कवि : दूरगामी माइला
संसारमा
सबैभन्दा खतरा जिब्रो रहेछ,
जसले जलाउन सक्छ
सुन्दर घर,
विशाल परिवार
अनि स्वच्छ हृदय ।
यो
कति बैगुनी,
कति विषालु,
कति भयानक,
कति दर्दनाक !
बोलेपछि मात्र थाहा हुन्छ,
सुनेपछि मात्र थाहा हुन्छ,
जिब्रोको एक महाभारत
हेरेपछि मात्र थाहा हुन्छ ।
यही जिब्रो चलेर भूकम्प जान सक्छ,
यही जिब्रो चलेर भूकम्प रोकिन सक्छ ।
यही जिब्रोले परिवार भत्किन सक्छ,
यही जिब्रोले परिवार बन्न सक्छ ।
त्यसैले
यो एटम बमभन्दा खतरा छ,
अणु बमभन्दा शक्तिशाली छ ।
यही जिब्रोले हिटलर बनाउँछ,
यही जिब्रोले बुद्ध बनाउँछ,
यही जिब्रोले जिसस बनाउँछ,
यही जिब्रोले लुसिफर बनाउँछ ।
त्यसैले
यो जिब्रो मृत्युभन्दा प्रख्यात छ,
ईश्वरभन्दा उच्च छ ।
तपाईँको जिब्रो स्वादिलो हुन सक्छ ।
जसको वाणी सुनौँ-सुनौँ लाग्न सक्छ,
नजिक गएर बसौँ-बसौँ लाग्न सक्छ,
त्यही जिब्रोको कहानी हेरौँ-हेरौँ लाग्न सक्छ ।
तपाईँको जिब्रो तितो भएमा
बोली सुन्ने बित्तिकै कान थुनौँ-थुनौँ लाग्न सक्छ,
परपर भागौँ-भागौँ लाग्न सक्छ,
त्यही जिब्रो थुतेर फालौँ-फालौँ लाग्न सक्छ ।
त्यसैले
विषभन्दा घातक हुन सक्छ जिब्रो,
अमृतभन्दा प्राणदायी हुन सक्छ जिब्रो ।
मणिभन्दा उच्च र
रेडियमभन्दा महँगो हुन सक्छ जिब्रो ।
कलहको बीउ यही हो,
युद्धको रणभूमि यही हो,
बदनामको जड यही हो,
बेइमानको कडी यही हो ।
त्यसैले
जिब्रोको सही सदुपयोग गरेमा
रोगीमा औषधि खोज्नु पर्दैन,
परिवारमा मेलमिलाप खोज्नु पर्दैन,
समाजमा शान्ति खोज्नु पर्दैन,
राज्यमा सही नेता खोज्नु पर्दैन ।
जिब्रो नै जीवन र मृत्युको प्रमुख स्रोत हो ।
जसले शान्त जीवन दिन सक्छ,
जसले जिन्दगीभर तनावमा फसाउन सक्छ ।
यदि जिब्रो क्षुद्र छ भने
यसको आजै उपचार गरौँ
र बचौँ सुन्दर संसार कुरूप बन्नबाट ।
कविको ठेगाना : संखुवासभा
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



