बिहीबार, २२ कात्तिक २०८१ । सिर्जना अभियान समाज भक्तपुरको आयोजनामा कथाकार कुमार काफ्लेको लघुकथा कृति ‘सपना कतिपय’ माथि परिचर्चा सम्पन्न भयो । कार्यक्रममा कृतिभित्र सङ्गृहीत चवन्नवटा लघुकथाहरू, लघुकथाका विषय र विशेषतामाथि समीक्षक तथा सर्जक डा. हरिप्रसाद भण्डारी, डा. विदुर चालिसे, दीपक लोहनी, डा. हिम लाल श्रेष्ठ र इन्दिरा चापागाईंले विविध दृष्टिकोणले चर्चा गर्नुभयो ।
कृति विमर्शका प्रमुख वक्ता डा. हरिप्रसाद भण्डारीले स्रष्टा कुमार काफ्लेको सिर्जनात्मक व्यक्तित्व र ‘सपना कतिपय’ भित्र रहेका लघुकथाहरूहरूको कथानक, प्रस्तुति, उद्देश्य र सन्देशको बारेमा स्पष्ट पार्दै कुमार काफ्लेले लघुकथामार्फत प्रगतिशील विचारलाई मुखरित गरेको विषय सविस्तार चर्चा गर्नुभएको थियो । डा. विदुर चालिसेले पुर्णप्रसाद ब्राह्मणको ‘झिल्का’ लघुकथासङ्ग्रहमा रहेका लघुकथाको स्मरण गर्दै कुमार काफ्लेले विविध विषयमा सकारात्मक भावका लघुकथा सिर्जना गरेको बताउनुभयो ।
लघुकथा समीक्षक दीपक लोहनीले कथायात्री कुमार काफ्लेका लघुकथाले नवीन समालोचनाको माग गर्ने कुराको सप्रसङ्ग विस्तारमा बताउनुभयो । कुमार काफ्लेले विविध विषयमा लघुकथा, कथा सिर्जना गर्ने गरेको भएपनि प्रेम, प्रणय र यौनमनोविज्ञान विषयक लघुकथा बेजोड रहेका उदाहरणसहित स्पष्ट पार्नुभएको थियो । त्यसैगरी डा. हिम लाल श्रेष्ठ र इन्दिरा चापागाईंले ‘सपना कतिपय’ भित्र रहेका लघुकथाको सबल र दुर्वल पक्षहरूको विवेचना गर्नुभएको थियो
‘सपना कतिपय’ का सर्जक कुमार काफ्लेले आफ्नो लेखनयात्रा र लघुकथा सिर्जनाको बारेमा आफ्नो भनाइ राख्नुभयो । अन्तमा सिर्जना अभियान समाजका सचिव ध्रुव मधिकर्मीले नेपाली साहित्यमा ‘सपना कतिपय’ लघुकथा सङ्ग्रह आउनु खुसीको कुरा हो भन्दै स्रष्टा कुमार काफ्लेलाई शुभकामना तथा बधाई दिनुभएको थियो । सिर्जना अभियान समाजको तर्फबाट कथाकार ध्रुव मधिकर्मीले कथाकार कुमार काफ्लेलाई ‘सपना कतिपय’ कृतिको सफलताको कामना गर्दै प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
पद्मा खयरगोलीले सञ्चालन गर्नुभएको कृति विमर्श कार्यक्रमको लघुकथासङ्ग्रह ‘सपना कतिपय’ नमस्ते आधुनिक लघुकथा मञ्च चितवनले प्रकाशन गरेको हो ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।