Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

नन्दलाल आचार्यको ‘शल्यक्रिया’को सांस्कृतिक विमोचन | हाम्रो कथाघर

साउन १३, २०८२

निबन्धात्मक लेख: साउन र हरियो रङ | हाम्रो कथाघर

साउन १२, २०८२

साउन विशेष कथा: हरियो व्यवहार | हाम्रो कथाघर

साउन १२, २०८२

साउन १२, २०८२

साउन १२, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » संस्मरण: मनाङको धूमिल सम्झना

संस्मरण: मनाङको धूमिल सम्झना

गैर आख्यान - संस्मरण
नवराज न्यौपाने `मौन′नवराज न्यौपाने `मौन′कार्तिक २७, २०८१6K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

दोस्रो पटकको परीक्षा उत्तीर्ण गरेर विक्रम सम्वत् २०५० साल मङ्सिर १५ गते मैले दुर्गम क्षेत्र विकास समितिमा सिभिल ओभरसियर (सब इन्जिनियर) पदमा स्थायी नियुक्ति पाउन सफल भएँ । हिमाली तथा उच्च पहाडी भेगका २२ दुर्गम जिल्लाहरूमा मात्र कार्यक्षेत्र रहेको यस समितिमा मेरो पहिलो दरबन्दी मनाङ जिल्लामा कायम भएको थियो । मनाङ जिल्लामा नियुक्ति पाउनेमा अर्का साथी गुणबहादुर लामा वाइबा थिए । एक हप्ते सेवा प्रवेश तालीम लिएर हामी बेसीशहरमा भेटेर सँगै जाने निधो गरेर छुट्टियौं ।

तोकिएकै दिन उनी काभ्रेबाट र म तनहुँँबाट बेसीशहर त पुग्यौं तर कहाँँ भेट्ने भन्ने स्थान यकीन नभएकोले हाम्रो भेट हुन सकेन । उनी बसपार्क नजिकको होटेलमा बसेछन् , म चाँहिं केही माथि पुगेर थकाली होटलमा बसेको थिएँ । डुम्रे बेसीशहर कच्ची बाटोको यात्राले थकित भएकोले साँझमा हामीले सोधखोज गरेनौं ।

भोलिपल्ट सबेरै उठेर म होटेल अगाडि उनी आउछन् कि भनेर पर्खेर बसेको थिएँ । तर ३ घण्टा कुर्दा पनि उनी नआएपछि म पनि खाना खाएर एक्लै एक्लै आफ्नो बाटो लागें ।

झोला २० केजीभन्दा गह्रौं थियो । जाडोमा लगाउने कपडा, सिरक, निजामती कर्मचारीले पढ्ने पुस्तक, इन्जिनियरिङ विषय र साहित्यिक पुस्तकहरू बोकेर म मन नलागी नलागी मनाङतिर उकालो लागिरहें ।

बाटोमा पर्यटकहरू फाट्टफुट्ट मात्र भेटिन्थे । जाडो छल्न तल झर्ने शिक्षक, कर्मचारी र स्थानीय बासिन्दाहरूको ताँती ठुलै थियो । मनाङ जाने साथीहरू भने कोही भेट्न सकिएन ।

पहिलो दिन बाहुनडाँडामा बसियो । दोश्रो दिन मनाङ जिल्लाको प्रवेशद्वार तालमा बसियो । पहिलोपटक आएको यात्री भएको र टुरिष्ट होटलमा खानेबस्ने गरेकोले रकम अलि बढी नै खर्च हुन पुग्यो । धेरैजसो नेपाली त साइनबोर्ड नभएको होटेलमा खानेबस्ने रहेछन् ।

ताल पुगेपछि मेरो जुत्ता नराम्ररी च्यातिन पुग्यो । जुत्ता सिलाउने मान्छे कतै पनि बस्दा रहेनछन् । स्थानीय बासिन्दाले चार घण्टामा चामे पुगिने बताए ।

किराना पसलमा पुगेर जुत्ता किन्ने तर्खर गर्दा साहुजीले भने -‘सर तपाईंको स्पोर्ट शुज डुप्लिकेट रहेछ । यो ओरिजनल पान्डा शुज किन्नुस् । हिमालतिर त ट्रेकिङ बूट लगाएर आउनुपर्छ ।’ अनि पान्डा शुज किनेर लगाएँ र सुस्तरी उकालो लागेँ । झोला झन् झन् गह्रौं हुँदै जान थालेको थियो । साथी पनि थिएन र पैसा पनि सिद्धिएको थियो ।

