जानुअघि
हलुका मुटुमा
भयानक भयहरु भरेर
मलाइ फेरि त्यहीँ पुग्नु छ
जहाँ
आफ्नो आवाज सुन्न
मेरो भान्सामा
केही सकिएको हुनुपर्छ,
घर छोड्ने निर्णय
जति सहज थियो
फर्केर आएपछि
ती सबैथोक
अहिले अडिने कारण बनेका छन्
निद्रामा
पटकपटक झस्किएर बिउँझिएपछि
बाहिर निस्कँदा
आफुलाई झन् उधिन्ने
बाटोसँग
थुप्रो गुनासो छन्,
प्रश्नहरु निस्कन छाड्छन्
खुसीहरु देखिन रोकिन्छन्
शंख बजाउँदै हिँड्ने समय
मलाई आँखा तर्छ
सोच्छु,
मगजमा बजेको घण्टी
मनमा बस्नेहरूले कत्तिको थाहा पाएका होलान्…?
कोही नपस्ने कोठाका
कसैले नदेख्ने कथाहरु
बिस्तारै
धुवाँ बनेर उड्छन् र
म आफैबाट छुट्छन्
पुनः
म आफुलाई बटुल्ने चक्करमा
बिथोलिन्छु ।