जीवनभर
टाउकोमा अभावको असिनाले ठोकिरहेछ
हरेक असिनाका दानाहरूलाई
कच्याककुचुक पार्दै आइरहेछु
हुरीका झोक्काहरूले लपेटिरहेछन्
उकाली ,ओराली , भन्ज्याङ् , चौतारी र चारै दिशाबाट
तिनीहरू
मेरो टाउकोनै उडाउँन चाहन्छन्
कम्मर भाँचिदिन चाहन्छन्
टुक्रा टुक्रा पारिदिन चाहन्छन् मेरा हात खुट्टाहरू
म तिनीहरू सबैलाई धकेलिदिन्छु
र अँठ्याइदिन्छु उठ्नै नसक्ने गरि
कोही त प्रचण्ड घाम बनेर आउँछन् बाटो छेक्न
सुकाइदिन चाहन्छन् मरूभूमिको बाफ झैँ
म मेरो बाटो छेक्ने घामका पहाडहरूलाई
कर्याम कर्याम चपाएर निलिदिन्छु
आफैले मायालु घाम उभ्याएर
खेलाइरहन्छु हत्केलाका रेखाहरूमा
हर श्वास श्वासमा
जीवनलाई घोट्न छोडेको छैन
घोट्दा घोट्दै
फलाम उभिएको छु
सुन र हिरा चुहिएको छु
बेगिलो बेग अँझै चाहिएकोछ मलाई
कयौँ घोडाहरू पैतालामा उभ्याएर
प्रकाश उछिन्दै
नयाँ नयाँ उचाईमा उक्लिरहेछु
अब सँसार
घाम हिँडेर मात्र पुग्दैन
जूनको उज्यालो र समुद्रको लहरलेमात्र चल्मलाउँदैन
मलाई बेगवान सहयात्री चाहिएको छ
यो सँसारको अनुहार बेग्लै स्केचमा कोर्न
हिम्मत निकाल
मान्छेको लागि
मान्छे जत्तिको मूल्यवान सहयात्री
अरू कोही हुनै सक्दैन
घोटौँ , बेस्सरी घोटौँ जीवनलाई
कुनैदिन जीवनको सुगन्ध सुँघेर
रमाउँला तिमी र म
बेग्लै तर स्वर्णिम आकाशमा ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।