नीलो मसी पोखिएको आकाशमा
गुलाबी रंग पोतिएसँगै,
म मेरो बतासिएको उडानलाई केही बेर बिसाउँछु
अनि उत्रिन्छु उसकै प्रिय कौसीमा ।
म आइपुग्ने बित्तिकै सिँढी उक्लेर ऊ झट्टै आइपुग्छ त्यहाँ,
मानौँ भुइँतलाको झ्याल सम्म मैले नै पठाएकी हुँ हावाका सुस्केराहरू,
जसले पुर्याइरहेछ म आइपुगेको खबर
अनि डोर्याइरहेछ उसलाई कौसी सम्म नै ।
मेरा आँखा जस्तै उसका आँखा पनि निकै बेर लठ्ठिन्छन्
गुलाबी आकाशमा,
सुस्तरी उदाएका जलपले झनै रुमानी बन्दो छ आकाश
सधैँ झैँ गिज्याउँदै म उसलाई “को हौ ?” भनी सोधिरहन्छु
ऊ जवाफमा निस्फिक्री झुम्छ, नाच्छ अनि रमिदिन्छ
उसका ओठबाट बुर्कुसी मार्दै निस्किएका बुलन्द वाणीहरू
मेरा लागि विना अर्थका हुन्छन्
अर्थ केलाउन नसके पनि म बुझ्छु ऊ यहि बेलामा बल्ल
पुनः परिचित हुन पाउँछ आफ्नै परिचयसँग
मेरा हरेक “को हौ ?” को प्रश्नले
ऊ भित्र नयाँ सास थपिरहेको झैँ लाग्छ
गुलाबी रंग हटेर आकाशमा कालो रङ पोतिँदा सम्म पनि
बिराम लाग्दैन हाम्रो वार्तामा
म सोधिरहन्छु एउटै प्रश्न
ऊ खोजिरहन्छ आफू बनिरहने बाहनाहरू
उसका खुलस्त जवाफहरू देख्दा, सुन्दा अनि बुझ्दा
म पनि फिँजाउन पुग्छु आफ्ना पखेटा
अनि झुम्न पुग्छु उसकै आकाश माथि ।
हाम्रा आँखामा प्रतिबिम्बित भई चम्किरहन्छन्
टिलपिलाउँदा जलपहरू,
हाम्रा कानमा प्रतिध्वनित भई गुञ्जिरहन्छन्
प्रेमील वार्तालापहरू,
आफ्नो परिचयमा कुनै प्रतिरोध नलगाउने वाचा सहित छुटिन्छौं हामी ।
म अलि पर पुगिसक्दा
ऊ सिँढी ओर्लदै मलाई प्रतिप्रश्न गरिदिन्छ
“को हौ ?”
संखुवासभा


