुनै दुःख हुन दिएकी थिइनन् । हिजोसम्म आमा भनेर हुरुक्क हुने छोरा हिजोआज जोईटिङ्ग्रे भएको थियो ।
“एउटा दौरा–सुरुवालको कपडा”
फेरि उनको मस्तिष्कमा परिवारको तेस्रो पात्र घुम्न थाल्यो । घरकी बुहारी, सधैँ दास र नोकर जस्तो व्यवहार गर्ने । एक छाक माडको लागि पनि कति पटक निरीह लाचार बन्नुपथ्र्यो । वृद्ध उमेरमा तिरस्कार र अपमानका सबैकुराहरू छोप्न खोज्थिन् पीडा र आँसुलाई भित्रै दबाएर राख्थिन् ।
“कता टोलाउनु भयो आमा ?”
साहुको प्रश्नले उनलाई फेरि बर्तमानमा उभ्याइ दिन्छ ।
“एउटा रातो फरिया” फ्याट्ट भन्छिन् ।
“अरू केही ?”
फेरि साहु प्रश्न तेर्साउँछ ।
उनी फेरि टोलाउँछिन् । लाग्न थाल्यो अब बाँकी जीवन बाँच्न उनलाई कष्टकर छ । जीवनप्रतिका मोहहरू शक्ति क्षीण हुँदै सकिँदै छन् । हिजोआज प्रत्येक रातको सपनामा मरिसकेको लोग्नेले बोलाइरहेको देख्छिन् । छोरा बुहारीको के भर । भोलिको लागि जोहो गर्नु नै छ ।
“अब दुई मिटर सेता कपडा”
साहुले सबै सामान पोको परिदियो । उनले हातमा मुठ्याएर राखेको पैसा साहुको हातमा राखिदिइन् । साहुले पैसा गन्दै भन्यो –
“पाँचसय पुगेन नि आमा”
निरास आँखाले साहुलाई हेर्दै दबिएको स्वरमा भनिन्-
“बाबु यो कात्रोको पैसा चाहिँ बाँकी राखन है अर्को चोटी आएर तिर्ने छु ।”
( लघुकथा सङ्ग्रह `हराएको सहर′मा सङ्ग्रहित र लेखकको पहिलाे लघुकथा )