धारापानी पुगेर चिया खाएँ । खाना खाने पैसा थिएन । अनि चामे पुगेर खाना खाने मनसायले सुस्तरी उकालो लागें ।

मर्स्याङ्दी आफ्नै धूनमा सुसाइरहेको थियो । मेरो घरबाट एक घण्टाको दूरीमा रहेको मर्स्याङ्दी नदीको मुहान खोज्दै म बटुवा भएर आएकोमा मन त रोमाञ्चित भएको थियो तर भोग्नुपर्ने दु:खले पनि उत्तिकै अत्याइरहेको थियो ।

धारापानी कटेपछि मेरो पछिल्तिरबाट आउँदै गरेका एकजना साथीले गुनासो पोखे -‘सुन्नुस् त सर ! म नयाँ नियुक्ति लिएर आएको मान्छे हुँ । मसँग पैसा सकियो । मलाई १०० रुपैया सापटी दिनुस् न! म चामे पुगेर दिन्छु । ‘

मेरो मन झन् अँध्यारो भयो । ‘म पनि यही कुरा तपाईंंसँग भन्न खोज्दै थिएँ । म पनि नयाँ नियुक्ति लिएर आएको निजामति कर्मचारी हुँ । मेरो पनि पैसा नभएर खाना खान पाएको छैन । ‘मैले सुस्केरा हाल्दै जवाफ फर्काएँ । अनि दुवैजना सँगसँगै चामे सम्झेर उकाली रह्यौं ।

थान्चोक मुनिको सल्लाघारी आइपुग्दा मेरा छिमेकी गाउँका दाजुले बाटो उछिने । उनी पनि कृषिमा प्रा.स. मा नियुक्ति लिएर आएका रहेछन् । झोला गह्रौं नभएकोले उनीहरु फटाफट बाटो लागे । मैले आफ्नो समस्या बताउन सकिन ।

सल्लाघारी माथि कटेपछि बाटो र धाराहरूमा पानी जमेको थियो । हावापानी निकै चिसो थियो । झोलाको बोझ र भोको पेटले गर्दा हिंडाइको गति सुस्त हुन पुगेको थियो ।

चामे मुनिको गाउँ कोतो पुगेपछि मलाई पानी खान मन लाग्यो । धाराको टुटीमा बरफ झुन्डिएको थियो । पानी निकै चिसो र छोइनसक्नुको थियो । त्यसैले एउटा सानो घरमा पानी मागें । अनि घरबेटी आमैलाई आफ्नो पैसा सकिएको र खाना खान नपाएको कुरा बताएँ । बज्यैले नुनचिया र करुको सातु खान दिइन् । अनि, हामीले पछि आएर पैसा दिने कुरा गर्दा भनिन् -‘भो बाबु ! पर्दैन । खान दिएर मैले धर्म कमाउछु । यसको ज्याला भगवानले दिन्छन् ।’

त्यसपछि अलि तागत आयाे र कार्यालय समयभित्र नै अफिस( जिल्ला विकास समितिकाे कार्यालय ) पुुगियाे । गुणबहादुर लामा भने अघिल्लो दिन नै चामे आइपुगेका रहेछन् । चिसाे बढेकाेले धेरैजसाे कर्मचारीहरू झरिसकेका रहेछन् । सबैजसाे कार्यालयमा स्थानीय कर्मचारीहरू मात्र रहेछन् ।

जिविसमा सबैले भव्य स्वागत गरे । कर्मचारी मिलन केन्द्रले पनि स्वागत गर्याे। दिनहरू रमाइलाेसँग बित्दै गए ।

नदी, खाेला, धाराहरूमा बरफका ढिक्का देखिन्थे । गाग्री, बाल्टिनकाे पानी समेत जम्न थालेकाे थियाे । केटाकेटीहरू बरफका ढिक्काहरु बटुलेर खेल्ने गर्थे ।

अफिसमा बसेर घाम लाग्दा घाम ताप्ने र अरु बेला किचनमा आगाे तापेर समय कटाउने गरिन्थ्यो । फुर्सदमा काेठामा बसेर किताब पढ्ने गर्थें ।

बिस्तारै चामेकाे सामाजिक बातावरणमा घुलमिल हुँदै जाने क्रम बढिरह्याे । सबैले भन्ने गर्थे- ‘सर, तपाईं त बुद्धजस्ताे मान्छे रहेछ । किताबकाे कीराे रहेछ। सामाजिक रुपमा स्वस्थ हुन सबै कुराकाे ज्ञान र अनुभव सँगाल्न जान्नुपर्ने हुन्छ । बुद्धजस्ताे पात्र हाेइन, ओशाेजस्ताे पनि बन्ने प्रयत्न गर्नुपर्दछ । जुन ठाउँमा पुगिन्छ, त्यहाँकाे चालचलन र संस्कार अपनाउन सिक्नुपर्दछ । हाेइन र सर?’

