जीवनभर
टाउकोमा अभावको असिनाले ठोकिरहेछ
हरेक असिनाका दानाहरूलाई
कच्याककुचुक पार्दै आइरहेछु
हुरीका झोक्काहरूले लपेटिरहेछन्
उकाली ,ओराली , भन्ज्याङ् , चौतारी र चारै दिशाबाट
तिनीहरू
मेरो टाउकोनै उडाउँन चाहन्छन्
कम्मर भाँचिदिन चाहन्छन्
टुक्रा टुक्रा पारिदिन चाहन्छन् मेरा हात खुट्टाहरू
म तिनीहरू सबैलाई धकेलिदिन्छु
र अँठ्याइदिन्छु उठ्नै नसक्ने गरि
कोही त प्रचण्ड घाम बनेर आउँछन् बाटो छेक्न
सुकाइदिन चाहन्छन् मरूभूमिको बाफ झैँ
म मेरो बाटो छेक्ने घामका पहाडहरूलाई
कर्याम कर्याम चपाएर निलिदिन्छु
आफैले मायालु घाम उभ्याएर
खेलाइरहन्छु हत्केलाका रेखाहरूमा
हर श्वास श्वासमा
जीवनलाई घोट्न छोडेको छैन
घोट्दा घोट्दै
फलाम उभिएको छु
सुन र हिरा चुहिएको छु
बेगिलो बेग अँझै चाहिएकोछ मलाई
कयौँ घोडाहरू पैतालामा उभ्याएर
प्रकाश उछिन्दै
नयाँ नयाँ उचाईमा उक्लिरहेछु
अब सँसार
घाम हिँडेर मात्र पुग्दैन
जूनको उज्यालो र समुद्रको लहरलेमात्र चल्मलाउँदैन
मलाई बेगवान सहयात्री चाहिएको छ
यो सँसारको अनुहार बेग्लै स्केचमा कोर्न
हिम्मत निकाल
मान्छेको लागि
मान्छे जत्तिको मूल्यवान सहयात्री
अरू कोही हुनै सक्दैन
घोटौँ , बेस्सरी घोटौँ जीवनलाई
कुनैदिन जीवनको सुगन्ध सुँघेर
रमाउँला तिमी र म
बेग्लै तर स्वर्णिम आकाशमा ।


