पहिरो गइरहेको पहाड मुन्तिर
झरिरहेका ढुँगा छल्दै छल्दै दौडिरहेछ मान्छे
झुपडपट्टीहरू बाढीले डुबाएकाछन्
झमझम बर्षिरहेको अँधेरोमा
ज्यान जोगाउँन
एकसाथ तुन्द्रुँङ्ग झुण्डिरहेछन् गोमन साँप र मान्छे
बाढीले सारा बस्तीहरू डुबायो
तर एक बोतल पिउँने पानी छैन हातमा
एकमुठी श्वास बोकेर बाँच्ने मोह भने सकिएको छैन
नशा नशामा चम्किरहेछ बिजुली
मधुरो बनिरहेछ आँखाको रोशनी
शमशानमा चलिरहेछ नाचको प्रतिस्पर्धा
शमशानमै चलिरहेछ भोज र भण्डारा
शहरमा शबयात्रा चलिरहेछ
शब बिसर्जन हुन्छ हुँदैन कुनै टुँगो छैन
शहरमा सधैँ अफबाह चल्छ
खेतबारीमा सधैँ अनिकाल चल्छ
पाइला पाइलामा दलदल छ
दलदलमा डुब्ने मान्छेको लाम छ
रोगको राँको , भोकको भँडखारो ,शोकको सन्जाल
सबै सबैले घेरिरहेछ मान्छे
यो सबैको समाधान सँसद हो भनेर लेखिएको किताब
साँसद आफैँ च्यातिरहेछ
आशाबहादुरहरू
सपना बिनानै गर्दैछन् बिषबमन
काठमाण्डौं