पहाड रोएको छ यतिबेला
हेर आँसु भएर बगेका छन् नदीहरु
हिमाल मुनि जुन पग्लिएर रक्तिम छायाँ परेको छ
झर्ने डरले फूल फुल्न छोडेका छन्
मर्ने डरले जन्मिन छोडेकाछन् सपनाहरू
रात चिसै भएर बितिरहेछ
शीतका बिन्दुले भिज्नु पर्ने थियो कोपिला
तर आकाश अनिदो छ
पहाड अनिदो बाचिरहेछ
जुन आँखा मिच्दै पहाडको काखमा खसेको छ
र ,गुराँसमा लत्पतिएको छ जुनको रगत ।
नदीहरू राताम्य बगेका छन्
हिमालमा हिउँ पर्न छोडेको छ
काला पत्थरहरु निर्वाद नाचिरहेका छन्
असन्तोषको रत्यौली
फागदिनको मृत बाटोहरुमा ।
त्यही बाटो हो उ झरेकी – बाटो खोज्दै जाँदा
हिउँमा चिप्लिएर होइन
ढुङ्गामा घस्रीएर पनि होइन
बाटोहरु आफै बिरानो बनेकाछन् हिजोआज
बाटोहरुले आफै बाटो देख्न छाडेकाछन्
बाटोहरुले चिन्ह छोडेकाछन्
उस्को काख हुँदै शिखर चढ्ने
तेन्जिङहिलारीहरुलाइ
बाटाहरु आफै हराएका छन् क्षितिज सम्म नपुग्दै
र बिचल्लीत् छन् सागर पुग्ने नदीहरु
बिचल्लीत छन् शीखर पुग्ने साहसहरु
बिचल्लीत छन् सपनाहरू
आँसुहरु आफै रोइरहेका छन्
आकाशले धरतिसँग अंश मागिरहेछ
एक पाटाे चिरेर लान्छु भन्छ उ
नदीहरुले लालपुर्जा मागिरहेका छन्
र पर्खाल लगाउछु भन्दै छन् किनारमा
पहाडहरुले निहु खोजिरहेका छन्
धुपिका बोट र सल्लो भिन्दै बस्छु भनिरहेछन्
आलुबखडा फुल्दिन भन्दै छ
उज्यालो दिन्न भन्दै छे जुनकीरी पनि
नटेक भन्दैछ माटो –
नहेर भन्दैछे गुराँस मेरी प्रेमिका
उस्को ओठसम्म पुगेर
ट्राफिक जाममा परेको छ मेरो माया ।
छुनै मिल्दैन भन्दै छे उ- बैँसको चुलबुले मायालाई
सकिन मैले नछोइ बाँच्न र छोइदिए
त्यो कोमल हातमा हठात्
त्यसै दिन उस्ले आत्महत्या गरि
हिजोआज –
बासी आँखाहरुलाई बोकेर स्वयम्भू पनि
सधैं सधैं मेरो सामुन्ने रोए जस्तो लाग्छ
रात घर्किएर क्षितिज पारि पुगेकी जुन
फर्किएर आउदिन भन्दै छिन्
मेरी प्रेमिका,
जो सधैं मृत्युको इछ्यापत्र सिरानीमा राख्थी
सधैं भोलिको चिन्ताले पिरोलिन्थी उ
एउटा नमीठो बर्तमानको भ्रुण बोकेर
मसँग हरेक भेटमा भबिस्य माग्थी
पहाड रोएपछी त्यही आँसुको भेलमा
पखाल्थी उ बेदनाको गाजल
सम्झाउथेँ म उस्लाइ- र प्रायः भन्ने गर्थे-
म सङ्गै छैन मेरो भविष्य
म सङ्गै छैन मेरो अधिकार
म सङ्गै छैन मेरा प्यारा सपनाहरू
म सङ्गै थिएन मेरो गुलाफी बैँस
किनभने म सङ्गै थिएन
मेरो एक मुठी निन्द्रा,
खुसी र बिपनाहरू !!


