आँखी झ्यालको
सानो सानो
प्वालबाट चिहाएर
विशाल भवसागरको
परिकल्पना गरेर
आफैँलाई
भ्रमको पर्दाभित्र रुमलिएको पाउँदा
मेरा यी नयनहरूमा
अश्रुहरू प्रतिस्पर्धा गर्दै
मानवीय प्रवृत्तिलाई
गिज्याइरहेको पाउँछु ।
सदियौँदेखि
सती प्रथा हटेको
भ्रमात्मक खबरले
मलाई विक्षिप्त पारिरहेको छ
यहाँ पलपलमा
छोरीचेली भावनाको
चितामाथि सती गएकी छे
कहिले – जातको नाममा
कहिले – दाइजोको
त कहिले – विनाकारण जिउँदै जलिरहेकी छे
बालविधुवा हुँदा पनि
समाज र परम्पराको घुम्टो ओढेर
आफ्ना
— इच्छा
— चाहाना
— रहरलाई
पैतालामुनि दबाएर
जीवन बिताउन बाध्य हुन्छे ।
त्यहीँ समाजको पुरुष
श्रीमती मरेको
महिना दिन नबित्दै
विवाहको लागि तयार पारिन्छ
त्यसैले
यो अबोधपनाभित्रको
मौनताले उब्जाएका
अनेकौँ अनेक
प्रश्नको उत्तर
कुरिरहेको छु त्यो
शब्दात्मक समानता
होइन व्यावहारिक
समानतालाई
शताब्दीको शिखरबाट!!
चन्द्रागिरी ८ काठमाडौँ