कहिले आफू पढ्ने, कहिले त्यहाँका विद्यार्थी भाइबहिनीहररूलाई नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान विषय पढाउने गरेर साँझ बिहान कटाउन थालें। शनिबारकाे दिन भने मर्स्याङ्दी किनारकाे ताताेपानी मुलमा नुहाइधुवाइ गरेर बित्थ्याे ।

जिविसमा हामी चारजना प्राविधिकहरू थियौं । चारैजना जिविसको अतिथिगृहको ठूलो कोठामा बस्थ्यौं । खाना भने जिविसका खरिदार वीरसिंह गुरुङको होटलमा खान्थ्यौं ।

मनाङकाे बारेमा राेचक किस्साहरु रहेछन् । अदालत छ , मुद्दा छैन ।अस्पताल छ, बिरामी छैनन् । कारागार छ, कैदी छैनन् । खाेला छ, माछा छैनन् । खेत छ, धान छैन ।अफिस छ,कर्मचारी छैनन् । कर्मचारी छ, काम छैन । किनकि याे मनाङ हाे । यस्तै यस्तै कुरा गरेर समय काटिन्थ्याे । स्थानीय भाषामा म्ह भनेकाे निगालाे र नाङ् भनेकाे घर रहेछ । धेरै निगालाे पाइने र निगालाेबाट बनेका घर हुनाले म्हनाङ हुँदै मनाङ भन्न थालिएकाे रहेछ ।

पुस २७ गते पृथ्वी जयन्तीमा कार्यक्रम सकेपछि हामी बजार घुम्न निस्किएको बेला माैसममा एकाएक परिवर्तन आयाे । हेर्दाहेर्दै फुरफुर हिउँ पर्न थाल्याे । भाेलिपल्टसम्म त तीन फीट हिउँ परिसकेको थियाे । हामीले अघाउञ्जेल हिउँ खेल्याैं । मन प्रफुल्ल भएर आयाे ।

हिउँ परेपछि बाँकी रहेका कर्मचारी र स्थानीय बासिन्दाहररू बेसी झर्न थाले । मलाई भने निमित्त स्थानीय विकास अधिकारी भएर दुई महिना बस्न भनियाे । दुई हप्ता जिविसमा निमित्त कार्यालय प्रमुख भएपछि जिल्ला भवन कार्यालयमा काजमा बाेलाएर निमित्त कार्यालय प्रमुख भएर फागुनकाे पहिलाे हप्तासम्म बस्नुपर्ने भयाे ।

घाम लाग्दा बेल्चाले हिउँ पन्छाएर घाम तापेर बस्ने र घाम नलाग्दा किचनमा आगाे तापेर बस्ने काम मात्र भयाे । अनि सफा ठाउँकाे हिउँ बटुलेर चिया पकाएर खाइन्थ्याे । साँझबिहान बाटाे हिड्दा हिउँमा चिप्लेर लडिन्थ्याे । चिसाेले हातगाेडा झन्झनाउथे। माघमा अधिकतम तापक्रम ३ डिग्री सेल्सियसभन्दा माथि चढ्न सकेन । चैतमा बल्ल ७ डिग्रीसम्म पुगेकाे थियो ।

फागुनदेखि असारसम्म मनाङ जिल्लाका १२ गाविसका जम्मा ३० गाउँमा घुमेर विकास निर्माणका गतिविधिमा संलग्न रहेर काम गरियाे । फर्कदा गलाभरि खादा सजिएकाे हुन्थ्यो । आफूले भाेग्नुपरेकाे पीडा र व्यथा सबै भुलेर म चामे फर्किएको हुन्थें । प्राविधिक सर्भेक्षण, लेआउट, कार्यान्वयन र नापी कार्य गर्दा एउटा प्रहरी जवान र सैनिक जवानले भोग्नुपर्ने जस्तै पीडा भोग्नु परेको थियो ।

