आशीष दश वर्षको थियो । उसको घर पछाडि एउटा आरुको बोट थियो । आरु लटरम्म फलेका थिए । ऊ आरु टिप्न गयो ।
त्यस रुखमा जुरेलीले गुंड लगाई फुल पारेको थियो । जुरेली फुल छोपेर बसेको थियो । आशीष रुखमा चढेपछि जुरेली उड्यो र पर अर्को रुखको हाँगामा गएर बस्यो । आशीष मख्ख पऱ्यो र मनमनै सोच्यो । अब जुरेलीले बच्चा कोरल्छ र ती बच्चा घरमा ल्याई पाल्नु पर्छ ।
नभन्दै केही दिन पछि जुरेलीले बच्चा कोरल्यो । दुईवटा बचेरा थिएर दिन दिन आहार लिएर आउँथ्यो जुरेली । आशीष पनि दिनदिनै रुखमा चढेर हेर्न थाल्यो । विस्तारै बढन थाले ती बचेरा ।
उता आशीषले बाबालाई पिजँडा किनेर ल्याउन ढिपी गऱ्यो । उसको बाबाले पिजँडा किनेर ल्याईदिए ।
आशीषले जुरेलीका ति बच्चाहरु घरमा ल्याई पिजँडामा राख्यो । उसकी आमाले गुडमै लगेर राखिदे भन्दा नि टेरेन । बच्चाहरु उसको माउबाट वियोग हुँदा कराउन थाले । आशीषले भात लगेर राखिदिन्थ्यो, दुध लगेर राखिदिन्थ्यो तर बच्चाहरुले खाएनन् । उता माउ पनि आरुको रुखको हाँगामा आएर बसेर चिर्विराउथ्यो बच्चाहरु खोज्दै । आशीष भने माउलाई तिम्रा बच्चा मैले पालेको छु है भन्दथ्यो ।
तीन दिन पछि बच्चाहरु पिँजडामै मरे । आशीष पनि सारै दुःखी भएर ति मरेका बच्चाहरुलाई पिँजडाबाट झिकेर गुडमै लगेर राखिदियो । माउ जुरेली आज पनि आफ्न बच्चाहरु भेटिन्छ कि भनी रुखमा आयो । गुडमा आफ्ना बच्चाहरु मृत अवस्थामा थिए । त्यसपछि माउ कहिल्यै फर्किएर त्यहाँ आएन । आशिष उसको बाटो हेरिरहन्थ्यो ।


