अँध्यारो अँध्यारो जब साझ परेपछि
अनायासै तिम्रो सम्झना आउँछ
त्यही बेला मलाइ लेख्न मन लाग्छ
तिम्रो सम्झनाको पीडा गीत।
सुस्तरी… पर…क्षितिजबाट
सुकोमल तिम्रा शरिरका जोर गोडाहरुले
मेरै समिपका गोरेटोहरुमा बुर्कुसी मार्दा
लाग्छ- मानौ तिमी मेरै मुटुसङ्ग खेलिरहेछौ
मेरा प्रत्येक शिरा र धमनीहरुसङ्ग जिस्किरहेछौ
पाइला टेकेर मेरो कलेजो माथि निस्फीक्री हिंडिरहेछौ
बस यस्तै बेला मलाई लेख्न मन लाग्छ
तिम्रो चन्चलताको पीडा
म बाँध्न खोज्छु तिमीलाई मेरो आलिङ्गनमा
तिमी पर पर सर्छौ
म त जङ्गली फूल पो भन्छ्यौ
म त शिरीष जस्तै अर्थहीन छु भन्छ्यौ
म त भिरमा फुलेको फूल हुँ भन्छ्यौ
यस्तै बेला मलाइ लेख्न मन लाग्छ
तिम्रो अस्तित्वको गीत।
तिम्रो अनुपस्थितिले
जब हराउँछ अस्तित्व एकमुठी श्वासको
एहसास हुँदैन कस्तै वायुको
भरोसा लाग्दैन आफै अडेको भुगोलको
एकैछिनलाई झुल्केको घाम जस्तो
एकैछिनलाई चम्केको तारा जस्तो
जब तुलना हुन्छ जिन्दगीको
परजीवी सुनाखरी सङ्ग
हो त्यतिनै खेर मलाइ लेख्न मन लाग्छ
जीवन निरासाको गीत।
आखिर जीवन यस्तै त हुँदोरहेछ
जस्तो कि –
लेख्न मन लागेर लेख्न नसकेको गीत जस्तो
शब्द भएर भाव नभएको कविता जस्तो
कल्पना भएर कथा नभएको उपन्यास जस्तो
रचना गर्भ र कुनै आयाम नभएको साहित्य जस्तो
साँच्चै – जीवनका प्रत्येक गीतहरु
अपुरो र पिडामयी बन्दोरहेछ
म – लेख्न खोजिरहेछु
हिउँमा कोरिएको अक्षरको पीडा गीत ।।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।