मनाङ जिल्लाभरि मलाई सबैले सायरी सर भनेर चिन्थे । मैले धेरै ठाउँमा बालबालिकालाई बालकविता र चुड्किला सुनाउने गर्थें भने विभित्र मेला, जात्रा, पर्व, उत्सव र समाराेहमा मुक्तक, सायरी र प्रहसन सुनाउने गर्थें । साथै, हिमाली भेगकाे स्वच्छन्द जीवनशैली र संस्कारले मेराे जीवनमा एउटा व्यवहारिक मान्छे बन्न सघाउ पुर्याएकाे थियाे । कार्यालयमा निमित्त हाकिम र याेजनास्थलमा साइट इन्चार्ज भएर काम गर्दा मैले धेरै व्यवहारिक ज्ञान हासिल गरेकाे थिएँ ।

मनाङमा डेढवर्ष बिताएपछि मेराे मुस्ताङ जिल्ला सरुवा भयाे । २०५२ बैशाखमा मैले रमाना लिएर जाने भएँ । जिविसले भव्य विदाइ कार्यक्रम राख्याे । कर्मचारी मिलन केन्द्रकाे तर्फबाट जिल्ला प्रशासन कार्यालयमा पनि विदाइ कार्यक्रम राखियाे ।

भाेलिपल्ट खाना खाएर विदाइ भएर हिड्दा चामेकाे नमस्ते गेटमा आमा समूहकाे टाेली हातमा सगुन र खादा लिएर बसेकाे रहेछ । मलाई चक्लामा पलेटी कसेर बस्न लगाइयाे । अनि सबैले पालैपालाे खादा लगाएर सगुन चढाए । सबैले ‘फेरि फेरि सरुवा भएर आउनुहाेला है’ भने । मेरा आँखा आंसुले भरिए । अनि, भारी मन र भारी झाेला बाेकेर म एक्लै एक्लै ओरालाे झरें ।

५ घन्टाकाे बाटाे ताल आइपुग्दासम्म बिदाइ गर्ने क्रम जारी रह्यो । ताल कटेपछि मनाङ जिल्ला समाप्त भएकाेले अवीर धाेएर खादा झाेलामा खाँदे । अनि मनभरि मनाङकाे सम्झना बाेकेर तालबेसीकाे ओरालाे झरें । अनि चामेमा हुँदा लेखेकाे कविता झल्झली सम्झन थालें –

तिमी जस्तै, ए हिमाल !
हाँसेकै छु म पनि
फरक यत्ति छ –
तिमी हाँस्छौ दिल फुकाएर
म हाँस्छु व्यथा लुकाएर ।

तिमी जस्तै, ए मर्स्याङ्दी !
बगेकै छु म पनि
फरक यत्ति छ –
तिमी बग्छ्यौ तरलता निरन्तरता पाएर
म बग्छु जटिलताले मुख बाएर।

तिमी जस्तै, ए फूल!
फुलेकै छु म पनि
फरक यत्ति छ –
तिमी फुलेर झर्छौ
म झुलेर मर्छु।

तिमी जस्तै, ए बुद्ध!
आउने छु म पनि त्यहाँ
फरक् यत्ति छ –
तिमी गयौ दुनिया रिझाएर
म आउँला एकैछिन् भए पनि
कसै न कसैको परेली भिजाएर।

मातातीर्थ,बालागाउँ – काठमाडौं

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

नवराज न्यौपाने `मौन′ मनाङको धूमिल सम्झना संस्मरण

यो पनि पढ्नुहोस्...

निबन्धात्मक लेख: साउन र हरियो रङ | हाम्रो कथाघर

नियात्रा: स्वर्गको झलक बडिमालिका | हाम्रो कथाघर

निबन्ध: अनायासै लाग्ने माया र अनायासै जाग्ने घृणा | हाम्रो कथाघर

निबन्ध: ॐ को प्रभावबारे धर्म र विज्ञान के भन्छ?

निबन्ध : एउटा विशुद्ध प्रेम कथा

संस्मरण: दादा, तिमी किन रोएको? नरुनू, म छु…

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – ११ | हाम्रो कथाघर

कथा: कम्युनिस्टहरू छद्मभेषी बनेपछि | हाम्रो कथाघर

कथा: मुक्कुमलुङ | हाम्रो कथाघर

पाक्षिक लघुकथा अभियान – अंक: १०

भर्खरै

नन्दलाल आचार्यको ‘शल्यक्रिया’को सांस्कृतिक विमोचन | हाम्रो कथाघर

साउन १३, २०८२

निबन्धात्मक लेख: साउन र हरियो रङ | हाम्रो कथाघर

साउन १२, २०८२

साउन विशेष कथा: हरियो व्यवहार | हाम्रो कथाघर

साउन १२, २०८२

साउन १२, २०८२

साउन १२, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.