मेरा पनि अरुका जस्तै
कयौं सपनाहरु छन्…
मलाई पनि चरीले झै
दुई पंख फिजाई आकाशमा उड्न मन छ…
रहर अनि सपनाको एउटै डोरीमा
बाध्यताको गाठो पऱ्यो ……
धेरै कोसिस गरे त्यो गाठो फुकाउन
तर, डोरी नै चुँडिने होकि
मनमा पहिरो गयो……
रहरका बाटाहरुलाई बन्द गर्दै
सपनाको सहर तिर पाइला रोकि
अगाडी बढ्दै छु बाध्यताको भारी बोकि…
मेरो आँखाले सोध्ने गर्छ’
तँ के हेर्दै छस् ?
…..अनि, एकछिन रोकिदै
भन्ने गर्छु
मेरो रहर र सपना मरेको हेरिस् तैंले
अब बाध्यताको बोझ बोक्दै छु, हेर्ने गर्
भगवान छन् होला ! तर कहाँ छन् ?
अनि फेरि, म आँखालाई प्रश्न गर्छु
तैंले भगवानलाई देखिस् …?
यदि, भगवानलाई देखिस् भने
भन्दे उस्लाई
दुई पंख फिजाई आकाशमा उड्न दे…
मलाई पनि स्वतन्त्र भै हिड्न दे…
चम्किला ति ताराहरु चुम्न दे…
मलाई पनि आकाशमा उड्न दे…।


