आगामी संघ तथा प्रदेशको चुनावमा आफ्नो दलले जित्ने भन्दै राजनीतिक दलका शीर्षस्थ र कनिष्ठ सबै नेताहरु दाबी गर्न थालिसके । राजनीतिक दलहरु विभिन्न स्थानहरुमा हुने कार्यक्रमहरुमा ८४ सालमा आफ्नो दलले क्लिन स्विप गरीदिने भन्दै भाषण गर्न थालिसके । एकले अर्कालाई भ्रष्टाचारी भएको आरोप लगाउँदै अब त्यो प्रवृत्तिको पराजय अनिवार्य भएको उद्घोष गर्न थालिसके । ठूला त ठूला भैहाले स्थानीय कार्यकर्ता समेत अर्काे दललाई धम्क्याउँदैछन् ८४ त आओस ।
बिहे गर भनेर आमाले दबाब दिएको धेरै भयो “उमेर भैसक्यो । अरु नातिनातिना खेलाउँन थालिसके । तर तेरो त के हो के ……!” आमाको सधैंको यस्तै कचकच छ ।
तर म भने बहाना गरिरहेको छु “जागीर छैन् । कमाइ छैन् । अभावमा बाँचेको छु । बुबा आमासँग पकेट खर्च मागेर हिड्नुपर्छ । यस्तो अवस्थामा अर्काकी छोरीलाई दुःख हुन्छ आमा । पख्नुस न केही साल त हो । लोकसेवा घोकिरहेको छु । कसो कहीँ न कहीँ नाम ननिस्केला र! आगामी ८४ सालभित्र जागीर खाइ हजुरको घरलाई सुहाउँने दुलही पनि भित्र्याउँला हुन्न र !पहिले मेरो मिसन-८४ पुरा हुन त दिनुस ।”



